आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिटर ब्याजमा सुनसरी जिल्ला प्रशासनको सफलता, ४ करोड बढीको दाबी १ करोडमा सल्टियो

बिहीबार, ३२ साउन २०८०, १२ : ५१
बिहीबार, ३२ साउन २०८०

सुनसरी । मिटर ब्याजबिरुद्धको सुनुवाइमा सुनसरी जिल्ला प्रशासनले ठुलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी  १ करोड १० लाखमा सल्टाइएको छ । 

आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । 

मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए । उजुरी उपर छानबिन पश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुसी व्यक्त गरे ।

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटर ब्याजीबिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् ।  पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन्

जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सय भन्दा बढी उजुरीहरूको छानबिन गरिरहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप