आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तीर्थस्थलमै राजनीति

लुम्बिनी विकास कोषमा फेरिए १६ उपाध्यक्ष :  गुरुयोजना अधुरै

शुक्रबार, ०१ भदौ २०८०, ०६ : ५७
शुक्रबार, ०१ भदौ २०८०

बुटवल । वि.सं.२०३५ सालमा सुरु भएको लुम्बिनी गुरुयोजनाले चार दशक पार गरिसक्यो । १७ वर्षमा सम्पन्न गर्ने गरी सुरु भएको थियो गुरुयोजना । लुम्बिनी विकास कोष अन्तर्गतकोगुरुयोजनामा यो बीचमा १६ जना उपाध्यक्ष  फेरिए । तर पनि गुरुयोजना कहिले पुरा हुने हो, ठेगान छैन । 

योजना सुरु भएको४५ वर्षको अवधिमा सरकारी र दातृ निकायको ठुलो धनराशी खर्च भइसकेको छ । हालसम्म जम्मा ८८ प्रतिशत गुरुयोजनाको काम सम्पन्न भएको लुम्बिनी विकास कोष परियोजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए ।

उनले  बजेट अभाव र गुरुयोजनाको बीचमाकेही थपघट गर्नुपर्ने भएका कारणले ढिलाइ भएको जनाए । बौद्ध धर्मावलम्बीहरूको पवित्र धार्मिक तीर्थस्थल लुम्बिनीको गुरुयोजना जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर बनाएका थिए । 

राजनीतिक नियुक्तिमा आउने पदाधिकारीले लुम्बिनी क्षेत्रको विकास र विस्तारभन्दा गुरुयोजना विपरीतका काम गर्दै आएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित संस्था ओझेलमा पर्न थालेको  विज्ञहरूको भनाई छ ।  

सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि राष्ट्रिय गौरवको आयोजनामा समेत लुम्बिनीलाई राखेको लुम्बिनीमा गुरुयोजना सुरु भएपछि हालसम्म १६ जना उपाध्यक्ष परिवर्तन भएको विकास कोषले जनाएको छ ।  संस्कृति तथा पर्यटन मन्त्री लुम्बिनी विकास कोषको पदेन अध्यक्ष रहने प्रावधान छ । 

लुम्बिनीको विकासका लागि भन्दै वि.सं.२००८ सालमा लुम्बिनी प्रबन्धक समिति र २०२७ सालमा लुम्बिनी विकास परियोजना स्थापना भएर काम भइरहेको थियो । २०४२ सालमा लुम्बिनी विकास कोष स्थापना भयो। यस बीचमा कोषमा उपाध्यक्षसहित १०९ जनाले राजनीतिक नियुक्ति पाएको पदाधिकारी परिवर्तन कोष तथ्याङ्कमा रहेको छ । 

लुम्बिनीमा पवित्र ढंगले काम गर्ने उद्देश्यले पदाधिकारी आउने भन्दा पनि राजनीति क्रीडस्थलको रुपमा प्रयोग हुँदा गुरुयोजना पुरा नभएको प्राडा गितु गिरीको भनाइ छ । 
लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईले ५ अर्ब रुपैयाँ बजेट चाहिनेमा सरकारले यो वर्ष जम्मा ३५ करोड रूपैयाँमात्र बजेट छुट्याएर समस्या भएको बताए । 

हरेक सरकार परिवर्तनसँगै लुम्बिनी विकास कोषमा पदाधिकारी परिवर्तन हुँदै आएका छन् । कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले हालै कार्यभार सम्हालेपछि गुरुयोजना विपरीतका काम आफूले रोक्ने  प्रतिबद्धता जाहेर गरेका छन् । जबकि विवादित छविको भन्दै गठबन्धन दलले समेत उनको नियुक्तिको खारेजीको माग गरिरहेका छन् ।

4

गुरुयोजना विपरीतका काम
लुम्बिनीमा गुरुयोजना विपरीतका भवन बनिरहेका छन् । जस्तै बेबी बुद्धको मूर्ति, थाइल्यान्डको सूचना केन्द्र, बुद्ध प्रतिमा, शान्ति दीप, सभा हल तथा विभिन्न देशहरूले निर्माण गरेका गुम्बा गुरूयोजना विपरीत बनेका हुन् ।

गुम्बा तथा चैत्य बनाउन विभिन्न देश तथा संस्थालाई एक–एकवटा ‘प्लट’ दिने नियम बनाए पनि आफूखुसी वितरण गरिएको छ ।

संस्कृतिविद् समेत रहेका प्राडा गिरीले गुरु योजना विपरीतका काम तत्काल रोकेर विकास कोष अगाडि जानुपर्नेमा राजीनितिक हस्तक्षेपका कारणले  संभव नभएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप