सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब नाघ्यो, खातामा जम्मा ७१ अर्ब ९८ करोड मौज्दात
काठमाडौं । सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा आन्तरिक र बाह्य गरी सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
यो मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४१.२ प्रतिशत हाराहारी हो । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा नेपाल सरकारले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण परिचालन गरेकोमा १ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ । यस अवधिमा सरकारले १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
समीक्षा अवधिमा सरकारसँग जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।