आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अभिनय

‘अभिनय जीवन्त बनाउन यौनकर्मीका दिनचर्या नियालेँ’

अब कमेडी र एक्सन फिल्म गर्न मन छ : सुरक्षा पन्त
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । साँझ ढल्दै गएपछि यात्रुलाई गन्तव्यमा फर्किन हतार हुन्छ । तर शायद रत्नपार्कको आकाशे पुल र छेउछाउमा उभिने केहीलाई हतार हुन्न । त्यो दिन पनि आकाशे पुलमा भिडभाडै थियो । 

त्यहाँ यौनकर्मीसँग बार्गेनिङका वार्तालापसमेत सुनिन्थे । त्यो बार्गेनिङ पुरुषले भन्दा बढी एक महिलाले चाख दिएर सुनिरहेकी थिइन् । ती सुन्ने महिला अरू कोही नभएर अभिनेत्री सुरक्षा पन्त थिइन् । 

सुरक्षाले त्यो बार्गेनिङ वार्ता चाखपूर्वक सुन्नुको कारण थियो, फिल्म ‘जुलेबी’ । जसमा उनले यौनकर्मीको भूमिका निर्वाह गर्नु थियो । उनीहरूको क्यारेक्टर आफूमा फिट गर्नु थियो । यो प्रसङ्ग केही वर्ष अगाडिको हो, जतिबेला फिल्म ‘जुलेबी’ निर्माण हुँदै थियो ।

फिल्ममा सुरक्षाले ‘माया’ नामक यौनकर्मीको भूमिका निर्वाह गर्दै थिइन् । जसको रिसर्चमा उनले केही दिन रत्नपार्क आसपासका यौनकर्मीहरुको वरपरसमेत भौँतारिनु पर्‍यो ।

यौनकर्मीको भूमिका उनको अभिनय जीवनकै फरक अभिनय थियो । फिल्मको स्क्रिप्ट पुरै टाइट पनि थिएन । छलफल गरेर परिमार्जन गर्न सकिन्थ्यो । त्यसैले पनि उनी रिसर्चमा निस्किएकी थिइन् ।

‘फिल्मको भूमिका मेरो लागि नौलो, च्यालेन्जिङ र प्रयोगवादी थियो । त्यसका लागि रिसर्च गर्नुपर्ने ठाने’, सुरक्षाले भनिन्, ‘रत्नपार्कमा गएर माहौल हेर्ने, पात्र नियाल्ने र उनीहरूसँग कुरा पनि गरेँ ।’

सुरक्षा रिसर्चका लागि अभिनेता सुशील सिटौलासँग रत्नपार्क जान्थिन् । त्यहाँ उनले यौनकर्मीका गेट अप, हाउभाउ लगायतको सबै कुरा बुझ्थिन् । भन्छिन्, ‘यो बाहेक कुन मेथडले अभिनय गर्ने भनेर यौनको संवेदनशीलता बुझ्ने केही बुद्धिजीवीहरूसँग पनि कुराकानी गरेँ ।’

suraksha panta (2)

रिसर्चका लागि सुरक्षाले गेट अप फेरिनन् । उनी चिनिने गरेर जान्थिन् । कारण सुनाइन्, ‘म सेक्युर मानिस हो । तपाईले केही कुरो शेयर गर्दा सुरक्षित हुन्छ भनेर ट्रस्टको आधार दिनुपर्छ । त्यसैले, आफै ओपन भएर गएँ ।’

रिसर्चको सिलसिलामा सुरक्षाले दुई पात्रसँग घण्टौँ छलफल गरिन् । छलफलका क्रममा उनले ‘आइसब्रेक’का लागि पहिले आफ्नो सङ्घर्ष सुनाइन् । त्यसपछि तिनको सङ्घर्ष सुनिन् । यसले उनलाई अभिनयमा सहज भयो । 

‘फिल्ममा सिमरनजी पनि हुनुहुन्छ, जो त्यस्ता व्यक्तिहरूका लागि काम गरिरहनु भएको छ । उहाँले पनि सहयोग गर्नुभयो,’ सुरक्षाले थपिन् ।

‘जुलेबी’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । गणेशदेव पाण्डेको निर्देशन रहेको फिल्मको प्रचारमा अहिले उनी जोडतोडका साथ लागिपरेकी छन् । 

‘जुलेबी’मा यौनकर्मीको भूमिका भएपनि अभिनयमा उनलाई असहज भएन । अन्य फिल्मझैँ उनले ‘इन्ज्जोय’ गर्दै अभिनय गरिन् । फिल्म साइन गर्दा यो पात्रलाई समाजमा हेर्ने दृष्टिकोण के होला, कस्तो होला ध्यान दिनुपर्छ कि भन्ने दोधार थियो उनमा । तर अभिनय गर्दा पात्रको अन्तर्मनमा आफै गहिराइमै छिरेकाले दोधार हटेको उनी सुनाउँछिन् ।

मायाको रूपमा नलिउन्

नेपाली फिल्म क्षेत्रमा एउटा भनाई छ ‘कि आँसु बिक्छ, कि सेक्स’ । उनले त्यही भएर ‘जुलेबी’को ‘यौनकर्मीको भूमिका रोजेको भने होइन । फिल्मको कन्टेन्ट राम्रो लागेर रोजेको बताउने उनलाई नेपालमा सेक्स बिक्छ जस्तो कहिल्यै र अहिले पनि लागेको छैन रे ।

‘हामीहरू अहिले पनि कुण्ठामा छौ । सेक्स अलिकति ओपन भयो । त्यसलाई मनोरञ्जनात्मक रूपमा हेरियो भने बिक्ने हो’, उनी अगाडि भन्छिन्, ‘फिल्ममा यौन बिकाऊ हुन्छ भन्ने हिसाबले कोही फिल्म मेकरले फिल्म बनाइरहनु भएको छ भने त्यो फिल्म चल्छ जस्तो  मलाई लाग्दैन ।’ 

suraksha panta (3)

‘जुलेबी’ यौनकर्मीको विषयमा बनेको पूर्ण मनोरञ्जनात्मक फिल्म भएको उनको जिकिर छ ।

जो कोही कलाकारलाई आफूले अभिनय गरेको भूमिकाबाट बजारमा चिनियोस् भन्ने हुन्छ । तर, उनले त्यस्तो भूमिकामा अभिनय गरेकी छन्, जसबाट समाजमा चिनिदा गाह्रो हुन्छ । आखिर किन रोजिन् त सुरक्षाले यो चरित्र ? 

‘म कलाकार हो, अभिनय मेरो कर्म हो । कलाकार भएपछि जुनै भूमिका अभिनय गर्न तयार हुनुपर्छ’, सुरक्षा भन्छिन्, ‘मेरो अभिनयलाई दर्शकले अभिनयकै रूपमा लिइदिनुहुन्छ भन्ने अपेक्षा छ ।’ यदि अभिनय गरेको पात्र दर्शकले साँच्चै ठान्नु भएछ भने आफूले राम्रो अभिनय गरेको ठान्ने उनको भनाई छ ।

‘फिल्म रिलिज भएपछि दर्शकले जे ठाने पनि केही छैन । म सधैँ जुलेबीकी माया भएर त बस्दिन’, उनी भन्छिन्, ‘मेरो जुन रियल पर्सनालिटी सुरक्षाको रूपमा छ, त्यो कहिल्यै मेटिन्न ।’

अभिनयको नाम ‘माया’बाट कसैले बोलायो भने त्यसलाई नर्मल रूपमा लिने र अभिनयको सफलता ठान्ने उनी सुनाउँछिन् । 

थप्छिन्, ‘कलाकारले अभिनय गरेको कुनै कुनै पात्रको संवेदनशीलता धेरै हाई हुन्छ । त्यो परिचय सोसाइटीमा धेरै ग्रे जोनमा हुन्छ । त्यो पात्रले हामीलाई चिनोस् भन्ने त लाग्दैन । यो पात्र राम्रो हो र अझै बढ्दै जानुपर्छ भन्ने पनि रहँदैन ।’ फिल्ममा यस्ता पात्र समाजमा बिस्तारै कम होऊन्, यस्ता समस्याको निराकरण होस् भन्ने हिसाबले समेत फिल्म बनेको उनले बताइन् ।

म फ्री कलाकार

नेपाली फिल्म क्षेत्रमा गहन भूमिकामा देखिने अभिनेत्री थोरै छन् । गहन भूमिकाको लागि प्रायः रोजाइमा सुरक्षा पर्छिन् । उनको फिल्म नियाल्ने हो भने उनलाई गहन भूमिकामै बढी देख्न सकिन्छ । 

एकै खाले भूमिकाले दर्शक मात्र होइन, कलाकार आफै पनि ‘इरिटेड’ हुन्छन् । त्यसैले पनि उनी अहिले फरक फरक भूमिकामा रमाउँछिन् ।

‘एक समय मलाई घरको गृहिणी, छोरी, बुहारी लगायतको भूमिका धेरै मिल्यो । त्यसले इरिटेड पार्‍यो । त्यो चिर्नका लागि मैले नयाँ नयाँ पात्र अङ्गालेकी छु । त्यही क्रममा यो जुलेबीको माया पात्र रोजे,’ सुरक्षाले अगाडि थपिन्, ‘म आफ्नो अभिनय अझै एक्सपोज गर्न चाहन्छु । जसले गर्दा ‘जुलेबी’ जस्तो अलग धारको फिल्म पनि छोड्न मन लाग्दैन ।’

हुन त दर्शकले सुरक्षाबाट ग्ल्यामर र रोमान्सको पनि आस नगरेको होइन । एउटा नायिकाबाट त्यो आस गर्नु स्वाभाविक पनि हो । निर्माता निर्देशकले त्यस्तो भूमिकामा फिट देखेर अफर गरे आफू ग्ल्यामर र रोमान्सका सिन दिन तयार रहेको उनले जनाइन् ।

suraksha panta (4)

सुरक्षाले अहिलेसम्म थुप्रै फिल्म अभिनय गरिसकेकी छन् । उनले फिल्ममा निर्वाह गरेको प्रायः पात्रको चर्चा भएको छ । अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा पनि सहभागिता जनाएकी उनका फिल्म भने सफल अनि असफल दुवै छन् । त्यो हिसाबले सुरक्षालाई हिट, फ्लप के भन्ने ? 

प्रश्न राख्न नपाउँदै उनले उत्तर फर्काइन्, ‘म फ्री कलाकार हो । कुनै पनि परिभाषामा बाँधिएको छैन । मलाई यति स्वतन्त्रता छ कि भर्खर आएकादेखि ब्राण्डेड मेकरसँग पनि काम गर्न सक्छु ।’ 

‘आमा’पछि  सुरक्षाका धेरै फिल्म आए पनि सफलता भने दिन नसकेकै हो । त्यो पीडा उनलाई पनि छ । व्यावसायिक सफलताको तलतल उनलाई पनि छ । निर्माताले कमाए भने फेरि काम दिन्छन् भन्ने उनले बुझेकी पनि छन् । भन्छिन्, ‘एउटा फिल्म चलेन भने कलाकारले गर्दा भन्न मिल्दैन । फिल्म टिमवर्क हो ।’

फिल्ममा धेरै थरिका भूमिका निर्वाह गरिसकेकी सुरक्षालाई अब कमेडी र एक्सन गर्न मन छ । किनभने कमेडीको पारखी पनि हुन् उनी । एक्सन अहिलेसम्म नगरेकाले गर्न मन लागेको उनले शेयर गरिन् ।

‘मैले हालै स्ट्यान्ड अप कमेडी पनि गरे । मलाई कमेडियन डार्क ह्युमर एकदमै मनपर्छ,’ सुरक्षाले कुराकानीको बिट मारिन् ‘रुचि छ तर साइक्लोजिकल थ्रिलर पनि अहिलेसम्म गर्ने अवसर मिलेको छैन ।’

सुरक्षा इन्जिनियर हुन् । तर, कलाकारिताबाटै उनलाई राम्रो भएकाले इन्जिनियरिङ प्राथमिकतामा छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया