आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

भदौ १५ गतेभित्र केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी

वडा समितिका उम्मेदवार संकलन असोजलाई सर्‍यो
शुक्रबार, ०१ भदौ २०८०, १७ : ०७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भदौ १५ भित्र केन्द्रीय समिति बैठक बोलाउने तयारीमा छ । भदौ १५ भित्र सकारका कामको समीक्षा र पार्टीका सांगठनिक एजेन्डाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने रास्वपाका सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बताए । 

रास्वपाले अहिले जिल्ला, पालिका र वडा तहमा कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । पार्टीका भेलाहरूलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा रहेको बुर्लाकोटीले बताए ।  ‘अहिले पार्टीले जिल्ला, पालिका र वडा तहको कार्यकर्ता भेलालाई तीव्रता दिएको छ । भदौ १५ भित्र केन्द्रीय समिति बैठक बस्ने तयारी छ,’ उनले भने ।

रास्वपाले अहिले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गरिरहेको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिक कहाँ पुगेर दस्ताबेजका लागि सुझाव लिइरहेको उनको भनाइ छ ।

पार्टीले गठन गरेको १७ जनाको टोलीका प्रत्येकले तिन स्थानमा पुगेर सुझाव सङ्कलन गरिरहेका छन् । ‘नयाँ युगको सङ्कल्प’ दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डलका सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ । सुझाव सङ्कलनका लागि तोकिएको १५ दिनको समय सीमा सकिन लागेको छ । सुझाव सङ्कलनको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ । यता भदौबाट वडा समितिका उम्मेदवार सङ्कलन सुरु गर्ने भनिएको कार्यक्रम भने असोजलाई सारिएको छ । 

रास्वपाका सहमहामन्त्री बुर्लाकोटीले भने, ‘भदौदेखि वडा समितिको उम्मेदवार अनलाइनबाट सङ्कलन गर्ने कार्य असोजलाई सारिएको छ । असोज महिनाभरि हामीले उम्मेदवारी लिन्छौँ ।’ उम्मेदवार सङ्कलन गरेपछि अनलाइन भोटिङमार्फत वडा समिति गठन गर्ने रास्वपाको तयारी छ । ‘सम्बन्धित वडाले प्रचार–प्रसारको काम भेला भएर गर्छन् । निर्वाचन भने अनलाइनमार्फत नै हुन्छ,’ बुर्लाकोटी भन्छन् ।

रास्वपाको वडा समितिमा  वडाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरू रहने व्यवस्था छ । ११ सदस्यीय वडा समितिमा ४ जना महिला अनिवार्य हुनुपर्ने छ भने त्यसमध्ये एकजना दलित महिला सदस्य पनि रास्वपाले अनिवार्य गरेको छ । ‘जुन वडामा दलित महिला छैन, त्यो वडामा त्यो पद खाली हुने व्यवस्था छ । त्यहाँ १० सदस्य समिति मात्र हुन्छ,’ उनले भने । 

रास्वपाले डिजिटल युगको प्रारम्भ वडा कमिटीबाटै गर्न लागेको बुर्लाकोटीको भनाइ छ । ‘वडा–वडामा रास्वपा’ भन्ने अवधारणामा काम भइरहेको उनले बताए । रास्वपाले पार्टी गठनको एक वर्षमा करिब १ हजार वडामा कमिटी बनाइसकेको बुर्लाकोटीको दाबी छ । ‘उक्त वडाको केन्द्रीय अभिलेखीकरण भइरहेको छ । त्यो वडामा चाहिँ चुनाव हुँदैन । वर्तमान समितिले नै काम गर्छ । अभिलेखीकरणमा नआएका वडाको चुनाव गरेर कमिटीलाई अन्तिम रुप दिन्छौँ,’ उनी भन्छन् ।

वडा समितिलाई अभिलेखीकरणमा आउनका लागि रास्वपाले केही मापदण्ड राखेको छ । बुर्लाकोटीका अनुसार मापदण्ड पुरा नभएका वडाको अभिलेखीकरण हुँदैन । रास्वपाले मापदण्डमा मुख्यतः तीनवटा कुरा राखेको छ । ‘एउटा दलित महिला सदस्य हुनुपर्‍यो । महिला ३३ प्रतिशत हुनुपर्‍यो । सम्बन्धित वडामा न्यूनतम सदस्य सङ्ख्या पुगेको हुनुपर्‍यो,’ उनले भने ।

बुर्लाकोटीका अनुसार गाउँपालिकाका वडामा कमिटी गठनका लागि न्यूनतम ३३ जना क्रियाशील सदस्य भएको हुनुपर्छ । त्यसपछि मात्र कमिटीको अभिलेखीकरण हुन्छ । यस्तै नगरपालिकाको वडामा न्यूनतम ४४ जना क्रियाशील सदस्य पुगेपछि बल्ल वडा समितिको अभिलेखीकरण हुन्छ । उपमहानगर र महानगरपालिकाका वडामा ५५ जना क्रियाशील सदस्य पुगेपछि मात्र अभिलेखीकरण हुन्छ । न्यूनतम सङ्ख्या पुगेको छैन भने सिस्टमले नै अभिलेखीकरण गर्न दिँदैन ।

उनले उदाहरण दिँदै भने, ‘काठमाडौँको १६ नम्बर वडामा ५५ जनाभन्दा तल सदस्य रहेछ भने अभिलेखीकरणमा मापदण्ड पुगेको छैन भनेर सिस्टमले दिँदैन । हामीले सबै सदस्यको डिजिटलाइज गरेका छौं ।’ सबै वडामा समिति गठन भइसकेपछि मङ्सिरमा रास्वपाका पहिलो महाधिवेशनको प्रक्रिया सुरु हुने छ । 

रास्वपाले ७ सय ५३ मध्ये करिब २ सय ९० पालिका, १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र, ७७ मध्ये ७४ जिल्ला, सात प्रदेश समिति बनाइसकेको छ । सबै पालिका र निर्वाचन क्षेत्रमा पनि समिति गठनको गृहकार्य भइरहेको बुर्लाकोटीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप