आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

शुक्रबार, ०१ भदौ २०८०, १९ : १३
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले बजारभाउ तथा मूल्यवृद्धि समेतलाई ख्याल नगरी विद्यमान कानुन विपरीत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै आपत्ति जनाएको छ । ट्रेड युनियन कांग्रेसले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ तोक्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । 

सरकारले बिहीबार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ मात्र निर्धारण गरेपछि ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्तिमार्फत घोर आपत्ति जनाएका छन्  । 

‘श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले २/२ वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ । तर त्यस्तो व्यवस्था विपरीत बजारभाउ तथा मूल्यवृद्धिलाई समेत नजरअन्दाज गरेर एकांकी निर्णय गर्दै न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोमा नेपाल ट्रेड युनियन कांग्रेस घोर आपत्ति जनाउँदछ,’ महासचिव राईले विज्ञप्तिमार्फत भनेका छन् । 

उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको पटक–पटक भएको छलफललाई अवमूल्यन गरी सरकारले एकलौटी ढंगबाट रोजगारदाताको प्रभावमा न्यूनतम पारिश्रमिक तोकेको बताए । ‘अहिलेको कहालीलाग्दो मूल्यवृद्धि र महँगीमा मासिक १७ हजार ३०० रुपैयाँ पारिश्रमिक बुझेर श्रमजीवीले कसरी बाँच्ने ? यो गम्भीर प्रश्न हामीमाझ उठेको छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ । 

महासचिव राईले चिया क्षेत्रमा गरिएको न्यूनतम तलब ज्याला भेदभावपूर्ण रहेकोमा समेत आपत्ति जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप