आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सामान्यमा कहिले बस्छ थिति ?

कर्मचारी सरुवा अलपत्र, पूर्वमन्त्रीले बनाएको मापदण्ड कार्यान्वयन गर्न सकस

शुक्रबार, ०१ भदौ २०८०, १९ : २९
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रुपमा जनमत पार्टीकी नेतृ अनिता देवी नियुक्त भएको शुक्रबार चार दिन पुग्यो । अहिलेसम्म उनले आफ्नो स्वकीय सचिवालयमा कसलाई राख्ने भन्ने टुंगो लगाउन सकेकी छैनन् । 

मन्त्रालयमा सरुवामा चित्त नबुझेका कर्मचारीहरु गुनासो लिएर दिनदिनै धाइरहेका छन् । तर, मन्त्रीसम्म गुनासो पु¥याईदिने पुलको काम गर्ने स्वकीय सचिव नहुँदा टाढादेखि धाएर आएका कर्मचारी त्यसै फर्किने गरेका छन् । 

यस अघिका मन्त्री अमनलाल मोदीले प्रमुख प्रशासकीय अधिकृतको रुपमा पालिकाहरुमा सरुवा गरिएका अधिकांशले चिठी बुझेका छैनन् । मोदीले कार्यदल नै बनाएर उक्त कार्यदलको सुझावका आधारमा सरुवाको मापदण्डअनुसार उपसचिव र शाखा अधिकृतहरुलाई पालिकाहरुमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेका थिए । तर, सरुवा कार्यान्वयन भएको छैन । 

a

मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखामा सरुवाको विषयलाई लिएर विभिन्न कर्मचारी ट्रेड युनियनआबद्ध कर्मचारीहरुको भीड लाग्ने गरेको छ । करिब एक दर्जन केही उपसचिव र शाखा अधिकृतहरुले विभिन्न कारण देखाएर सरुवा रोक्न निवेदन दिएका छन् । 

मन्त्री अनिता देवीलाई बधाई दिने ओइरो अझै रोकिएको छैन । पार्टी निकट कर्मचारी, दलका कार्यकर्तालगायत व्यक्तिहरु खादा र माला लिएर जाने भीड दैनिक देखिन्छ । मन्त्रीले दुई दिनदेखि कर्मचारीको ब्रिफिङ सुनिरहेकी छिन् । तर, भुइँतलामा भइरहेको गतिविधिका बारेमा उनी बेखबर छिन् । 

सरुवा भएर जाने कर्मचारीलाई किन रमानाको पत्र काटिएन भन्ने प्रश्नमा मन्त्री देवीले भनिन्,‘सरुवा भइसकेपछि त पत्र त्यहीबेला काटिन्छ हैन र ? यस बारेमा के भएको रहेछ म बुझ्छु ।’ 

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराई विगतमा पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउँदा पालिका अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्ने गरेको बताए । उनले भने,‘मन्त्रालयले कर्मचारी सरुवा गर्दा पालिका अध्यक्ष र उपाध्यक्षको चित्त बुझाउनुपर्ने भन्दै मन्त्रालयमा डेलिगेशन आउने पुरानै समस्या हो । कर्मचारी पनि आफूले चाहेको र मागेको ठाउँमा जाने प्रवृत्ति छ । तर, सरुवा भइसकेको निर्णयमा मन्त्रालय पछाडि हट्दैन ।’ 

up

यसअघि उपसचिव र शाखा अधिकृतको सरुवापछि सहसचिवको सरुवा गर्ने तयारी मन्त्रालयको थियो । तर, मन्त्री फेरिने बित्तिकै सरुवा प्रक्रिया अवरुद्धजस्तै भएको छ । 

सहसचिवको सरुवा मन्त्रिपरिषद्ले गर्छ । यस विषयमा मन्त्रीलाई देखाएर रायसल्लाह लिएपछि मात्रै मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने चलन छ । अचम्म कुरा त निवर्तमान मन्त्री अमनलाल मोदीको कार्यकाल सकिएको गत असार २४ गते उपसचिव २० जना र शाखा अधिकृत १८ जनाको सरुवा गरिएको थियो । 

उता, २४ गतेकै मिति राखेर पुरानो लिष्ट तल माथि पारेर एक दर्जन बढी कर्मचारीको सरुवा गरिएको मन्त्रालयका एक उच्च अधिकृतले बताए । ती अधिकृतले रातोपाटीसँग भने,‘नयाँ मन्त्रीले मन्त्रालयमा कर्मचारीको ब्रिफिङ सुन्दै हुनुहुन्छ । तर, सरुवा सूची हेरफेर गरेको जानकारी उहाँलाई छैन । एउटा मन्त्रीले सरुवा गरेर गए, नयाँ मन्त्रीलाई जानकारी नै नदिई सरुवा सूची हेरफेर भइसक्यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप