आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आयात/निर्यात

मकवानपुरमा उत्पादित वस्तुको निर्यात दर घट्यो

शनिबार, ०२ भदौ २०८०, ०६ : ५४
शनिबार, ०२ भदौ २०८०

मकवानपुर । कोरोना संक्रमण, आर्थिक मन्दी लगायतका कारण मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर घटेको छ । विभिन्न प्रतिकुलताका कारण उत्पादन नै घटेपछि निर्यात दर पनि घटेको हो ।

तथ्याङ्क अनुसार मकवानपुरबाट भारत तथा अन्य मुलकसँगको निर्यात व्यापार बर्सेनि घट्दो छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरको निर्यात व्यापार दर केही बढी थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालित निर्यातजन्य उद्योग र व्यावसायिक प्रतिष्ठानबाट १ अर्ब ५५ करोड ५६ लाख ८० हजार रुपैयाँको निर्यात भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । संघका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा ४८ करोड ६६ लाख ६९ हजार रुपैयाँको मात्र निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा मकवानपुरको निर्यातजन्य उद्योग तथा व्यावसायिक प्रतिष्ठानबाट हुने निर्यात व्यापार १ अर्ब ६ करोड ९० लाख ११ हजार रुपैयाँले घटेको संघको तथ्याङ्क छ ।

मकवानपुरमा संघले उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरमा सञ्चालित ४ उद्योग र एउटा व्यापारिक प्रतिष्ठानले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेका थिए । एडभान्स टेक्नोलोजी एन्ड मेसिन नेपालले फोहोर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको थियो । उक्त उद्योगले उत्पादन गरेको उपकरणलाई संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख ६४ हजार रुपैयाँको निर्यात व्यापार भएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा २५ करोड ५७ लाख ७३ हजार रुपैयाँको निर्यात भएको संघको तथ्याङ्क छ ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४२ करोड ६८ लाख ९८ हजार रुपैयाँको निर्यात गरेको गोदावरी पोलिप्याक्सको व्यापार घटेर निर्यात दरमा प्रभाव परेको छ । सो कम्पनीले गत आर्थिक वर्षमा ७२ लाख ४७ हजार ५२६ रुपैयाँको उत्पादित सामग्री निर्यात गरेको थियो । 

दुई उद्योग थपियो तर, बढेन व्यापार

गत आर्थिक वर्षमा नयाँ २ वटा उद्योग थप हुँदासमेत निर्यात व्यापार बढ्न सकेन । आर्थिक वर्ष २०७९÷०८० मा मकवानपुरबाट थप २ वटा उद्योगले उत्पादित सामग्री विदेश निर्यात गरेका थिए ।

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको खजुरीको नेपाल प्रा.लि.ले बिस्कुट, पप लगायतका खाद्य वस्तु भारत पठाएको थियो भने बिर्को निर्यात गर्दै आएको प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रा.लि.ले पनि उत्पादित सामग्री विदेश निर्यात गरेको थियो ।

त्यस्तै विगतमा पनि निर्यात व्यापार गरेर विभिन्न कारणले रोकिएको एक उद्योगले उत्पादित सामग्री पुनः विदेश निर्यात थालेको छ । हेटौंडा–११ मा अवस्थित नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले विद्युतीय सामग्री विदेश निर्यात गर्न थालेको हो ।

विद्युतीय ट्रान्सफर्मर उत्पादन गर्ने कम्पनी नेपाल इकरात इन्जिनियरिङले उत्पादित सामग्री भुटान निर्यात सुरु गरेको हो ।

यता मकवानपुरबाट गोदावरी पोलिप्याक्स एन्ड एफआइबीसी प्रा.लि.ले त्रिपाल र बोरा विदेश निर्यात गर्दै आएको छ भने इभान्स लाइफ साइन्सेस प्रा.लि. लौठसल्लाको पाउडर भारत निकासी गर्दै आएको छ ।

गुराँस ग्रुप इन्टरनेसनल प्रा.लि.ले चाउचाउ, चिउरा, खुर्सानी लगायतका नेपाली खाद्य उत्पादन विदेश निर्यात गर्दै आएको छ । सो उद्योगले उत्पादित सामग्री अस्ट्रेलिया निर्यात गर्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप