आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खाद्य सङ्कटको जोखिम

थाइल्याण्ड, भियतनाम र पाकिस्तानले भारतलाई पछ्याउने डर

शनिबार, ०२ भदौ २०८०, १२ : ५५
शनिबार, ०२ भदौ २०८०

एजेन्सी । अघिल्लो महिना रुसले युक्रेनबाट ‘ब्ल्याक सी’ हुँदै निर्यात हुने खाद्यान्न रोक्ने निर्णय गर्‍यो । लगत्तै जुलाई २० मा भारतले नन–बासमती चामलको निर्यात रोक्ने निर्णय गर्‍यो । भारतले बासमतीबाहेकका सबै चामल (कनिकासहित)को निर्यात प्रतिबन्ध लगाएको हो ।

आन्तरिक बजारमा खाद्यान्नको मूल्यवृद्धि, उच्च दरको महँगी र ‘इएल निनो’का कारण चामल अभाव हुने डर भारतमा देखिन्छ । भारतमा आउँदो क्रममा रहेको चुनावमा चामल अभाव हुने सरकारी आँकलन देखिन्छ, जसलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सम्पूर्ण निर्यात प्रतिबन्ध लगाइएको हो ।

भारतको यो कदमसँगै विश्व बजारमा चामलको मूल्य प्रति मेट्रिक टन १०० अमेरिकी डलरसम्म बढ्यो । निर्यात प्रतिबन्ध अघि प्रति मेट्रिक टन ५५० डलर पर्ने चामलको मूल्य अब ६५० डलरभन्दा माथि पुगिसक्यो । विश्वको सबैभन्दा ठुलो चामल निर्यात भारतको यो निर्णयसँगै विश्वभर खाद्य सङ्कटको जोखिम चुलिँदो अवस्थामा छ ।

भारत विश्वको सबैभन्दा ठुलो चामल निर्यातकर्ता देश हो, जसले एक्लै विश्वमा निर्यात हुने कूल चामलको ४० प्रतिशत हिस्सा ओगट्छ । सन् २०२२ मा भारतले विश्वका १४० देशमा ९.६६ बिलियन अमेरिकी डलर २२ मिलियन टन चामल निर्यात गरेको थियो । जसमा ४.५ मिलियन टन बासमती चामल, ८ मिलियन टन ‘पारबोइल्ड’, ६ मिलियन टन नन–बासमती र ३.५ मिलियन टन कनिका चामल भारतबाट निर्यात भएको थियो ।

rice export

अन्य देशले भारतको सिको गरे के हुन्छ ?

भारतले अहिले पनि ‘सेमी बोइल्ड’ र बासमती चामलको निर्यात रोकेको छैन । तर, पनि विश्वमा चामलको मूल्य २५ प्रतिशतसम्म बढेको छ । र, यसबाट विश्वमा सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा नेपाल र बंगलादेश छन् । नेपाल र बंगलादेश चामल आयातमा भारतसँग निर्भर छन् । यसबाहेक, अफ्रिकन मुलुक बेनिन, सनेनगल, टोगो र मालीले भारतबाट ठुलो मात्रामा कनिका चामल आयात गर्छन् ।

भारतपछि विश्वमा सबैभन्दा धेरै चामल निर्यातकर्ता मुलुक थाइल्याण्ड हो । यसपछि भियतनाम र पाकिस्तान समेत ठुला निर्यातकर्ता मुलुकमा पर्छन् । र, यी तीन वटै देशको निर्यातलाई एकै स्थानमा राख्दा ३० प्रतिशत हिस्सा ओगट्छन् । अर्थात्, भारत ४० प्रतिशत, थाइल्याण्ड १३.५ प्रतिशत, भियतनाम ८.६ प्रतिशत र पाकिस्तान ८ प्रतिशत गरी विश्वमा हुने कूल चामल निर्यातको ७० प्रतिशत हिस्सा ओगटिरहेका छन् ।

र, ‘इएल निनो’बाट भारतजस्तै थाइल्याण्ड, भियतनाम र पाकिस्तान समेत प्रभावित मुलुक हुन् । यी तीन वटा मुलुकले समेत भारतको सिको गर्दै आफ्नो देशबाट चामलको निर्यात रोकेमा विश्वको आपूर्ति शृङ्खला नै ७० प्रतिशतले प्रभावित बन्ने देखिन्छ । यी चार मुलुकपछि चामल निर्यातमा अमेरिका ५.८ प्रतिशत, चीन, ३.५ प्रतिशत, इटाली र म्यानमार समान २.७ प्रतिशत हिस्सा ओगट्छन् । जसमध्ये चीनमा समेत अन्न भण्डार भनिने उत्तरी प्रदेशमा बाढी आउँदा यस वर्षको उत्पादन प्रभावित बन्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

rice 4

के हो ‘इएल निनो’ ?

‘इएएल निनो’ पूर्वी प्रशान्त महासागरको पानीको तापक्रमले गर्दा हुने जलवायु परिवर्तनका कारण भारी वर्षा र खडेरी वृद्धि हुनु हो । खडेरीका कारण खेती लाउन सकिँदैन भने भारी वर्षाका कारण आउने बाढीले बालीमा ठुलो क्षति पुर्‍याउँछ । विश्वको ९० प्रतिशत चामल उत्पादन नै एसियामा हुने तथ्याङ्क छ । तर, गत वर्षको आएको ‘इएल निनो’का कारण उत्पादनमा भारी कटौती भइरहेको छ भने बाढीले समेत उत्पादन घट्ने देखिन्छ ।

‘इएल निनो’बाट भारतमा वर्षको ६० प्रतिशतसम्म समय प्रभावित बनेको छ । जबकि, इण्डोनेसियामा शतप्रतिशत समय प्रभावित बन्ने गरेको छ । यसबाट वर्षमा ९ देखि १२ महिना नै प्रभावित बन्छ । जुन, ग्लोबल वार्मिङको एउटा रुप हो । यसबाट भारतमा हुने चामल उत्पादन ३५ प्रतिशतसम्म प्रभावित हुने प्रक्षेपण गरिएको छ । यही समयमा अरेबियन सागर तात्दा आएको बाढीका कारणले पाकिस्तानको उत्पादन समेत प्रभावित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप