आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धन्यवाद गृहमन्त्री नारायणकाजीजी !

शनिबार, ०२ भदौ २०८०, १८ : ०२
शनिबार, ०२ भदौ २०८०

आम मान्छेले सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने यो सरकार संसदमा रहेको तेस्रो ठुलो दलको नेतृत्वमा रहेको छ । पहिलो पटक ९९ प्रतिशत विश्वासको मत प्राप्त भएको सरकार भए पनि दोस्रो पटक त्यो मत घटेको छ भने अहिले त्यो घट्ने क्रम किन पनि बढी छ भने संसदमा २१ सिट भएको रास्वपाले आफ्नो समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको छ । 

पहिलो ठुलो दल नेपाली कांग्रेस सत्ता र सरकारको साझेदारीसहित बसेको छ भने दोस्रो ठुलो दल एमाले सत्ताको विकल्पको साँचो लिएर प्रतिपक्षमा छ । 

माओवादीले कांग्रेस, एमालेसँग तल माथि गर्ने बित्तिकै एमाले र कांग्रेस मिलेर माओवादीलाई सरकारबाट सडकमा पछारेर राम धुलाई हान्ने ल्याकत राख्छन् । एमालेले राष्ट्रिय सङ्कट छ, सङ्कटको बेला कांग्रेस र कम्युनिस्ट विशेषतः एमाले, कांग्रेस (जसरी २०४७ मा २०६३÷०६४, २०७०÷२०७२ मा सँगै सरकारमा बसेका थिए, पुष्पलालको पनि असहज स्थितिमा कांग्रेस, कम्युनिस्ट मिल्नुपर्ने मत थियो) मिल्नु पर्छ भनेर कांग्रेसको ढाड कन्याएको कन्याइ छ । 

यस्तो बेला एमाले, कांग्रेसका दुई हस्ती नेतालाई जेलमा पुर्‍याउने नारायणकाजीको कदम षड्यन्त्रको पहिलो पाइला पक्कै नहोला । रिझाएर शासन गर्ने संस्कृतिको परम्परा बसेको बेला कानुन कार्यान्वयन गराएर मन्त्री बन्ने प्रयास निश्चय नै साहसिक काम हो । 

सिद्धान्ततः दुई ठुला र परस्परमा प्रतिस्पर्धी दल मिलेर सरकारमा जानु हुँदैन । यसो हुँदा दलीय सिन्डिकेट रहन्छ भने अन्य वैकल्पिक र उदीयमान दलको सम्भावनामा घाँटी रेटिन्छ । बहुदलीय व्यवस्थाको यो मर्म हो । तर, सङ्कट परेपछि, आपत् आइ लागेको ठानेपछि कांग्रेस, एमाले मिलेर यो मर्मलाई राष्ट्रिय सङ्कटको जामा लाएर छुरी न रोप्लान् भन्न सकिन्न । 

रास्वपा, जनमत र उन्मुक्ति पार्टीको उदयले पुराना प्रतिस्पर्धी दलको सातो जाने स्थिति छ, दिल हलचल भएको छ । मस्तिष्कमा प्रभावयुक्त रेक्टरका भुईँचालो जान थालेको छ । देशभर रास्वपाको आकर्षण र जनमतले गराएका पार्टी प्रवेश कार्यक्रम सामान्य मान्छेको होश उडाउने खालको देखिन्छ । यसको प्रत्यक्ष असर तीन ठुला पार्टीलाई पर्छ । झन् तीसौ वर्षदेखि आलोपालो सरकारमा रहेका एमाले, कांग्रेसलाई सत्ता बिनाको स्थिति कल्पना गर्दा पनि आङ् सिरिङ्ग गर्छ होला नै । माछा पनि पानी बिना बस्न सक्दैन । 

आगामी चुनावमा आफ्नो भागमा साढे सातको दशा निम्तिएको मनोविज्ञानमा पुराना दलहरू छन् । माओवादी पनि पलाउने कि सकिने दोधारमा छ । पछिल्लो निर्वाचन २०७९ को प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा जहाँ पाँच दलीय गठबन्धन मिलेर लड्दा पनि माओवादीको स्थिति आफ्नै बुतामा चुनाव लड्दा कति दयनीय देखिन्थ्यो, त्यसको प्रतिछाया देखिएको छ । 

पहिलो संविधानसभा २०६४ दोस्रो संविधानसभा २०७० हुँदै २०७४ र २०७९ सम्म आइपुग्दा माओवादीको भोट मात्र होइन, साख पनि गिर्दो क्रममा छ । कहिलेकाहीँ चुनावमा पराजित हुनु र साख गिर्नु फरक कुरा हुन् । 

माओवादीहरूलाई आफ्ना लडाकुभन्दा जब जर्नेल कुमार फुदुङ र सूर्यबहादुर सेन ओलीहरू मन पर्न थाल्यो, केशव स्थापित प्रिय लाग्न थाल्यो, तब उसले आफ्नो ग्राउण्ड भुल्दै गयो र आज यो स्थितिमा छ । 

सबैभन्दा खराब पक्ष माओवादी आफैभित्र एक हुन सकेन र छिन्नभिन्न भयो । वैद्य, सिपी गजुरेल, बाबुराम, विप्लव, बादल, आहुति, गोपाल किराँती, लेखराज भट्ट, प्रभु साह भएर माओवादी शक्ति खण्डित र क्षीण भएर गयो । जनयुद्धकालीन मूल्य र मान्यता स्खलित हुँदै गए गए र पार्टी धार भुत्ते भएको हतियार जस्तो भयो । 

राजनीतिमा दुई चार पटक चुनाव हार्नु अनौठो मानिन्न । तर, जब नैतिक मूल्य, निष्ठा, इमान र सिद्धान्त पनि हारिन्छ, तब राजनीति सकियो भनेर बुझ्दा हुन्छ । अन्य दल एमाले र कांग्रेसले पनि चुनाव मात्र हारेका छैनन्, अरू कुरा पनि हार्दै गएका छन्, जसको सङ्केत चितवन र तनहुँमा भएको गत वैशाख १० को उपचुनावमा कांग्रेस, एमालेको हरिबिजोग स्थितिले पुष्टि गर्दछ । 

उपचुनाव मिनी जनमत सङ्ग्रह पनि हो । रास्वपाले संसद् रहुन्जेल मति बिगारे, यसै भन्न सकिन्न । विपक्षीमै रहने हो भने २०८४ को चुनाव धेरैको लागि आच्छु आच्छु पार्ने देखिन्छ । तथापि राजनीतिको कोर्स कतिबेला फेरिन्छ र शिखरमा पुगेको लोकप्रियता कतिबेला पछारिएर भुईँमा आइपुग्छ अत्तोपत्तो हुन्न । किनकि राजनीतिमा दीर्घकालीन सोच भन्दा बढी प्रियतावाद हाबी छ । क्षणिक प्रियतावादको आयुमा आकर्षण हुन्छ तर अटल हुँदैन । 

चुनाव हारे पनि नैतिक तागत हारिएको छैन भने अर्को पटकलाई भन्ने र बोल्ने ठाउँ बाँकी रहन्छ । जब नैतिकता नै लिलाम गरिएको स्थिति बन्छ, त्यस्तो बेला कहिल्यै राजनीति नदेखेका, नगरेका र नामै नसुनेका पात्रले पनि राष्ट्रका ठुल्ठुला हस्तीलाई, हेवीवेटलाई लाइट वेट, नो वेट भन्दै पराजित गर्छन्, गत चुनावमा देशभर देखिएको दृष्य हो यो । 

चुनावमा गठबन्धन संस्कृति देखाएर पनि दलहरूले आफू पुरिने खाल्डो खने । बहुदलीय व्यवस्थामा चुनावमै दलहरू संस्थागत गठबन्धन गरेर जानु प्रजातान्त्रिक पद्धतिको खिलाफ हो । जसको प्रयोग २०७४ को स्थानीय चुनाव, २०७४ कै सङ्घ र प्रदेशको चुनाव अनि २०७९ मा भएको तीनै तहको चुनावमा दलहरूले गरे । फलस्वरूप दलहरूको प्रतिस्पर्धात्मक क्षमता भुत्तो भयो र चारैतिर सङ्कट र खतराको बादल मडारिएको देखिन्छ । यस्तो बेला माओवादी नेतृत्वलाई आफ्नो साख फर्काउने र जनमत आफ्नो पक्षमा पार्ने ऐतिहासिक अवसर छ । 

यही बेला नारायणकाजी श्रेष्ठले केही काम गरेका छन्, जसको लागि धन्यवाद व्यक्त गर्न यो आलेख आएको छ । नारायणकाजी किन पनि धन्यवादको पात्र छन् भने जसले दुई ठुला पार्टीका दुई प्रभावशाली नेतासहित बहालवाल सचिवलाई जेल पठाएका छन् । सम्भवतः नेपालको इतिहासमा गृहमन्त्रीको तहबाट गरिएको यो ठुलो काम हो । 

जुन पार्टीको समर्थनमा आफ्नो सरकार बनेको छ, सोही पार्टीका सभापतिका प्रिय मान्छेलाई जेल र प्रमुख विपक्षी पार्टी पनि सरकारलाई कुर्सीबाट गलहत्त्याउन सके जति अभ्यास गरेर तिघ्रामा तेल घसेर बसिरहेको छ, त्यही दलको सचिवलाई गृहमन्त्रीले भुटानी शरणार्थी काण्डमा जेल कोचेका छन् । यसर्थ, यत्रो जोखिम उठाउने नेतालाई मन्त्रीलाई धन्यवाद किन नदिनु ? 

यदि कांग्रेस र एमाले मिले भने माओवादीको यति बेलाको हैसियतले ऐया भन्नसमेत नपाउने स्थितिमा छ । यस्तो बेला सानोतिनो मुटुले यो काम गर्न सक्दैन । हुन त जनयुद्धताका नै माओवादीलाई मुटु नभएका मान्छे अर्थात् सुरा मान्छे, लडाकु पार्टी भनेर संज्ञा दिइन्थ्यो । किनकि सबै सुविधा हातहतियारले सम्पन्न प्रहरी, सशस्त्र प्रहरी र सेनासँग माओवादीहरू भिड्न तम्सेका थिए, जसको परिणाम नै आजको संघीय गणतन्त्र हो । यद्धपि नारायणकाजी जनयुद्धमा सामेल नेता होइनन् । 

मान्छेहरूले पत्याए पत्याउन्, नपत्याए न पत्याउन्, नारायणकाजी मुटु नभएकै मान्छे हुन् । राजनीतिको वाद भन्दा अलि भिन्न भएर सोच्दा र हेर्दा फिलहाल नारायणकाजीमा नायकीय छवि प्रतिबिम्बित भएको छ । मुटु नभएको मान्छे भनेर हृदयहीन मान्छे, दया माया नभएको मान्छेलाई पनि भनिन्छ भने सुरो मान्छे भन्नु पर्दा पनि मुटु नभएको भन्ने गरिन्छ । यसर्थ नारायणकाजीलाई सुरोको अर्थमा मुटु नभएको मान्छेको संज्ञा दिनु उचित लाग्यो ।

देउवा, ओली र प्रचण्ड कसले चाहेको गर्दैछन् नारायणकाजी ? नारायणकाजीको अडानमा प्रचण्ड समेतलाई असहज पार्ने परिस्थिति निर्माण भएको छ । प्रचण्ड नेतृत्वको सरकारमा सङ्कट आउनु भनेको शिर छेदन पछिको सबल शरीरको कल्पना हो । किनकि प्रचण्ड र स्वयं अन्य माओवादी नेताको प्रतिकूल पनि गृहमन्त्रीको कदम देखिन सक्छ । कांग्रेसजस्तो ठुलो र सत्ता साझेदार दलको नेताको प्रिय मान्छेलाई थुनामा पठाउनु पर्दा प्रचण्ड छटपटी र देउवालाई पुगेको क्षति सामान्य छैन । 

कहिलेकाहीँ क्षति पुर्‍याएकोमा पनि धन्यवाद दिनुपर्ने हुन्छ  । त्यसैले, धन्यवाद गृहमन्त्रीज्यू । काम गर्ने मान्छेको बाटो छेक्ने र बदनाम गर्ने चलनै बसेको छ । यसर्थ नारायणकाजी श्रेष्ठप्रति पनि संशय प्रश्न आशंका आएका छन् । कतिपय विवाद पनि प्रकट भएका छन् । 

यदि नियतमा खोट र कमजोरी छैनन् भने यदाकदा देखिने प्रक्रियागत कमजोरी र ह्युमेन इरर क्षम्य हुन्छन् । माओवादीको गिर्दो साख उठाउन पनि नारायणकाजी रिक्स जोनमा पुगेका हुन सक्छन् । रिक्स जोनबाट कम्फर्ट जोनमा फर्कन मुश्किल होला । तर, खलमा टाउको राखिसकेपछि मर्न डराउने कुरा सोच्न सकिन्न । 

२०७४ मा प्रतिनिधि सभाको चुनावमा पराजित मान्छे, राष्ट्रिय सभामा जाने लोभको कारण माओवादी नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफ्नो करियरमा क्षति पुगेको छ । त्यो क्षति पुर्ताल गर्नको लागि पनि नारायणकाजीले आफूलाई देशको निम्ति काम गर्ने मान्छे र भोलि पनि देशको नेतृत्व गर्न अपरिहार्य व्यक्ति बन्नेछु भन्ने प्रमाणित गर्नु छ । यसर्थ, म नारायणकाजीको कदमलाई साहसिक भन्छु ।

निर्दोष नफसुन्, दोषी नउम्किउन्  । सुन तस्करीमा माओवादी नेता नै भए पनि छोडिन्न् । नेताहरूले कोही उम्केको बात खप्नु पर्छ । तर, निर्दोषले सजाय पाएको विषयमा गम्भीर हुनुपर्छ । अपराधी आज भाग्यो भने भोलि समात्न सकिने सम्भावना रहन्छ । तर निर्दोषलाई दोषी करार गरियो भने त्यो क्षतिपूर्ति कहिल्यै गर्न सकिन्न । 

मान्छेको आत्मसम्मानमा लागेको चोटको भरण पुरण असम्भव हुन्छ । १००  केजी भनिएको ६० केजी सुनको मामलामा माओवादीका केही नेताहरूको नाम जोडिएर आएको छ । गौर हत्या काण्डको छानबिनको कुरा आएको छ । गलत भए मै सजायको भागी बन्न तयार छु भन्ने प्रधानमन्त्रीको भनाइको परीक्षण क्रमशः हुनेछ । 

नारायणकाजी श्रेष्ठ कति पानी मुनि र कति पानी माथि छन्, त्यसको उजागर समयले गर्छ । नारायणकाजीको ठाउँमा कुनै रास्वपाको नेता र एमालेको नेता हुन्थे भने अहिले उनले गरेका कामको प्रचारप्रसार असामान्य ढङ्गले गरिन्थ्यो । तर, नारायणकाजी र नेकपा माओवादीको मिडिया मेकानिजम एकदम फितलो छ, जसको कारण गृहमन्त्रीको कामको यथोचित प्रचार भएको पाइन्न्न । 

लोडसेडिङ अन्त्यको नेतृत्व गर्ने माओवादी त्यसको जस कर्मचारी कुलमानको थाप्लोमा राखिदिन पुगेबाट थाहा हुन्छ, माओवादीको मिडिया मेकानिजमको हालत । त्यसै भएर गणतन्त्र स्थापनाको एक्लो श्रेय लिने पार्टी आज दृष्य बाहिर छ । समावेशी र समानुपातिक नाराको उठान गर्ने पार्टी आज त्यो नारा अर्कैलाई बोलाएर आदिवासी, दलित, सीमान्तकृत जनताको शुभेच्छा सोचेजति पाउन सकेको छैन । 

अहिले नारायणकाजीले जे गरेका छन्, त्यो साहसिक उदाहरणीय र ऐतिहासिक काम गरेका छन् । तेरो मेरो नभनिकन अपराधबाट उन्मुक्ति र छुटकारा कसैलाई नदिने नीति अवलम्बन गरी रहे, गृहमन्त्रीको रूपमा । गृहमन्त्रीको हैसियतले गर्न मिल्ने जति काम गर्दै गए । जतिन्जेल टिके पनि नारायणकाजी धन्यवादको पात्र बन्ने छन् ।

दिनको पचास हजार सुराकी खर्च कटौती गरेर आर्थिक दुरुपयोग रोक्ने योजनाका साथ काम गरेका नारायणकाजीलाई एउटा सल्लाह छ । राम्रो काम आफैमा विज्ञापन हो, जुन ढिलो चाँडो पुरस्कृत बन्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप