आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सडक सञ्जाल

पहिरोको जोखिममा हेटौँडा–काठमाडौँ जोड्ने मार्गहरू

आइतबार, ०३ भदौ २०८०, ०७ : ४३
आइतबार, ०३ भदौ २०८०

मकवानपुर । हेटौँडालाई काठमाडौँसम्म जोड्ने मार्गहरू पहिरोको उच्च जोखिममा रहेका छन् । विशेष गरी हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको मार्गहरू पहिरोको उच्च जोखिममा रहेका छन् भने सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदै आएको छ ।

हेटौँडाबाट काठमाडौँ जोड्ने मुख्य ३ मार्गहरूमा पहिरोको उच्च जोखिम रहेको छ । हेटौँडा कुलेखानी फाखेल, हेटौँडा कुलेखानी सिस्नेरी छैमले र कान्ति लोकपथ अन्तर्गतको हेटौँडा ठिंगन सातदोबाटो सडक पहिरोको उच्च जोखिममा रहेको छ ।

मनसुन सक्रिय बने पश्चात् सो सडकहरूमा पटक पटक पहिरो खसेर यातायात सेवा अवरुद्ध हुने गरेको छ । प्रहरीका अनुसार पहिरोका कारण पछिल्लो साउन महिनाको २७ दिनमा मात्र भैँसे भीमफेदी कुलेखानी सडक ३ पटक बन्द भएको छ भने कुलेखानी सिस्नेरी छैमले सडक २ पटक त्रिभुवन राजपथ ३ पटक र कान्ति लोकपथ १८ पटक बन्द भएको छ । सो सडकमा खसका सामान्य प्रकृतिका पहिरोलाई प्रहरीले तथ्याङ्कमा उल्लेख गरिएको छैन ।

हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा कुलेखानी फाखेल, हेटौँडा कुलेखानी सिस्नेरी छैमले सडकमा मकवानपुर तर्फको खण्डमा बढी मात्रामा पहिरो खस्ने गरेको छ । काठमाडौँ तर्फ भने अत्यन्त न्यून दरमा पहिरो खस्ने गरेको छ । सो सडक खण्डको इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकामा बढी पहिरो खस्ने गरेको छ । उक्त सडकहरू विगत २ वर्षदेखि स्तरोन्नति कार्य भइरहेको र सो कार्यका लागि पहरा कटान लगायतका काम गरिएकाले बारम्बार पहिरो खस्ने गरेको छ । 

pahiro1

विगत २ वर्षदेखि कुलेखानी सिस्नेरी सडकको २ खण्डमा स्तरोन्नति कार्य भइरहेको छ । स्तरोन्नतिका लागि सडकको भित्ता कटान गरी सडक फराकिलो बनाउँदा सो सडकमा पहिरो खस्ने गरेको छ । कुलेखानी फाखेल सडक पनि गत एक वर्षदेखि स्तरोन्नतिका चरणमा रहेको छ भने भैँसे भिमफेदी खण्डको स्तरोन्नति कार्य २ वर्षदेखि जारी छ । सो खण्डमा बढी मात्रामा पहिरो खस्ने गरेको छ ।

सो सडकमा खसेको पहिरोका कारण साउन महिनामा मात्र एक जनाको मृत्यु भएको छ भने २ घर पुरिएको छ । सडकमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुनुको साथै यात्रा कष्टकर बन्ने गरेको छ ।

यता पुरानो सडक खण्ड त्रिभुवन राजपथमा पनि पहिरोले सडक अवरुद्ध गर्ने गरेको छ । सो सडक खण्डको भीमफेदी गाउँपालिका–९ मा पहिरो खस्ने गरेको छ । सो सडकको केही स्थानमा ढंगाहरु खसेर सडक बन्द हुने गरेको छ ।

उता कान्ति लोकपथ भने सबैभन्दा बढी पहिरो खस्ने गरेको छ । सो सडकको मकवानपुर खण्ड भन्दा ललितपुर खण्डमा बढी पहिरो खस्ने गरेको छ । करिब ९४ किलोमिटर लम्बाइको उक्त सडकमा ललितपुरको बागमती गाउँपालिका खण्डमा बढी पहिरो खस्ने गरेको छ भने मकवानपुर तर्फ पनि केही स्थानमा पहिरो खस्ने गरेको छ । साउन महिनामा मात्रा सो सडकमा खसेको पहिरोमध्ये मकवानपुर तर्फ ३ र ललितपुर तर्फ १५ पटक पहिरो खसेको छ । सो सडक खण्डमा खसेको उक्त पहिरोका कारण ४ घण्टासम्म यातायात सेवा अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका इन्चार्ज एवम् वरिष्ठ प्रहरी नायव निरीक्षक माधव सिलवालले बताए ।

पहिरोका कारण एकको मृत्यु, २ घर पुरिए, यात्रा कष्टकर

सो सडकमा खसेको पहिरोका कारण साउन महिनामा मात्र एक जनाको मृत्यु भएको छ भने २ घर पुरिएको छ । सडकमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध हुनुको साथै यात्रा कष्टकर बन्ने गरेको छ ।

गत साउन २७ गते शनिबार मात्र पहिरोका कारण त्रिभुवन राजपथ अन्तर्गत पर्ने भैँसेमा २ घर पुरिएको थियो । उक्त दिन बिहान देखिको परेको अविरल वर्षाका कारण पहिरो खस्दा सो सडक अन्तर्गतको भीमफेदी गाउँपालिका–२ भैँसेमा सडक किनारमा रहेको २ वटा घर पहिरोमा पुरिएको थियो । भैँसे बजार नजिक पहिरो खस्दा स्थानीय रामकृष्ण देउलाको कच्ची घरमा सडक माथिबाट पहिरो खस्दा घर पुरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नाउव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोले घर पुरिनुको साथै त्रिभुवन राजपथ समेत अवरुद्ध भएको थियो । नेपाली सेनाको सहयोगमा सो सडकको पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको थियो ।

त्यस्तै सोही सडक खण्डको पहिरोमा परि एक जना प्रहरीको निधन भएको छ । सुख्खा पहिरोमा खसेको डुङ्गाले लाग्दा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको थियो । भीमफेदी गाउँपालिका–२ भैँसेमा सुख्खा पहिरोमा खसेको डुङ्गाले लागेर प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको मृत्यु भएको हो । घाइते नेपालीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो । मृतक नेपाली जाजरकोट जिल्लाको शिवालय नगरपालिका–८ को स्थायी बासिन्दा रहेका थिए ।

pahiro2

साउन २८ गते आइतबार बिहान मात्र कुलेखानी सिस्नेरी सडक खण्डमा पहिरो खसेपछि अवरुद्ध भएको थियो । शनिबार राति देखिको अविरल वर्षाका कारण सो सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ भालुडाँडा स्थित मा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको थियो । लगातार पानी परिरहेकाले अवरोध हटाउन सकिने अवस्था नरहेपछि सोमबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

यता कान्तिलोक पथ अन्तर्गत भट्टेडाँडामा गत साउन ३२ गते बिहीबार पहिरो खस्दा सडक अवरुद्ध हुनुका सार्थ ८ घण्टा यातायात सेवा अवरुद्ध भएको थियो । बिहीबार राति खसेको पहिरो शुक्रबार बिहान मात्र पन्छाएर यातायात सुचारु गरिएको थियो ।

साउन २८ गते आइतबार नै कान्ति लोकपथ अन्तर्गतको २ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सो सडक खण्ड अन्तर्गत ललितपुरको भट्टेडाँडा नजिक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी भट्टेडाँडाका अनुसार सो सडक खण्ड अन्तर्गत पर्ने बागमती गाउँपालिका–३ टाकुर्चे र पाङ्दुर खोलामा पहिरो खसेर २४ घण्टा सडक अवरुद्ध भएको थियो । सो स्थानमा निरन्तर वर्षा हुँदा पहिरो पन्छाउन १६ घण्टा कुर्नुपरेको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।

गत साउन २६ गते बिहीबार मात्रै कान्ति लोकपथको ५ स्थानमा पहिरो खस्दा यातायात सेवा ठप्प भएको थियो । बिहीबार राति खसेको पहिरोका कारण बन्द सडक शुक्रबार बिहान १० बजेबाट सञ्चालनमा आएको थियो । उक्त समयमा सो सडक अन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको छपेली, कोतडाँडा, काल्चे लगायतको ५ स्थानमा पहिरो खसेको थियो ।

pahiro3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप