आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘गरी खान देऊ’ भन्दै काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन (तस्बिरहरु)

‘गरी खान देऊ’ भन्दै काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन (तस्बिरहरु)

आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सडकमा  साइकल, गाडामा व्यापार गर्ने परम्परागत मजदूर तथा उद्यमीलाई वैकल्पिक र सम्मानजनक व्यवस्थापनको माग गर्दै आइतबार विरोध प्रदर्शन भएको छ ।

 शान्तिपूर्ण आन्दोलनको अभियान अन्तर्गत युवाहरुले आज तेस्रो पनि राष्ट्रिय सभा गृह अगाडि ‘गरीबको चमेली’ गीत प्रदर्शन गरेका हुन् ।  विभिन्न ब्यानर र पमप्लेट लिएर युवाहरुले मेयर बालेन शाहको कार्यकक्ष रहेको सभागृह गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । स्वतन्त्र युवाहरुलाई आन्दोलनका क्रममा काठमाडौंका फुटपाथ सडकमा व्यापार गर्नेहरु पनि आएर साथ दिएका थिए ।

सडक मजदूर तथा उद्यमीलाई विस्थापित गर्दै तिनको व्यक्तिगत जीवीकोपार्जनको साधनलाई कबाड बनाई लिलाम गर्ने कार्य संविधान, कानून, र मानवता असंगत भएको अभियन्ताहरुको भनाइ छ । जसका कारण १०,००० भन्दा बढी दैनिक ज्यालादारीमा निर्भर परिवारहरूलाई दुई छाक टार्नै गाह्रो भएको अभियन्ताहरुको भनाइ छ । 

आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले काठमाडौँ महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको बताए । उनले गैरकानूनी रूपमा व्यवसायीहरूले सामान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने बताए । 

मुल्मीले भने, ‘सडक व्यापारलाई कानूनले रोकेको अवस्था छैन । कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाडौँ महानगरपालिकाको ऐनमा नै छ । नगरपालिकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनै पनि ऐन कानुनमा लेखेको छैन । फोहोरमैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुई वटैमा लेखिएको छैन । गैरकानूनी रूपमा उहाँहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानूनी हो । त्यसको विरोध गर्न जो गरिब जनताहरू हुनुहुन्छ, कुनै उपाय, विकल्प नभएर सडकमा ठेला व्यापार चलाउनुभएको छ, त्यस्तोलाई व्यवस्थापन गर्नुपर्छ । कार्यतालिका नै राखेर अनुमति दिने सिस्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरूलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भीर हुनुपर्छ । ’

आजको प्रदर्शनमा गरी खान देऊ, ललितपुरमा गर्न सकिन्छ भने काठमाडौँमा किन सकिँदैन, गरिब होइन गरिबी हटाऊ,लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरु सहभागी भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया