आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेशसभा

उपसभामुख अनुपस्थित भए प्रदेशसभा बैठकको अध्यक्षता कसले गर्छ ?

आइतबार, ०३ भदौ २०८०, १३ : ४०
आइतबार, ०३ भदौ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन् । तर, उनले विश्वासको मत लिने दिन प्रदेशसभाको अध्यक्षता कसले गर्छ भन्ने चासो बढेको छ । 

नेकपा एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवार उक्त दिन गठबन्धनलाई बहुमत पुर्‍याउन नदिन र अध्यक्षता गठबन्धनबाटै हुने परिस्थिति निर्माण गर्न अनुपस्थित हुने आशङ्का गरिएको छ । यद्यपि अहिलेसम्म प्रदेशसभा आफैँले सञ्चालन गर्ने उनले बताउँदै आएकी छिन् । 

सभामुख पद रिक्त रहेको र उपसभामुख अनुपस्थित भएको अवस्थामा प्रदेशसभाको अध्यक्षता अध्यक्ष मण्डलले गर्नुपर्ने छ । कोशी प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन)को नियम ११ मा अध्यक्ष मण्डलका सदस्यको मनोनयन गर्ने सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपनियम (१) मा सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँच जना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछ भन्ने उल्लेख छ । यस्तै उपनियम (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने उल्लेख छ ।

सोही व्यवस्था अनुसार कोशी प्रदेशसभाको अध्यक्ष मण्डलमा उमेरका हिसाबले राप्रपाका अम्बरबहादुर विष्ट, एमालेकी मालती सुब्बा, नेपाली कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना रहेका छन् । उपसभामुख दनुवार अनुपस्थित रहेको अवस्थामा सोही अध्यक्ष मण्डलमध्यबाट एक जनाले प्रदेशसभाको अध्यक्षता गर्ने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । 

koshi pradesh sabha

‘यो विषय सबै कार्यव्यवस्था परामर्श समितिमा राखिन्छ । उपसभामुखको निर्देशनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । उहाँ पक्कै आउनु हुन्छ । अहिलेसम्म म विश्वस्त छु । यदि तपाईंले भनेजस्तो उपसभामुख आउनु भएन भनेपनि कार्यव्यवस्था समितिमा उपस्थित भएकामध्येबाट ज्येष्ठ सदस्यको अध्यक्षतामा कार्यव्यवस्था समितिको बैठक बस्छ होला,’ पराजुलीले भने । उपसभामुखले पनि राजीनामा दिएर पद रिक्त भएको अवस्थामा भने अध्यक्षता गर्ने जिम्मा ज्येष्ठ सदस्यमा जाने उनले बताए ।

प्रदेशसभा सञ्चालनका लागि कार्यव्यवस्था परामर्श समितिले सभामुखलाई परामर्श दिनसक्ने व्यवस्था छ । सोही नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समिति गठन र कामको विषय उल्लेख गरिएको छ । उपनियम (१) मा प्रदेशसभाको बैठकमा पेश हुने विषयहरूको प्राथमिकता तथा समयावधिको निर्धारण लगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा एघार जना सदस्य रहेको एक कार्य व्यवस्था परामर्श समिति गठन गर्न सकिने उल्लेख छ । 

उपनियम (२) मा उपसभामुख र कानुन तथा प्रदेशसभा मामिला मन्त्री समितिका क्रमशः पदेन उपाध्यक्ष र सदस्य हुनेछन् । उपनियम (३) मा उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सभामुखले आफूलाई उपयुक्त लागेको कुनै सदस्यलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्न सक्ने व्यवस्था छ । 

उता, एमालेले भने भोलिको प्रदेशसभा बैठक बस्न नसक्ने अवस्था देखिएको बताएको छ । ‘भोलिको बैठक बस्ने उपर्युक्त वातावरण बनेको छैन,’ दलका उपनेता रामबहादुर रानाले भने, ‘विश्वासको वातावरण बनाउनु भनेर हामीले भनेका छौँ । गठबन्धनबाट त्यो भएको छैन ।’

koshi pradesh sabha 2

उता, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने उपसभामुख आफैँले बोलाएको बैठकमा अनुपस्थित हुने कुनै सम्भावना नरहेको बताए । ‘हामीले ३ गतेका लागि समय माग गरेका थियौँ, उपसभामुख आफैँले ४ गतेका लागि बैठक बोलाउनु भएको हो, आफैँले बोलाएको बैठक नचलाउने, चलाउन नदिने भन्ने कुनै कारण नै हुँदैन,’ कार्कीले भने । 

कोशी प्रदेशमा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद गरी ९३ सांसद छन् । बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा एकातिर हुँदा पनि ४६ र इतर दलका सबै सांसद जोड्दा ४७ सांसद छन् । 

कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठबन्धनले उद्धव थापाको नेतृत्वमा  सरकार बनाएको छ । उक्त सरकारले भदौ १३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने समयमा प्रदेशसभाको सभाध्यक्ष सत्ता गठबन्धनले गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्थामा भने बहुमत (४७) पुर्‍याउन १ सांसद अभाव देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप