रोल्पा चोलावाङमा सेनासँगको भिडन्त
घटना आजभन्दा २१ वर्षअगाडिको हो । गोर्खा, धादिङ, चितवन नवलपरासी, पाल्पा, गुल्मी, प्युठान हुँदै हिँडेर हामी रोल्पाको थवाङ पुग्यौँ । थवाङ जनयुद्धको आधारभूमि, तुफानी केन्द्र थियो । जनयुद्धको समयमा नाम सुन्दा पनि हामी गर्वले छाती चौडा बनाउँथ्याँै । रोल्पा थवाङ जान पाउनुलाई गर्वका रूपमा लिन्थ्यौँ । त्यहाँका जनता अनि पार्टी सङ्गठनका साथीहरूसँग भेटेर भलाकुसारी गर्न पाउँदा हामी आफूलाई भाग्यमानी सम्झन्थ्यौँ ।
हाम्रो टिम २०–२२ दिन जति हिँडेर धादिङबाट रोल्पा पुगेको थियो । रोल्पा पुगेको १५–१६ दिन जति भएको थियो । सदरमुकाम लिवाङबाट शाही सेना गस्ती गर्दै थवाङ आइपुग्न लागेको रहेछ । सरकारी सेना आउने खबरले जनता सातु, रोटी पोका पारेर आफ्ना बालबच्चा बोकेर घरको ढोका बन्द गर्दै उकालो लागिरहेका थिए । हिँड्न नसक्ने बुढाबुढी, असक्त, सुत्केरीबाहेक गाउँ खालि थियो । शाही सेनाहरूको आतङ्क सुनेर, हेरेर थाहा पाउन सकिँदैन थियो । भोग्नेलाई मात्र थाहा हुन्थ्यो ।
हामी थवाङ गाउँ जाँदा कैयौँ घर जलेर भग्नावशेष अवस्थामा थिए । घरका भित्ताहरूमा गोलीका डोबैडोब देखिन्थे । सेनाको यातना नपाएको मान्छे भेट्न मुस्किल थियो । राज्यको आँखामा त्यहाँका घर, गोठ, बाटोघाटो पाटीपौवा सबै माओवादी आतङ्ककारीका थिए ।
कार्यालयबाट वासु स्मृति चौथो बटालियनको सी कम्पनीलाई शाही सेना आउँदै गरेको बाटोमा ब्लकिङका लागि जाने निर्देशन आयो । म सी कम्पनीको सेक्सन सहकमान्डर थिए । त्यो बेलासम्म हाम्रो सी कम्पनी शाही सेनासँग लडेको थिएन । हामी नेपाल प्रहरीसँग मात्र भिडन्त गर्दै आइरहेका थियौँ । शाही सेनाबारे हामीमा छुट्टै खालको बुझाइ थियो । उनीहरूसँग भएका हतियार हामीसँगको भन्दा प्रभावकारी खालका हुन्छन् । उनीहरू शक्तिशाली हामी कमजोर छौँ भन्ने बुझाइ थियो ।
शाही सेना हामी बसेको भूगोलभन्दा करिब तीन घण्टा टाढा थियो । सेना रोल्पामा गस्ती आउँदा चौतर्फी घेराबन्दी गरेर आउने गथ्र्यो । त्यसैले सबै टिमलाई शाही सेना आउन सक्ने सम्भावित नाकाहरूमा तैनाथ गर्ने योजना अनुरूप अर्को टिमहरू बाग्लुङ, रुकुम र प्युठानबाट आउन सक्ने सम्भावित नाका ब्लकिङमा जाने । हाम्रो कम्पनी सेनाहरू आउँदै गरेको थवाङतिर जाने निर्देशनअनुसार फर्मेसन, हतियार मिलायौँ । मेडिकलका साथीहरूले गोली लागेमा प्राथमिक उपचारका लागि चाहिने बेटाडिन, गज, ब्यान्डेज ब्रुफिन, ग्लुकोज, स्लाइनपानी मिलाउनुभयो ।
रोल्पाको गुराँसेबाट हाम्रो टिम अगाडि बढ्यो । स्थानीय पार्टी सङ्गठनका साथीहरूले पकाउनुभएको जौको ढिँडो खाएर शाही सेनाहरू आउँदै गरेको (बाटो) नाकामा सेल्टर लियौ ।
२०५९ भदौ ४ गते बिहानको झिसमस उज्यालो हँुदै थियो । रातिदेखि परेको पानी रोकिएको थिएन । हामी बसेको भन्दा माथिको भूगोल कस्तो छ ? लडाइँका लागि उपयुक्त छ कि छैन ? अध्ययन गर्नका लागि सेक्सनका सबै साथीहरूलाई लिएर उकालो जाँदै गर्दा एक्कासि पट्टट... ड्याङ.. ड्याङ ...डुमडुम गोली र ग्रिनेड पड्केको आवाज आयो ।
वरिपरि जङ्गलले घेरिएको भूगोल केहीबेर हामी अलमलमा पर्यौं । कताबाट फायर आएको हो ? हामी कता जाने ? टिमका साथीहरू कता कता छन् भन्नेबारे हामी अनभिज्ञ थियौँ । पहिलो पटक गएको त्यो पनि राति । केही समय हामी अन्यौल भयौँ ।
गोली पड्केको दिशा पहिल्याउँदै हामी सरकारी सेना आएको भूगोलतिर दौडियौँ । पानीमा भिज्दै अगाडि बड्दा हाम्रो टिमसँग लड्न आएका शाही सेनाहरू ३०० मिटर जति टाढा तलतिर देखियो । दायाँ बायाँबाट टिमका साथीहरू फायर गर्दै आइरहनुभएको रहेछ । शाही सेना रोल्पा थवाङको जलजलाबाट बगेर आउने खोला र चोलावाङबँँट बगेर आउने खोलाको दोभानमा बारीको कान्लामा कभर लिएर बसेका रहेछन् ।
बिहान ५ः१५ बजेबाट सुरु भएको लडाइ दिनभर नै जारी रह्यो । साना साना बुट्यान कतै कतै झाडी भएको भूगोलको दृष्टिकभरमा बसेर हामी फायर गर्दै थियौँ ।
एक पटक शाही सेना र हामीबिचको दूरी जम्मा ५० मिटर जति मात्र भयो । कभर लिँदै हामी एकअर्कामाथि गोली हानिरहेका थियौँ । हामीमाथि उनीहरू तल हाम्रा लागि भूगोल एकदम अनुकूल थियो । हामी पूर्णबहादुर बुढामगर, गोर्खा भुजेल घर भई अहिले चितवन बस्ने अशोक शर्मा भट्ट, बलराम रेग्मीलगायत आठ–दस जना माथिबाट लखेट्दै तलतिर दौडियौँ । शाही सेना र हामीबिचको दूरी अनुमानित २०–३० मिटर मात्र भएको थियो । शाही सेनाहरू भाग्दै थिए ।
हाम्रातर्फ आर्टिलरी (जीपीयमजी, यलयमजी) हतियार जाम भयो । साथीहरूमाथिबाट चिच्याउनुभयो । हाम्रो आर्टीलरी हतियारले काम गरेन भनेको सुन्नेवित्तिकै भाग्दै गरेका शाही सेनाहरू पछाडि फर्केर फायर गर्दै हामी भएतिर दौडिए । हामीले बोकेका हतियार पनि दिनभरीको पानी, हिलोका कारण जाम भएर प्रभावकारी काम भइरहेको थिएन ।
रिट्रिट हुनका लागि पनि उपयुक्त कभर नभएपछि मकैबारीमा लगाइएको स्याउलाको बारको दृष्टि कभर बनाइ पछि हट्यौँ । फर्कने क्रममा फायर एन्ड ब्याक रिट्रिटको तालमेल मिलाउन नसक्दा र टाउको बढी उठाएर दौडेको कारण केही साथीहरू घाइते हुनुभयो । सायद आफ्नो दिन नसकिएकाले होला गोली लाग्नबाट इन्च इन्चले बचेँ ।
रात परेका कारण लडाइँमा के कति क्षति भयो भन्ने कुरा सबै जानकारी पाउन कठिन भयो ।
भोली बिहान अघिल्दो दिन आफू जहाँ जुन भूगोलबाट लडाइँमा अगाडि बढेको हो । त्यहीँ आर्कबाट सर्च गर्दै लडाइँमा छुटिएका घाइते साथीहरू, हातहतियार झोला खोज्न गयौँ ।
चितवन भरतपुर–१९ का लोकप्रसाद भटट् (सरल) तिघ्रामा गोली लागेको कारण हिँड्न नसकी त्यहीँ थलिएर बस्नुभएको रहेछ । गोली लागेर घाइते भएपछि शरीरमा भएको रगत सिध्दिएर अनुहार पहेँलो देखिएको थियो । घाउबाट रगत बगिसकेर पानी बगिरहेको थियो । हिजो बिहानदेखि अन्नपानी मुखमा नपरेका कारण उहाँ बेहोस हुने अवस्थामा हुनुहुन्थ्यो भने कपडामा दिसा लतपतिएको थियो । उहाँको दिसा धोइदिएर पछ्यौरामा बरेर स्ट्रेचरमा बोकी उपचारका लागि मेडिकल भएको स्थानमा लग्याँै ।
गोली लागेर घाइते अवस्थामा शाही सेनाबाट गिरफ्तार गरेर बलात्कार गरी स्तन, गाला अनि शरीरका विभिन्न भागमा टोकेको र गुप्ताङ्ग सङ्गीनले चिरेर छिया छिया पारेको महिला छापामार कमरेडहरूको क्षतविक्षत शारीरिक अवस्था सम्झिँदा अहिले पनि शरीरमा काँडा उम्रिन्छ । हैट कति पनि मानवीयता नभएका रहेछन् शाही सेनाहरू । लडाइँमा घाइते अवस्थामा रहेको ऐया आत्था, पानी भन्दै चित्कार गरिरहेको व्यक्तिलाई बलात्कार गरी सङ्गीनले छिया छिया बनाउन सक्नु साँच्चै ढुङ्गाको मन हुनु पर्छ । दुस्मनको सेना नै भए पनि मान्छेले त्यस्तो नीच अनि घृणित कार्य गर्न सक्दैन । पशुले मात्र गर्न सक्छ ।
हाम्रोतर्फ लम्जुङ भोर्लेटारकी हेमकुमारी थापामगर (अञ्जली), गोर्खाका रामशरण अर्याल (नवीन), पर्वतकी गीता सुनार (सम्झना), रोल्पाका लालमणि रोकामगर, धुते रोकामगर, मनभक्त बुढामगर, आशबहादुर रोकामगर र सल्यानकी अनिता शर्मा (सम्झना) को सहादत भयो । चितवन रत्ननगरका प्रकाश खनाल (शैलेश), कालिका–८ देवीटारकी हिरादेवी थापामगर निमा (हिरादेवी थापा मगरको २०६१ साल कात्तिक ३१ गते लम्जुङ गौडा गाविसको बेतिनी भन्ने स्थानमा शाही नेपाली सेनाले गिरफ्तार गरी हत्या गरेको थियो ।) गोर्खा हर्मी घर भई अहिले चितव
न खैरहनी बस्ने ईश्वर दवाडी (निमेश), रोल्पा चोलावाङ घर भई अहिले चितवन कालिका–३ बस्ने पूर्णबहादुर बुढामगर (सिस्ने) घाइते हुनुभएको थियो ।
उक्त लडाइँमा चार जना शाही सेनाहरूको मृत्यु भयो भने ७ जना घाइते भएका थिए । एसएलआर, याम–१६ लगायतका केही थान हतियार, तिनका गोली र लजेस्टिक सामान कब्जा भएका थिए ।
कालिका–६ चितवन