आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धेरै नेपाली श्रमिक रहेका देशका दूतावासको क्षमता बढाउँदै सरकार

आइतबार, ०३ भदौ २०८०, १६ : ४५
आइतबार, ०३ भदौ २०८०

काठमाडौं । नेपाली राजदूतावासहरूको क्षमता बढाइने भएको छ । बढी नेपाली श्रमिकहरू तथा नेपालीहरू बसोबास गर्दै आएका देशका दूतावासहरूको क्षमता बढाउन लागिएको हो ।

धेरै नेपाली श्रमिकहरू रहेको मुलकका दूतावासको क्षमता निकै कमजोर रहेको भन्दै सरकारले कर्मचारी थप गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले दूतावासहरूमा कर्मचारीको अभावमा नेपालीहरूले सास्ती पाइरहेको बताए । बढी श्रमिक तथा नेपाली रहेको मुलुकका दूतावासमा कर्मचारी थप गरेर सेवा प्रवाहलाई छिटो र छरितो बनाइने उनको भनाई छ ।

यो वर्षभित्रमा त्यो काम गर्ने गरी मन्त्रालय अघि बढिरहेको उनको भनाई छ । ठूल्ठूला दूतावासहरूमा कम्तीमा २० जना सहयोगी राख्ने योजना सरकारको रहेको बताए ।

‘लोकलभाषा बुझ्ने मान्छे छैन । मान्छे मरिसकेको हुन्छ उता दूतावासमा लेखापढी गरेर बसिरहेका हुन्छन् । काम गर्ने मान्छे छैनन् । कम्तीमा २० जना सहयोगी राख्ने भनेका छौँ । त्यो पनि त्यहीको लोकल भाषा बुझ्ने । अरू सुविधाहरू पनि थप गर्छौ । यो वर्षभित्र नै हुन्छन् ।’ मन्त्री भण्डारीले भने ।  

अहिले पनि ठूल्ठूलो मुलुकको दूतावासमा २÷३ जना सहयोगी रहेको भन्दै उनीहरूले काम गर्न नसक्ने बताए ।

विशेषगरी वैदेशिक रोजगारीका लागि गएका नेपाली श्रमिकहरूबाट नेपाली दूतावासले काम नगरेको गुनासो गर्ने गरेका छन् । एउटै काम गर्न महिनौँ कुर्नुपर्ने बाध्यता नेपालीहरूको छ ।

केही समस्या परेर दूतावासमा फोन गर्दा फोन नउठ्ने, उठे पनि राम्रो प्रतिक्रिया नआउने गरेको सेवाग्राहीहरूको गुनासो आउने गरेको छ । उक्त समस्याको पछाडि जनशक्तिको अभाव रहेको भन्दै सरकारले कर्मचारी थप गर्ने योजना अघि सारेको मन्त्री भण्डारीले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप