आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीको तीन महिने अभियान : ‘बेस्ट अफ द कमरेड’ पुरस्कार दिइने

प्रत्येक वडामा वैदेशिक रोजगारी समन्वय केन्द्र बनाइने
आइतबार, ०३ भदौ २०८०, १८ : ०२
आइतबार, ०३ भदौ २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले तीन महिना अभियानका कामबारे तल्लो तहमा परिपत्र पठाएको छ । 

प्रदेश कमिटीको तर्फबाट अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले पठाएको परिपत्रमा संगठनात्मक अभियान अन्तर्गत ७, जनभेटघाट तथा श्रम अभियानअन्तर्गत ५ र प्रचार प्रसारका ४ काम गर्न निर्देशन दिइएको छ । 

जसमा प्रत्येक वडामा वैदेशिक रोजगारी समन्वय केन्द्र बनाएर वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्पर्क राख्ने र उनीहरुको समस्या समाधान गर्न पहल गर्ने, १५ देखि २० वर्ष उमेर समूहका युवाहरुलाई आकर्षित गर्ने, पार्टीका समर्थकका छोराछोरीलाई पार्टीमा आबद्ध गराउने, पार्टी, जनवर्गीय संगठनका नेता र कार्यकर्ताहरुलाई वार्षिक पुरस्कार स्वरुप बेस्ट अफ द कमरेड र दण्ड सम्बन्धी नीति अपनाउने उल्लेख छ  ।

यस्तै पालिकाका हरके वडामा १÷१ वटा ५ घण्टाको मार्क्सवादी कक्षा संचालन गर्ने पनि उल्लेख छ । यस्तै माओवादीले सहिदहरुको समाधिस्थल, जनयुद्ध र सहिदहरुको नाममा निर्मित पार्क, सहित स्तम्भ, गेट, चौतारा आदिको संरक्षण गर्ने र पार्टीको झण्डा गाड्ने अभियान संचालन गर्ने पनि परिपत्रमा उल्लेख छ । 

माओवादीले सार्वजनिक स्थलहरु बाटो, विद्यालय, सामुदायिक भवन, मठमन्दिरहरुमा श्रम सहभागिता जुटाउने, सार्वजनिक काम, विकास निर्माण र जनताको दैनिक समस्या समाधान गर्न अगुवाइ गर्ने पनि भएको छ । यस्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षमा र भ्रष्टाचार विरोधी अभियानसहित राम्रा कामको प्रचार गर्ने, विपक्षीले गरेका सामाजिक संजालका पोष्टहरुमा प्रतिवाद गर्ने उल्लेख छ ।

माओवादी केन्द्र प्रदेश कमिटीले प्रदेश इन्चार्जको नेतृत्वमा केन्द्रीय सदस्यको अनुगमन गर्ने र प्रदेश अध्यक्षको नेतृत्वमा प्रदेश सदस्य र वडास्तरीय अभियानको अनुगमन गर्ने पनि जनाएको छ । यस्तै माओवादीको तीन महिने अभियानको क्रममा वडा समितिको कार्यअवधि २ वर्षमा पुरा हुने भएकोले मंसिर १ गतेदेखि १५ गतेसम्ममा सबै वडा समितिको सम्मेलन गर्ने निर्णय पनि गरेको छ । सो अवधिसम्ममा ७५ प्रतिशत सदस्यता नवीकरण सम्पन्न गर्ने, ५० प्रतिशत नयाँ सदस्यता थप वितरण गर्ने परिपत्र गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप