आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी गरियो : पुन

सोमबार, ०४ भदौ २०८०, १३ : ४९
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । पार्टी सम्बद्ध पेसागत जिल्ला समिति बैठकलाई सोमबार सम्बोधन गर्दै पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि अकारण हमला भइरहेको बताएका हुन् । 

‘राम्रो काम गर्दा हाम्रो अध्यक्षले नेतृत्व गर्नुभएको सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ’, पुनले भने, ‘हामी सबै घेराहरू तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ ।’  सरकार जनताको साथ लिएर सबै खाले घेराबन्दी तोड्दै लक्ष्यमा अघि बढ्ने उनको भनाइ थियो ।

उनले सरकारले पछिल्लो समय असल नियतका साथ अघि बढाएका लोकप्रिय काम नरोक्ने पनि उल्लेख गरे । वर्तमान सरकारले गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको पुनले बताए । नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उनले चर्चा गरे । सरकारको राम्रो कामको समर्थन गर्नुको साटो प्रतिपक्षी दल र कतिपय अवस्थामा सत्ता सहयात्री दलबाटै घेराबन्दी र अप्ठेरोमा पार्ने प्रयास भएको उनको भनाइ थियो ।

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसहरूमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको भन्दै पुनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भएको औँल्याए । आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य समाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट विमुख नहुने उल्लेख गरे । 

पुनले केन्द्रीय समितिको निर्णयअनुसार सुरु ‘घरघरभा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौँ उपत्यकामा रक्तदान, वृक्षारोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए । यस्तै राणा शासनविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाका लागि भएको २०४६ को जनआन्दोलन तथा माओवादी जनयुद्धका शहीद परिवार, घाइते तथा ती आन्दोलनमा योगदान गर्ने योद्धाहरूलाई सम्मान र राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई अभिनन्दन गरिने जानकारी दिए । पुन माओवादीको उपत्यका विशेष प्रदेश समितिका इन्चार्जसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप