एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भयो : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा(एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको बताएका छन् ।
दुई दिनसम्म चलेको एकीकृत समाजवादीको पोलिटब्युरो बैठकको सोमबार समापन मन्तव्य राख्दै अध्यक्ष नेपालले तत्कालीन एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन् । उनले आफूहरुले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण सुनाए ।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले विद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरुमाथि दमन र अत्याचार हुने पनि बताए । त्यस्तै उनले आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्नेमा जोड दिएको प्रवक्ता खतिवडाले जानकारी दिए । नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गरेका थिए ।
बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेका थिए । भोलिदेखि चल्ने पार्टीको केन्द्रीय कमिटीको बैठकको पूर्वतयारीका रुपमा पोलिटब्युरो बैठकमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।