आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले अधिवेशन

एमाले लुम्बिनी प्रदेश अधिवेशन : अध्यक्षमा को–को आकांक्षी ?

मङ्गलबार, ०५ भदौ २०८०, ०६ : २७
मङ्गलबार, ०५ भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवल–१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ । अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु पनि आफ्नो पक्षमा लबिङ गर्न थालेका छन् ।

अहिले प्रदेश समितिलाई केन्द्रले धेरै अधिकार दिएकाले एमालेका नेताहरू प्रदेश समितिमा जान होडबाजी गरिरहेका छन् । खासगरी लुम्बिनी प्रदेश अध्यक्षमा आउन चाहने नेताले भित्री रूपमा लबिङ गरिरहेका छन् ।

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।

विगतमा प्रदेशको नेतृत्व धेरैको चासोमा नपरे पनि पछिल्लो पटक प्रदेश अध्यक्षलाई पोलिटब्युरो तहको मान्यता दिने पार्टीको निर्णयपछि यसअघि केन्द्रीय कमिटीमा पुगेका नेताहरूले समेत प्रदेश नेतृत्वका लागि लबिङ गरेका हुन् ।

प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ । त्यसका लागि निम्तो दिन प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टिम काठमाडौँ पुगेको छ ।

अध्यक्षमा को को आकांक्षी ?

लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेशका १०९ वटा स्थानीय तहबाट प्रति एक सय पार्टी सस्दस्यवाट एक जना प्रतिनिधि आउने व्यवस्था छ । दलितको हकमा भने विधानले ७५ जना पार्टीका सदस्य बराबर एक जना प्रतिनिधि तोकेको छ ।

प्रतिनिधि छनौटको काम भदौ ९ गते एकै दिनमा सम्पन्न हुने एमाले पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले रातोपाटीलाई बताए ।

१२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ । अहिले प्रदेश कमिटीमा ६ सयभन्दा बढी सदस्य रहेकाले पनि अबको कमिटी २५० मा झार्नुपर्ने छ । त्यसका लागि झन् नेतृत्वलाई सकस रहेको एमालेका नेताहरु बताउँछन् ।

हालका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य तथा प्रदेशका पूर्व मन्त्री हरि रिजाल अध्यक्ष पदका लागि मुख्य आकांक्षीका रुपमा देखिएको एमालेका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले रातोपाटीलाई बताए ।

पार्टीका प्रदेश सचिव लक्ष्मण आचार्य, केन्द्रीय सदस्यहरू लक्ष्मण ज्ञवाली र भीम केसीले पनि नेतृत्वका लागि आकांक्षा राखेर आफू निकटका नेताहरूसँग छलफल अगाडि बढाएको चर्चा एमाले कार्यकर्ताहरूबिच चलिरहेको छ ।

प्रदेश सचिव आचार्यले अध्यक्ष पदका लागि आफूले पनि चाहना गरेको तर कसरी जाने भन्नेबारे अझै नटुङ्गिएको रातोपाटीलाई बताए । उनले भने, ‘पहिला प्रतिनिधि छनौट गरौँ, त्यसपछि बल्ल घोषणा गरौंला, सबैसँग सल्लाह गरेर अगाडि जाने हो ।’

अहिले नै नेतृत्वको दाबीसहित खुलेर बोल्दा भदौ ९ गते प्रनिनिधि छनौटमै नपर्ने त्रास रहेका कारण केही नेताहरू अध्यक्ष बन्ने होडमा रहे पनि अहिले नखुलेको कार्यकर्ताहरूको बुझाइ छ ।

पूर्व मन्त्री एवं केन्द्रीय सदस्य हरि रिजालले अहिले विधानले अध्यक्षलाई स्वतः पोलिटब्युरो सदस्य मान्ने भएकाले केन्द्रीय सदस्य भइसकेकाहरु पनि प्रदेश अध्यक्ष बन्ने र अगाडि जाने कि भन्ने परिस्थिति बनेको बताए । उनले आफूलाई केन्द्रीय कमिटीका साथीहरूको साथ र कार्यकर्ताले हौसला दिएमा अध्यक्षमा उठ्न तयार रहेको बताए ।

उनले भने, ‘मेरो चाहना त हो तर साथीहरूको सल्लाहमा अगाडि बढ्ने भएकाले अझै टुङ्गोमा पुगिएको छैन ।’

यस्तै वर्तमान उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ पनि अध्यक्ष हुन चाहनेको सूचीमा छन् तर केन्द्रले जिल्ला र प्रदेशको अध्यक्ष तथा सचिवमा जनप्रतिनिधिलाई रोक लगाएका कारण उनी प्रदेश अध्यक्षको दौडमा सामेल हुन पाउने छैनन् । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुन् ।

अहिले नै नेतृत्वको दाबीसहित खुलेर बोल्दा भदौ ९ गते प्रनिनिधि छनौटमै नपर्ने त्रास रहेका कारण केही नेताहरू अध्यक्ष बन्ने होडमा रहे पनि अहिले नखुलेको कार्यकर्ताहरूको बुझाइ छ ।

अहिले पार्टी सचिव तथा प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकी पद्मा अर्यालको आइतबार बुटवलमा ‘सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने, नभए लोकतान्त्रिक विधिबाट चयन हुने’ बताएपछि एमालेको अधिवेशनलाई थप चासोका साथ हेरिएको छ । 

लुम्बिनी प्रदेशमा पार्टी बलियो रहेका हिसाबले पनि यहाँको नेतृत्वका लागि नेताहरूको चासो बढेको हो । मंसिर ४ को निर्वाचनमा एमालेविरुद्ध बलियो गठबन्धन हुँदा पनि संघीय तथा प्रदेशमा एमाले पहिलो दल बनेकाले नेतृत्वको ध्यान खिचेको छ  ।

लुम्बिनीबाट पार्टी पदाधिकारीमा रहेका नेताहरूमा उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मासहित पोलिटब्युरो सदस्यहरू लीला गिरी, खिमलाल भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू आफू निकटका नेतालाई नेतृत्वमा ल्याउन भित्रभित्रै कसरत गरिरहेका छन् ।

अहिले पार्टी सचिव तथा प्रदेश इन्चार्जको जिम्मेवारीमा रहेकी पद्मा अर्यालको आइतबार बुटवलमा ‘सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने, नभए लोकतान्त्रिक विधिबाट चयन हुने’ बताएपछि एमालेको अधिवेशनलाई थप चासोका साथ हेरिएको छ । 

एमाले पोलिटब्युरो सदस्य तथा पूर्व प्रदेश अध्यक्ष लीला गिरीले ठुलो पार्टीमा नेतृत्वका लागि आकांक्षा राख्नु स्वाभाविक भएको बताउँदै प्रतिनिधि छनौटपछि आकांक्षीहरूका बिचमा बसेर नेतृत्वको विषय अगाडि बढाइने बताए । 

uml-lumbini

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप