आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्छ : सोविता गौतम

मङ्गलबार, ०५ भदौ २०८०, ०६ : ५३
मङ्गलबार, ०५ भदौ २०८०

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्ने बताएकी छन् । गैर आवासीय नेपाली सङ्घ युकेद्वारा आयोजित  शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

निजी भ्रमणमा हाल बेलायत रहेकी गौतमले एनआरएनहरूले आफ्नो मातृभूमिप्रति गरेको योगदान आफूले नबिर्सेको बताइन् । उनले एनआरएनहरूलाई नेपाल फर्कन मात्रै हैन नेपालमै बस्ने सहज वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिइन् । आफूहरू युवा पुस्ताको रूपमा नेपालको राजनीति सम्हाल्न तयार भएको बताउँदै एनआरएनएमा पनि युवा पुस्ताको उदय हुनुपर्ने उनले बताइन् ।

उनले एनआरएन नागरिकता, सम्पत्ति सुरक्षा लगायत भूतपूर्व गोर्खाको हक अधिकारको लागि व्यक्तिगत र पार्टीको तर्फबाट पनि पूर्ण सहयोग हुने बताइन्। विश्वभरमा रहेका नेपालीहरूको मुद्दालाई नेपाल सरकारसमक्ष पुर्‍याएर एनआरएनएले कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मातृभूमिसंगको सम्बन्धमा पुलको रूपमा काम गर्न उनले जोड दिइन् ।

सम्पूर्ण सङ्घसंस्थाहरू मिलेर आफ्ना छोराछोरीहरूलाई सहभागी गराई नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउन आग्रह गरिन् । पछिल्लो समयमा उठेका विभिन्न मुद्दाका कारण नेपाल सरकारले बिर्सन खोजेको हो कि भनेर चिन्तित नहुन र धैर्य गर्न उनले आग्रह गरिन् । विदेशमा बस्ने नेपालीहरूलाई संधैभरी नेपालसँग जोडी राख्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि देखिएका बाधा अड्चनहरू फुकाउन आफूहरू लागिपर्ने आश्वासन दिइन् ।

‘विदेशमा बस्ने नेपालीलाई मात्र नेपाल चाहिने नभई नेपाललाई पनि विदेशमा बस्ने नेपालीहरू चाहिन्छ’ उनले भनिन् । विगतको स्मरण गर्दै उनले भनिन् ‘मैले केहि समय अगाडि खुल्ला मञ्चमा भनेको थिएँ, विदेशमा बस्ने नेपालीलाई नेपाल फर्काउने मात्र हैन उनीहरुलाई सहज वातावरण पनि बनाउनुपर्छ ।' हिजोमात्र हैन आज पनि आफ्नो सोही धारणा रहेको उनले बताइन् । पार्टी, धर्म, रङ्ग र जातको बहानामा अल्झिएर होइन एक नेपालीको रूपमा अघि बढ्न उनले सुझाव दिइन् ।

भूतपूर्व गोर्खा मुद्दाको प्रसङ्ग कोट्याउँदै उनले भनिन्, ‘म नेपाल पुगेर गोर्खाहरूको मुद्दाबारे मेरो पार्टीका अरू नेताहरूसँग पनि छलफल गर्नेछु र आवश्यक सहजीकरण गर्नेछु ।’ नेपाली भन्दा पनि गोर्खालीको रूपमा संसारभर नै परिचय बनाएका गोर्खाहरूको मुद्दा किन ओझेलमा परेको हो यसबारेमा आवाज उठाउने गौतमले बताइन् । पार्टीको नाताले नभई एक सङ्घीय संसद्को हैसियतले आवाज उठाउने उनले बताइन् । गोर्खाहरूको मुद्दा राष्ट्रिय समस्या भएकाले यसको समाधानको पहल राज्यस्तरबाटै हुनुपर्ने उनको भनाइ थियो।

आफू नेपाल फर्किएपछि विदेशमा बस्ने नेपालीहरूको विषयमा आवश्यक छलफल र पहल गर्ने आश्वासन गौतमले दिइन् । निजी भ्रमणमा बेलायत आए पनि उनी बेलायतस्थित विभिन्न नेपाली संघसंस्थासंग भेटघाट तथा अन्तरक्रियामा व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप