आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप

कप्तान रोहित पौडेल भन्छन्–क्रिकेट अनिश्चितताको खेल हो, नतिजा जे पनि आउन सक्छ

मङ्गलबार, ०५ भदौ २०८०, १४ : ३६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाली टोली एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गर्नेछ । एसिया कपको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ ।

प्रतियोगिताको अन्तिम तयारीमा रहेको नेपाली टोलीका कप्तान रोहित पौडेल एसिया कपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने दाबी बताउँछन् । बलिया टेस्ट राष्ट्रहरुको सहभागिता रहने भएकाले एसिया कपका लागि नेपाली टोलीले राम्रो तयारी गरेको उनको दाबी छ । 

‘एसिया कप हाम्रो लागि निकै महत्वपूर्ण प्रतियोगिता हो । यो प्रतियोगिताका लागि हामीले निकै मेहनत गरेका छौँ । पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएकाले पनि हामीलाई फाइदा पुगेको छ,’ कप्तान पौडेलले रातोपाटीसँगको कुराकानीमा भने । 

खासगरी आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता र एसीसी इमर्जिङ टिम्स एसिया कपमार्फत नेपाली खेलाडीले अनुभव बटुल्ने गतिलो अवसर पाएको उनी बताउँछन् । गत जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा आयोजना भएको एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले बलियो टोलीहरुसँग खेल्ने अवसर पाएको थियो । 

nepali-cricket (1)

यसैगरी जुलाई १३ देखि २३ तारिखसम्म श्रीलंकामा आयोजना भएको इमर्जिङ टिम्स एसिया कपमा पनि नेपाली खेलाडीले आफ्नो प्रदर्शन तिखार्ने अवसर पाएका थिए । पाकिस्तान प्रस्थान गर्नुअघि अन्तिम समयमा मौसमका कारण अभ्यास प्रभावित भए पनि समग्रमा नेपाली टोलीको तयारी राम्रो रहेको कप्तान पौडेलले बताए । 

‘सबैभन्दा राम्रो पक्ष भनेको यसपटक हाम्रो टोली सन्तुलित छ । ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार आएको छ । बलिया टोलीहरुसँग खेल्नुपर्ने भएकाले हामी सबै खेलाडीको मनोबल पनि उच्च छ । समग्रमा हामीले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छौँ,’ उनी भन्छन् । 

नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगितामा एसियाका टेस्ट खेल्ने मान्यता पाएका राष्ट्रहरुसहित ६ टोलीको सहभागिता जनाउने छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा दुई बलिया राष्ट्र भारत र पाकिस्तान पनि छन् । 

भारत र पाकिस्तान दुबै एकदिवसीय विश्वकपको पूर्वविजेता राष्ट्र हुन् । यसपटक ५० ओभरमा खेलाइने एसिया कपका लागि टेस्ट राष्ट्रहरुले पनि आफ्नो सिनियर टोलीलाई नै पठाएको छ । ‘प्रतिद्वन्द्वी जति बलियो भए पनि हामीले आफ्नो खेल खेल्ने हो । प्रतियोगितामा हामी बेष्ट क्रिकेट खेल्नेछौं । यसमा हामी विश्वस्त छौँ । एसिया कपको मैदानमा विश्वले हाम्रो खेललाई नियाली रहेको हुनेछ भन्ने कुरा हामीले राम्ररी बुझेका छौँ,’ कप्तान पौडेल भन्छन् । 

nepali-cricket (2)

क्रिकेट अनिश्चितताको खेल भएकाले नतिजा जे पनि आउन सक्ने उनको बुझाई छ । ‘पक्कै पनि हामी पहिलो पटक एसिया कप खेल्दैछौं । हाम्रा प्रतिद्वन्द्वीहरु पनि बलिया छन् । तर, क्रिकेट अनिश्चितताको खेल हो भन्ने कुरा हामीले भुल्नु हुँदैन,’ कप्तान पौडेल भन्छन्, ‘प्रतिद्वन्द्वी जतिसुकै बलियो भए पनि निश्चित खेलमा जसले उत्कृष्ट प्रदर्शन गर्न सक्छ खेल त्यसैले जित्ने हो । त्यसैले हाम्रो ध्यान प्रतिद्वन्द्वीभन्दा पनि आफ्नो उत्कृष्ट प्रदर्शनमै केन्द्रित रहने छ ।’ 

पछिल्लो समय नेपालको ब्याटिङमा पनि सुधार आएको उनको दाबी छ । ‘एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा हामीले राम्रो ब्याटिङ गरेका थियौं । जिम्बाबेविरुद्घ पनि दुई सय ९० रन बनाएका थियौं । पछिल्लो समय हाम्रो ब्याटिङमा सुधार आएको छ । लगातार अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्ने अवसर पाएकाले ब्याट्सम्यानहरु जस्तोसुकै दबाबमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम छन्,’ उनी भन्छन् । 

nepali-cricket (4)

नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपका लागि रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन् । 

आगामी एसिया कपको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान परेका छन् । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र आयोजक पाकिस्तानबीच खेलिने छ । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिने छ । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । उक्त खेल श्रीलंकाको केन्डीमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप