आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चन्द्रमामा सफ्ट ल्यान्डिङमा रुसको विफलता चीनका लागि झट्का ?

बुधबार, ०६ भदौ २०८०, १६ : ३५
बुधबार, ०६ भदौ २०८०

रुस र चीनले सन् २०३० सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा स्टेसन बनाउने योजना बनाएका थिए । यस्तोमा प्रश्न के उठ्छ भने लुना–२५ दुर्घटनाग्रस्त भएपछि यी दुई देशले अब सँगै काम गरिराख्लान् ?

यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले दिएका छन् । उनले भनेका छन्, ‘इन्टरनेशनल लुनर रिसर्च स्टेसन (आइएलआरएस) सबै इच्छुक पक्षका लागि खुला थियो । चीन सधैँ अन्तर्राष्ट्रिय सहयोगमा जोड दिँदै आएको छ ।’

ब्लुमबर्गको रिपोर्ट अनुसार लुना–२५ दुर्घटनाग्रस्त हुनु चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि लज्जास्पद स्थिति हो । 

चीनको अन्तरिक्ष कार्यक्रमसँग सम्बन्धित वरिष्ठ व्यक्तित्व तथा चीफ डिजाइनर वु यान्हुआ रुस गएका थिए । उनी लुना २५ को प्रक्षेपणमा भाग लिन र दुई देशबीच जारी अन्तरिक्ष कार्यक्रमसँग सम्बन्धित सम्झौताबारे कुरा गर्न त्यहाँ पुगेका थिए । 

यस्तो अवस्थामा लुना–२५ दुर्घटनाग्रस्त भएपछि चीनमा पनि यसबारे खासै कुरा गरिएको छैन । 

ग्लोबल टाइम्सका पूर्व सम्पादक हु शिन्जिनले यो एउटा विफलताका कारण रुसलाई कम ठान्न नहुने बताए ।

यता स्पेस पोलिसीसँग सम्बन्धित पेवल लुजिनले ब्लुमबर्गसँगको कुराकानीमा चीनले अब रुसलाई सहयोग नगर्ने बताए । उनले भने, ‘चीनले रुसलाई सहयोग गर्नेछैन किनभने यस्तो गरेर चीनले केही पाउँदैन ।’

चन्द्रयान–३ मार्फत चन्द्रमाको दक्षिण ध्रुवमा भारत पुग्यो भने यसले चीनलाई झट्का नै दिनेछ । रुसको लुना–२५ ले यस्तो गर्न सकेको भए यो चीनका लागि राम्रो अवस्था हुने थियो ।

चीन र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । 

अन्तरिक्ष विज्ञले रुस र चीनबीच अन्तरिक्ष कार्यक्रमलाई लिएर धेरै दूरी हुने सम्भावना पनि कम रहेको बताएका छन् ।

यसको एउटा कारण यो हो कि चेतावनी प्रणालीसँग सम्बन्धित स्याटलाइट बनाउन चीनले रुसको सहयोग लिन सक्छ । 

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै अन्तरिक्ष नीति विद्वान नम्रता गोस्वामीले भनिन्, ‘लुना–२५ को असफलताले चीन र रुसको अन्तरिक्ष कार्यक्रमबीचको सम्बन्धलाई असर गर्दैन । यी दुई देशबीच रणनीतिक साझेदारी छ ।

सी जिनपिङले पुटिनलाई आफ्नो ठुलो साझेदार बताएका छन् । लुनर प्रविधिको मामिलामा चीन धेरै अगाडि छ र उसले रुसलाई सहयोग गर्नुपर्नेछ ।’

गोस्वामीले भनिन्, ‘सन् १९६० देखि परिस्थिति बदलिएको छ । त्यति बेला सोभियत सङ्घ हिरो थियो र चीन पछाडि थियो । तर अहिले खेल फेरिएको छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप