आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

रवि लामिछानेले भने–नवयुवराजहरुको नाच निन्दनीय छ

'६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छ'
बुधबार, ०६ भदौ २०८०, १७ : १५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले  बाबु पुस्ताले राजनीतिक परिवर्तनका लागि गरेको त्यागमा छोरा पुस्ताले अनियमितता गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाबु पुस्ताले गरेको आन्दोलनको आवरणमा नवयुवराजहरुको नाच निन्दनीय रहेको उनले बताए ।

‘बाबुआमाले गोलीसँग नडराएर ज्यानको बाजी लगाएर लडेको युद्ध, आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपस्याको बलमा आएका नवयुवराजहरु, उहाँका छोराछोरीहरुको कुन हर्कत र कुन तहको क्रियाकलाप आएको छ हामीले देख्दै आएका छौं’, लामिछानेले भने, ‘नवयुवराज भन्नुपर्ने हुन्छ किनकी यो परिवर्तनमा बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानको जगमा छोराछोरी पुस्ताले गरेको यो नाच सर्वत्र देखिएको छ, यो निन्दनीय छ ।’ 

माओवादी केन्द्रका कतिपय नेताका छोराछोरी विभिन्न अनियमितता प्रकरणमा मुछिएकोतर्फ लक्षित गर्दै लामिछानेले ‘नवयुवराज’हरुमाथि अनुसन्धान हुनेमा आशंका रहेको बताए । ‘यो अनुसन्धान नवयुवराजहरुतिर आयो भने फेरि सरकारले भनेको सुशमसन बालुवाटार जग्गा प्रकरणमा जस्तो, भुटानी शरणार्थी प्रकरणमा जस्तो सुन तस्करी प्रकरणमा जस्तो अड्किने त होइन ? एक ठाउँमा पुगेपछि अर्को कहिँ संकेत हुन थालेपछि अड्किने त होइन ?,’ उनको प्रश्न छ ।

यस्तै उनले आफ्ना ढोकासम्म नआइपुग्दासम्म मात्र सरकारले सुशासनको कुरा गरेको हो भन्दै प्रश्न गरे । ‘सरकारले सुशासनको कुरा ग¥यो । हामीले शंकाको सुविधा दियौं । सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्ना ढोकासम्म नआइपुग्दासम्म सुशासनको कुरा गरेको हो कि ? साच्चिकै सुशासनको कुराकानी गरेका हो ?,’ उनको प्रश्न छ ।

भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले आशंका व्यक्त गरे । ‘भुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरी अधिकारीको सरुवा बढुवा भयो । सुशासनको यो प्रमाण प्राप्त छैन र सरकारलाई शंका गर्नका निम्त ?,’ उनले भने ।

ललिता निवास प्रकरणमा निर्णायकर्तालाई सुनपानी छर्किए जसरी चोख्याइएको लामिछानेको आरोप छ । ‘ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा गएर कागज सबै हेरेका, पैसा दिएर किनेका मानिस र कर्मचारीहरु जहाजको सिटबाट समातेर थुनिए । निर्णायकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र ?,’ उनको प्रश्न छ ।

सुन प्रकरणमा सत्तारुढ दलका नेताको नाम आउँदा सरकार सुस्ताएको लामिछानेले बताए  । ‘के सरकारले दिन खोजेको सुशासन यही हो ? न हामी सुशासनको अपेक्षा गरेर बसेका छौं । विगतमा बनेका छानबिन समितिले के गरे समाजसामु प्रष्ट छ । तर हामी शंकाको लाभ दिन तयार छौं । राज्यका निकायलाई निकम्मा बनाएका छौं । गौडा गौडामा आफ्ना मान्छेलाई भर्ती गरेर बसेका छौं ,’ उनले भने ।

लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताए । सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताए ।

‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ उनले भने, ‘ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु। जसले देशलाई माया गरेर यो सूचना दिएका छन्।’

यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उनले बताएका छन्। ‘यसको समाचार लुकाउनको निमित्त लामो समयदेखि पत्रकारिता गरिरहेका मानिससमेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखहरूको पनि कुराकानी दावा लामासँग भएको कुरा सूचना प्राप्त भएको छ। म यसमा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसद्समक्ष भने।

सिआइबीको अनुसन्धानलाई विश्वास नगर्ने भन्ने कुरै नहुने उनले बताए। तर, सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भन्ने आशंका रहेको उनले बताए। ‘शंका सिआइबीप्रति होइन, हाम्रो संयन्त्रप्रति हो, जसले बारम्बार दोषी उम्काउन भूमिका खेल्दै आएका छन्,’ उनले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप