आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कपमा सर्वाधिक रनको कीर्तिमान : धोनी र सेहवाग होइन, जयसूर्या र सांगाकारा

बिहीबार, ०७ भदौ २०८०, ११ : १४
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको हालसम्म १५ वटा संस्करण सम्पन्न भइसकेको छ । १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । १६ औं संस्करणको मिति नजिकिँदै जाँदा एसिया कपप्रति थुप्रै क्रिकेटप्रेमीको चासो बढ्दै गएको छ । 

यहाँ एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने क्रिकेटरको विषयमा चर्चा गर्न खोजिएको हो । एसिया कपको पहिलो संस्करणमा तीनवटा राष्ट्रले मात्र सहभागिता जनाएका थिए । सन् १९८४ देखि सुरु भएको एसिया कपको पहिलो संस्करणमा भारत, पाकिस्तान र श्रीलंकाले मात्र भाग लिएका थिए ।

त्यसैले एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडी पनि यी तीनवटै राष्ट्रका हुन् । धेरैलाई लाग्न सक्छ एसिया कपमा सर्वाधिक रन बनाउने खेलाडी भारतका महेन्द्रसिंह धोनी, वीरेन्द्र सेहवाग वा विराट कोहली होलान् भनेर । तर, सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो पाँच स्थानमा यी तीनैजना स्टार ब्याट्सम्यानको नाम आउँदैनन् । 

यसैगरी एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सचिन तेन्दुल्करको नाम पनि पहिलो स्थानमा छैन । यद्दपि, महान क्रिकेटर तेन्दुल्कर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा माथिल्लो पाँच स्थानभित्र भने पर्छन् । 

यसका अतिरिक्त पाकिस्तानका इन्जमाम उल हक, युनिस खान र मोहम्मद युसुफ पनि सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा माथिल्लो पाँच स्थानभित्र पर्दैनन् । एसिया कप क्रिकेट सन् २०१६ र सन् २०२२ मा भने टीट्वान्टी ढाँचामा खेलाइएको थियो । त्यसैले यहाँ एसिया कपको एकदिवसीय ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीको विषयमा मात्र चर्चा गरिएको छ ।
००००
सनथ जयसूर्या (श्रीलंका)
आफ्नो समयका आक्रमक श्रीलंकाली ब्याट्सम्यान सनथ जयसूर्या एसिया कप क्रिकेटको एकदिवसीय ढाँचामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनलाई आधुनिक क्रिकेटमा पहिलो आक्रामक ब्याट्सम्यानको रुपमा पनि लिइन्छ ।  जसयूर्याले सन् १९९०–९१ देखि सन् २००८ सम्म एसिया कपको ६ वटा संस्करणमा सहभागिता जनाएका थिए । बायाँहाते ब्याट्सम्यान जयसूर्याले एसिया कप क्रिकेटमा सर्वाधिक एक हजार दुई सय २० रन बनाएका छन् । 

sanath

एसिया कपको इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि जयसूर्या नै हुन् । उनले एसिया कपमा २५ खेल खेलेका छन् । एसिया कपमा उनले ५३ को औसतमा रन बनाएका छन् । एसिया कपमा उनको स्ट्राइकर रेट १०२.५ हो । 

एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन एक सय ३० रन हो । जयसूर्याले एसिया कपमा ६ वटा सतक र तीनवटा अर्धसतक पनि प्रहार गरेका छन् । उनले खेल्दा श्रीलंकाले तीन पटक एसिया कपको उपाधि उचालेको थियो । तीनपटक श्रीलंका उपविजेता बनेको थियो । 

उनले सन् २००८ मा अन्तिम पटम एसिया कप खेलेका थिए । उक्त संस्करणको उपाधि पनि श्रीलंकाले नै जितेको थियो । आफ्नो अन्तिम एसिया कपमा जयसूर्याले ७५ को औसतले कुल तीन सय ७५ रन बनाएका थिए । एसिया कपको सोही संस्करणमा उनले बंगलादेशविरुद्द एक सय ३० रन बनाएका थिए । 

जयसूर्या एसिया कपको इतिहासमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडी पनि हुन् । उनले आफूले खेलेको एसिया कपको ६ वटै संस्करणमा सतक प्रहार गरेका थिए । आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान जयसूर्या हाल ५४ वर्ष पुगिसकेका छन् । 
००००
कुमार सांगाकारा (श्रीलंका) 
एसिया कप क्रिकेटको एकदिवसीय ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा पनि श्रीलंकाली ब्याट्सम्यान नै छन् । श्रीलंकाली ब्याट्सम्यान कुमार सांगाकाराले सन् २००४ देखि सन् २०१४ सम्म एसिया कपको पाँचवटा संस्करणमा सहभागिता जनाएका थिए । 

रमाइलो पक्ष के हो भने सांगाकाराले खेलेको पहिलो र अन्तिम दुबै संस्करणको उपाधि श्रीलंकाले जितेको थियो । उनले एसिया कपमा २४ खेल खेलेका छन् । आफूले खेलेका एसिया कपको पाँचवटा संस्करणमा उनले ४९ को औसतले कुल एक हजार ७५ रन बनााएका छन् ।

kumar 

एसिया कपमा बायाँहाते आक्रामक ब्याट्सम्यान सांगाकाराको उत्कृष्ट प्रदर्शन एक सय २१ रन हो । उनले सन् २००८ को एसिया कपमा बंगलादेशविरुद्द उक्त रन बनाएका हुन् । एसिया कपमा उनले चारवटा सतक र आठवटा अर्धशतक पनि बनाएका थिए । एसिया कपमा ४५ वर्षीय सांगाकाराको स्ट्राइक रेट ८४.५१ हो ।  
००००
सचिन तेन्दुल्कर (भारत) 
विश्व क्रिकेटका महान खेलाडी हुन्, सचिन तेन्दुल्कर । ५० वर्षीय तेन्दुल्करले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको लामो समय बितिसकेको छ । अहिले पनि विश्व क्रिकेटमा उनले बनाएका थुप्रै कीर्तिमान कसैले तोड्न सकेको छैन ।  तर, एसिया कपको इतिहासमा भने सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा उनी तेस्रो नम्बरमा छन् । तेन्दुल्करले सन् १९९०–९१ देखि सन् २०१२ सम्म एसिया कपको आठवटा संस्करणमा सहभागिता जनाएका थिए ।

sachin
मास्टर ब्लास्टर सचिनले एसिया कपमा २३ वटा खेल खेलेका छन् । उनले प्रतिखेल ५१.१० को औसतले एसिया कपमा कुल नौ सय ७१ रन बनाएका छन् । एसिया कपको एकदिवसीय ढाँचामा उनको उत्कृष्ट प्रदर्शन भने एक सय १४ रन हो । उनले सन् २०१२ को एसिया कपमा बंगलादेशविरुद्द उक्त रन बनाएका थिए । 

सन् २०१२ को एसिया कपमा बंगलादेशविरुद्घ बनाएको सतक तेन्दुल्करले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको एक सयौं सतक पनि थियो । तेन्दुल्करले खेल्दा भारतले तीन पटक एसिया कपको उपाधि चुमेको थियो । उनले एसिया कपमा दुईवटा सतक र सातवटा अर्धसतक प्रहार गरेका छन् । एसिया कपमा उनको स्ट्राइक रेट ८५.४७ हो । 

००००
सोएब मलिक (पाकिस्तान) 

पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान हुन्, सोएब मलिक । उनी एसिया कप क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा पर्छन् । एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने पाकिस्तानी ब्याट्सम्यानको सूचीमा उनको नाम अग्रस्थानमा आउँछ । 

सोएब मलिकको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि त्यति नै धारिलो । हाल उमेरले ४१ पुगेका यी अलराउन्डरले सन् २००० देखि सन् २०१८ सम्म एसिया कपको आठवटा संस्करणमा सहभागिता जनाएका थिए । उनको उपस्थितिमा पाकिस्तानले दुई पटक एसिया कपको उपाधि जितेको थियो ।

soyab-mallik

आफ्नो पहिलो सहभागितामै उनले सन् २००० मा पाकिस्तानलाई एसिया कप जिताएका थिए । त्यसपछि सन् २०१२ मा पनि सोएब मलिकसहितको पाकिस्तानी टोलीले एसिया कपको उपाधि उचालेको थियो । उनले एसिया कपमा १७ वटा खेल खेलेका थिए । एसिया कपमा उनले ६५.५ को औसतले कुल सात सय ८६ रन बनाएका थिए ।

यो औसत एसिया कपमा सर्वाधिक रन बनाउने सनथ जयसूर्याको भन्दा पनि राम्रा हो । उनले एसिया कपमा तीनवटा सतक र तीनवटा अर्धसतक पनि बनाएका छन् । एसिया कपमा उनको स्ट्राइक रेट ९०.६५ रहेको छ । 

एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन एक सय ४३ रन हो । उनले सन् २००४ मा श्रीलंकामा आयोजना भएको एसिया कपको भारतविरुद्घको खेलमा उक्त रन बनाएका थिए । त्यो खेलमा पाकिस्तानले भारतलाई ५९ रनले हराएको थियो । 

एसिया कपमा सोएब मलिकसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । उनले आफ्नो खेलजीवनमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको सम्पूणर् सतकमध्ये एक तिहाइ सतक एसिया कपको १७ वटा खेलमै बनेको हो । 
००००
रोहित शर्मा (भारत) 

भारतीय टोलीका वर्तमान कप्तान हुन्, रोहित शर्मा । एसिया कपको १६ औं संस्करणमा ३६ वर्षीय रोहित शर्माले नै भारतीय टोलीको कप्तानी गर्दैछन् । उनी एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पाँचौं नम्बरमा पर्छन् । 

रोहित शर्माले एसिया कपमा सन् २००८ देखि सन् २०१६ सम्म सातवटा संस्करण खेलिसकेका छन् । यतिबेला उनी एसिया कपको आठौं संस्करण खेल्ने तयारीमा छन् । उनले एसिया कपमा हालसम्म ४५.५६ को औसतले कुल सात सय ४५ रन बनाएका छन् । 

rohit

उनले हालसम्म एसिया कपमा २२ खेल खेलेका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन अविजित एक सय ११ रन हो । एसिया कपमा उनले हालसम्म एउटा सतक र ६ वटा अर्धसतक प्रहार गरेका छन् । उनले सन् २०१८ को एसिया कपमा पाकिस्तानविरुद्घ सतक प्रहार गरेका थिए । 

रोहित शर्मासहितको भारतीय टोलीले हालसम्म तीनपटक एसिया कपको उपाधि चुमेको छ । रोहित शर्माले सन् २०१०, सन् २०१६ र सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो । एसिया कपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान श्रीलंकाका पूर्वखेलाडी सनथ जयसूर्याको नाममा छ । तर, त्यो कीर्तिमान आगामी संस्करणमा रोहित शर्माले तोड्न सक्ने बलियो सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप