आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महासंघले भेट्यो राष्ट्रपति पौडेललाई, अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड

बिहीबार, ०७ भदौ २०८०, १८ : २२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको उत्साहजनक सहभागिता भएमा मात्रै देशको आर्थिक विकास सम्भव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिसँगको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । ‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र सम्भावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ,’ राष्ट्रपति पौडेलले भने । नेपालको अर्थव्यवस्थामा निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उनले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको धारणा राखे ।

राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफू अनभिज्ञ नरहेको बताए । उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफूले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सबैको ध्यानाकर्षण गराएको बताए ।

‘धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु,’ उनले भने । यस्तै, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक रहेपनि अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्ने बताए । उनले आम नागरिक र व्यवसायीको आत्मविश्वास बढाएर अघि बढ्नुपर्ने समेत बताए ।

ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेका अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने बताए । सरकारले पुँजीगत खर्च गर्न नसकेको र बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पुँजीको लागत कम गरी लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।

व्यवसाय सत प्रतिशत चल्नसक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुई तिहाइ खुम्चिँदा करिब पाँच दशकपछि अघिल्लो वर्षभन्दा कम राजश्व संकलन भएको छ । यससँगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पुँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो ।

यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप