आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको निष्कर्ष : पार्टी सदस्य बराबर मतसमेत आएन, यस्ता छन् चार कारण

शुक्रबार, ०८ भदौ २०८०, २३ : २३
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादी केन्द्रले २ वटा संविधानसभा र २ वटा संघीय प्रतिनिधिसभा निर्वाचनको सामना गर्‍यो । 

२०६४ को निर्वाचनमा  युद्धको रापतापकाबीच चुनावी प्रतिस्पर्धा गरेको माओवादीले समानुपातिकमा ३१ लाख बढी मतसहित प्रत्यक्षतर्फ १२० सिट जितेर सबैभन्दा ठूलो दल बन्न सफल भयो ।

त्यसयता निरन्तर खुम्चिँदै गएको माओवादीले गत महिना राजधानीमा भएको केन्द्रीय समिति बैठकमा यसबारे गम्भीर समीक्षा गरेको छ । प्रत्येक निर्वाचनमा माओवादी कसरी कमजोर भयो भन्ने सम्बन्धमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा पेस गरेको प्रस्तावबारे बैठकमा समीक्षा गरेको थियो । माओवादी कमजोर हुनुको पछाडि आधारभूत जनता र वर्गसँग पार्टीको सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको माओवादीको निष्कर्ष छ । 

यस्तो छ चुनावी समीक्षा:

२०६४ को निर्वाचनमा जनयुद्धको रापतापका बीचबाट सबैभन्दा ३१ लाख बढी मत र प्रत्यक्षतर्फ १२० सिट ल्याई देशकै सबैभन्दा ठूलो पार्टी भएको । 

२०७० को प्रतिस्पर्धामा खुम्चिएर प्रत्यक्षतर्फ २६ सिट र १४ लाख ३९ हजार मत पाएको । 

२०७४ मा पहिलोपटक स्थानीय निर्वाचन सामना गर्नुपरेको । नेकपा एमालेसँग संघ र प्रदेशको चुनावमा गठबन्धन गरी उठेकोमा, त्यतिबेला ३६ सिट र १३ लाख मत प्राप्त भयो । 

२०७९ को चुनावी गठबन्धनमा कांग्रेससँग सहकार्य भयो । यतिबेला अर्थात् २०७९ मा ११ लाख ७५ हजार मतमा १८ सिटमा सीमित भएको र राजधानी काठमाडौँ उपत्यकाभित्र निल भएको समीक्षा गरेको छ । 

चुनावी प्रतिस्पर्धामा माओवादी कसरी कमजोर भयो ? 

१.यसका पछाडि आधारभूत जनता र वर्गसँग हाम्रो सम्बन्ध टाढिएको सहरिया मध्यमवर्गको साथ लिन नसकेको, युवा र बौद्धिक जमातलाई आकर्षित गर्न नसकेको कुरा पुष्टि भएको छ ।

२.आठौँ महाधिवेशनमा आइपुग्दा वैचारिक रूपमा केही हदसम्म प्रगति भएपनि त्यसको कार्यान्वयनका लागि आम जनता र कार्यकर्तामा स्पष्टता र संगठनात्मक क्षेत्रमा व्यवस्थित एवम् सुदृढ गर्ने कार्यमा व्यवस्थित हुन सकेनौँ । अझ गम्भीर कुरा त के छ भने पार्टी सदस्यता बराबर समानुपातिक मत प्राप्त नभएको कुरा जिल्लामा प्राप्त भएको समानुपातिक तर्फको मतले हाम्रो संगठनको अवस्थालाई उजागर गरेको छ ।

३.निर्वाचनमा जुनजुन प्रदेश र जिल्लाहरूमा पार्टीमा एकरूपता र सहमतिको साथ निर्वाचन प्रक्रियामा सहभागी भयौँ त्यहाँ सकारात्मक परिणाम हाँसिल भयो । जुन प्रदेश र जिल्लाहरूमा पार्टी एकता र सहमति देखिएन त्यहाँ प्रतिस्पर्धा आम निर्वाचन जित्ने जिताउने भन्दा एक आपसमा एक अर्कोलाई हराउनेतिर उन्मुख भएको पाइयो । 

४.अर्को कुरा हाम्रो जनमत तुलनात्मक रूपले राम्रो रहेको निर्वाचन क्षेत्रहरू गठबन्धनभित्रका अरू दलहरूलाई छोड्नुपर्ने बाध्यता र जनाधार नै नभएका कतिपय क्षेत्रहरू लिने रुचिले परिणाममा थप गम्भीर असर पार्‍यो । अझ गम्भीर कुरा त के रह्यो भने गठबन्धन दल मुख्यतया नेपाली कांग्रेसको भोट ट्रान्सफर नहुने समस्या हाम्रो परिणामका लागि जिम्मेवार बन्न पुग्यो । यस चुनावी समीक्षाका बारेमा सबै जिल्ला र प्रदेशहरूको रिपोर्ट प्राप्त भएपश्चात पार्टी केन्द्र कार्यालयले विस्तृत समीक्षाको रिपोर्ट तयार पारे पश्चात् आवश्यक निर्णयमा पुग्नु पर्दछ ।

माथिका ४ कारणबारे गम्भीर समीक्षा गरी पार्टीको आन्तरिक जीवन र राजनैतिक क्षेत्रमा उत्पन्न समस्या, चुनौतीको सामना र सम्भावनाको सदुपयोग गर्ने एउटा अवसर फेरि आएको उल्लेख छ । पार्टीको समग्र

वैचारिक–राजनैतिक–सांस्कृतिक पक्षमा थप अभिरुचिका साथ काम गर्नुपर्नेमा जोड दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप