आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
‘मेरो डान्स युनिभर्स’ वार्ता

खुसी भन्छिन्, ‘उपहारको एक करोड डोनेट गर्छु’

शनिबार, ०९ भदौ २०८०, ११ : २७
शनिबार, ०९ भदौ २०८०

‘मेरो डान्स युनिभर्स’की विजेता हुन् खुसी कार्की । हालै सम्पन्न फाइनल प्रतिस्पर्धामा अन्य प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हासिल गरिन् । अनि, १ करोड पुरस्कार पनि हात पारिन् । 

नेपालमा अहिले सम्मकै सर्वाधिक धनराशि पुरस्कार राखिएको यो रियालटी शो विश्वभर छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्ने उद्देश्यसहित आयोजना भएको थियो । कार्की थाइल्याण्डबाट सहभागी भएकी थिइन् ।

रियालटी शो को पहिलो प्रयासमै सफल भएकोमा खुशी निकै खुसी छिन् । सफलताले चर्चाको अलावा चुनौती पनि थपेको उनी बताउँछिन् । बुबाको करले शोमा भाग लिएकी बताउने कार्कीलाई रातोपाटी प्रतिनिधिका केही प्रश्न:

यति ठुलो रियालटी शो जित्नु भयो । कस्तो महसुस भैरहेको छ ?

–एकदमै खुसी छु । म भन्दा झनै मेरो परिवार र आफन्त खुसी छन् । ठुलो सफलता हात लागेको महसुस भएको छ ।

विजेता बन्छु भन्ने लागेको थियो त ?

–आफै विजेता हुन्छु भन्ने कहिल्यै लागेको थिएन । मिहिनेत गर्दै जाऊँ जे होला होला भनेर भन्ने सोच्थे । अहिले उपाधि हात पर्दा आफूलाई लक्की ठान्छु ।

khusi karki (1)

यसअघि पनि कुनै उपाधि जित्नु भएको थियो कि ?

–मैले जीवनमै पहिलो पटक यस्तो कार्यक्रममा भाग लिएको हो । पहिलो प्रयासमै सफलता हात पर्‍यो । 

विजेता बन्न त धेरै मिहिनेत गर्नु पर्‍यो होला नि, हैन ?

–मिहिनेत त धेरै गरेँ । किनभने म नृत्यमा पारङ्गत थिइनँ । पहिलो पटक नौलो काम गर्दा मिहिनेत त गर्नुपर्छ नै ।

किन भाग लिन मन लाग्यो यो शो मा ?

–मेरो सहभागी हुने सोच नै थिएन । बुबाले यसमा भाग लिउ, राम्रो हुन्छ भन्नुभयो । अनि, म होमिएँ ।

विजेताको चर्चा र उपहार एक करोड कति महत्त्वपूर्ण ठान्नु हुन्छ ?

–एक करोड रकम जित्दा भन्दा पनि रियालटी शोको पहिलो पोजिसन आफूले पाएँ भन्नेमा धेरै खुसी छु । प्रतियोगितामा भाग लिदा विजेता बन्नुपर्छ भन्ने थियो । विजेता बनेर यति रकम जित्न सकिन्छ भन्ने दिमागमा कहिल्यै आएन । अहिले पनि पैसा भन्दा उपाधि महत्त्वपूर्ण ठानेको छु ।

त्यसो भए उपहारमा प्राप्त एक करोड के गर्ने ?

–म थाई नेपाली संघको सदस्य हो । म यो प्रतियोगितामा सहभागी भएको पनि उक्त संघले गर्दा हो । त्यसैले उपहारमा प्राप्त रकम थाई नेपाली संघलाई डोनेट (सहयोग) गर्छु । विजेता बनेर जे जित्छु संघलाई दिन्छु भनेर पहिले नै भनेकी थिएँ ।

नृत्यमा एउटा उचाइ बन्यो । अबका दिन कसरी अगाडि बढ्ने सोच्नु बनाउनु भएको छ ?  

–कार्यक्रममा आएकोले दुई महिनादेखि मेरो अध्ययन थप्प छ । पहिले थाइल्याण्ड गएर अध्ययन पुरा गर्छु । नृत्यमार्फत एउटा परिचय बनिहाल्यो । यो अब छोड्दिन । डान्सरसँगै अभिनेत्री बन्ने इच्छा पनि छ ।

अध्ययन कहाँ पुग्यो ?

–बिजनेस विषयमा ब्याचलर सेकेन्ड इयरमा अध्ययन गरिरहेकी छु । 

khusi karki (2)

सानोमा के सपना थियो ?

–सानोमा डाक्टर बन्ने सपना थियो । अहिले सफल बिजनेस पर्सन बन्ने रहेको छ । बुबाआमाले अहिलेसम्म यस्तो बन्नुपर्छ भनेर भन्नु भएको छैन । जेमा खुसी मिल्छ, त्यही गर्नु भन्नु हुन्छ ।

अवका दिनको चुनौती के देख्नु भएको छ ?

– नृत्यमा एउटा परिचय बनेको छ । यो करियर कसरी अगाडि लैजाने भन्ने मुख्य चुनौती छ । तर, म यसलाई नै मेजर बनाएर अगाडि बढ्दिन । बिजनेस गर्छु । डान्स पनि छोड्दिन ।

नेपाल आउनु भएको पहिलो पटक हो ?

–नेपालको बारेमा सानैदेखि जानकार थिएँ । आमाबुबाले हामी नेपाली हौं भनेरै हुर्काउनु भयो । सन् २०१७ मा एकपटक परिवारसँग घुम्न आएकी थिएँ । त्यसपछि अहिले दोस्रो हो । अब भने आइरहन्छु ।

यो पटकको नेपाल बसाइँको अनुभव कस्तो रह्यो ?

– यहाँ धेरै माया, सद्भाव पाएँ । यो माया कहिल्यै बिर्सन सक्दिनँ ।

तपाईँको फ्यान त धेरै रहेछन् नि ?

–म पहिलेदेखि नै टिकटक बनाउँथे । पहिले मेरो फ्यान २/३ हजार थिए । यो कार्यक्रममा आएदेखि एकाएक लाख माथि पुग्यो । यो बढ्ने क्रम निरन्तर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप