आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कपको नालीबेली : सर्वाधिक विकेटदेखि सर्वाधिक क्याचसम्म श्रीलङ्काली खेलाडीको दबदबा

शनिबार, ०९ भदौ २०८०, १५ : ०२
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको राष्ट्र हो, श्रीलङ्का । सन् १९८४ मा भएको एसिया कपको पहिलो संस्करणमा श्रीलङ्का उपविजेता बनेको थियो । त्यसयता तीनवटा संस्करणलाई छोडेर हरे संस्करणमा श्रीलङ्का विजेता वा उपविजेता बनेको छ । 

एसिया कपको इतिहासमा श्रीलङ्काली खेलाडीहरूको थुप्रै कीर्तिमान छन् । श्रीलङ्काली क्रिकेटमा थुप्रै खेलाडी एसिया कपबाटै पनि चम्किएका थिए । एसिया कपको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदैछ । 

यसअघि एसिया कपको १५ वटा संस्करण सम्पन्न भइसकेको छ । एसिया कपको हालसम्मको संस्करणमा खेलाडीहरूको प्रदर्शनलाई हेर्दा श्रीलङ्काली खेलाडीहरूको दबदबा पाइन्छ । सर्वाधिक रन बनाउने खेलाडी हुन् वा सर्वाधिक विकेट लिने खेलाडी । अधिकांश विधामा श्रीलङ्काली खेलाडीहरू अगाडि देखिन्छन् । रमाइलो पक्ष के हो भने अधिकांश विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले यतिबेला खेल जीवनबाट सन्न्यास लिइसकेका छन् ।  

सर्वाधिक विकेट लिने खेलाडी

एसिया कपको इतिहासमा सर्वाधिक विकेट लिने खेलाडी श्रीलङ्काका मुथैया मुरलीथरन हुन् । आफ्नो समयका चर्चित स्पिनर मुरलीथरनले सन् १९९५ देखि सन् २०१० सम्म एसिया कपको ६ वटा संस्करण खेलेका थिए । उनले एसिया कपको एकदिवसीय ढाँचामा २४ खेल खेल्दै ३० वटा विकेट लिएका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन दिएर पाँच विकेट हो । 

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो नम्बरमा पनि श्रीलङ्काली बलर नै छन् । तीव्र गतिका बलर लासिथ मालिंगाले सन् २००४ देखि सन् २०१८ सम्म एसिया कपमा १४ खेल खेलेका थिए । उनले एसिया कपमा २९ विकेट लिएका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन ३४ रन दिएर पाँच विकेट हो ।

83E669F5-B5DA-486C-AC61-70485F8EE8E3

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा तेस्रो नम्बरमा पनि श्रीलङ्काली बलर नै छन् । श्रीलङ्काली बलर अजन्था मेन्डिसले सन् २००८ देखि सन् २०१४ सम्म एसिया कपमा आठ खेल खेलेका थिए । आठ खेलमा उनले २६ विकेट लिएका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन १३ रन दिएर ६ विकेट हो ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा पाकिस्तानका सइद अजमल छन् । उनले सन् २००८ देखि सन् २०१४ सम्म एसिया कपमा १२ खेल खेल्दै २५ विकेट लिएका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन २६ रन दिएर तीन विकेट हो ।

यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको पाँचौँ स्थानमा श्रीलङ्काका बलर चामिन्डा भास छन् । उनले सन् १९९५ देखि सन् २००८ सम्म एसिया कपमा १९ खेल खेल्दै २३ विकेट लिएका छन् । एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन ३० रन दिएर तीन विकेट हो । 

सर्वाधिक रन बनाउने खेलाडी 

एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने क्रिकेटरको सूचिमा माथिल्लो दुई स्थानमा श्रीलङ्काली खेलाडी छन् । श्रीलङ्काली ब्याट्सम्यान सनथ जयसूर्या एसिया कप क्रिकेटको एकदिवसीय ढाँचामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले सन् १९९०/९१ देखि सन् २००८ सम्म एसिया कपको ६ वटा संस्करणमा सहभागिता जनाएका थिए । बायाँ हाते ब्याट्सम्यान जयसूर्याले एसिया कप क्रिकेटमा सर्वाधिक एक हजार दुई सय २० रन बनाएका छन् । उनले एसिया कपमा २५ खेल खेलेका छन् । 

sanath

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा श्रीलङ्काका कुमार सांगाकारा छन् । सांगाकाराले सन् २००४ देखि सन् २०१४ सम्म एसिया कपको पाँचवटा संस्करणमा सहभागिता जनाएका थिए । उनले एसिया कपमा २४ खेल खेलेका छन् । उनले एसिया कपमा कुल एक हजार ७५ रन बनाएका छन् । 

यसैगरी भारतका महान क्रिकेटर सचिन तेन्दुल्कर एसिया कपको इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । तेन्दुल्करले सन् १९९०/९१ देखि सन् २०१२ सम्म एसिया कपको आठवटा संस्करणमा सहभागिता जनाएका थिए । उनले एसिया कपमा २३ वटा खेल खेलेर कुल नौ सय ७१ रन बनाएका छन् । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा पाकिस्तानका सोएब मलिक छन् । उनले सन् २००० देखि सन् २०१८ सम्म एसिया कपको आठवटा संस्करणमा सहभागिता जनाएका थिए । उनले एसिया कपमा १७ वटा खेल खेलेका थिए । एसिया कपमा उनले कुल सात सय ८६ रन बनाएका छन् । 

यसैगरी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा भारतका वर्तमान कप्तान रोहित शर्मा पाँचौँ स्थानमा छन् । उनले एसिया कपमा सन् २००८ देखि हालसम्म सातवटा संस्करण खेलिसकेका छन् । यतिबेला उनी एसिया कपको आठौं संस्करण खेल्ने तयारीमा छन् । उनले एसिया कपमा २२ खेल खेलेर कुल सात सय ४५ रन बनाएका छन् । 

सर्वाधिक क्याच लिने खेलाडी 

एसिया कपको इतिहासमा सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा माथिल्लो पाँच स्थानमा तीनजना श्रीलङ्काली खेलाडी छन् । एसिया कपमा सर्वाधिक क्यान लिने खेलाडीको सूचिमा पहिलो स्थानमा श्रीलङ्काका माहेला जयाबर्द्धने छन् । सन् २००० देखि सन् २०१४ सम्म एसिया कपमा २८ खेल खेलेका जयाबर्द्धनेले १५ वटा क्याच लिएका छन् । एउटै खेलमा उनले तीनवटा क्याच पनि लिएका थिए ।

mahela

यसैगरी सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा पाकिस्तानका युनिस खान छन् । युनिस खानले सन् २००४ देखि सन् २०१२ सम्म एसिया कपमा १४ वटा खेल खेलेका थिए । आफूले खेलेका खेलमा उनले कुल १४ वटा क्याच लिएका छन् । एउटै खेलमा उनले तीन वटासम्म क्याच लिएका छन् ।

सर्वाधिक क्याच लिने खेलाडीको तेस्रो नम्बरमा श्रीलङ्काका अरभिन्दा डा सिल्भा तेस्रो स्थानमा छन् । उनले सन् १९८४ देखि सन् २००० सम्म एसिया कपमा २४ खेल खेलेका थिए । उनले एसिया कपमा १२ वटा क्याच लिएका छन् । एउटै खेलमा उनले दुईवटा क्याच पनि लिएका छन् । 

यसैगरी सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा चौथो नम्बरमा श्रीलङ्काका मुथैया मुरलीथरन रहेका छन् । उनले सन् १९९५ देखि सन् २०१० सम्म एसिया कपमा २४ खेल खेलेका थिए । उनले एसिया कपमा १० वटा क्याच लिएका छन् । उनले एउटै खेलमा दुई वटासम्म क्याच लिएका छन् ।

सर्वाधिक क्याच लिने खेलाडीको सूचिमा पाँचौँ स्थानमा भारतका सरेश रैना छन् । सन् २००८ देखि सन् २०१२ सम्म उनले एसिया कपमा १३ वटा खेल खेलेका थिए । उनले एसिया कपमा आठवटा क्याच लिएका छन् । एउटै खेलमा उनले दुईवटा क्याच लिएका छन् । 

रैनाका अतिरिक्त श्रीलङ्काका रोशन महानामा र भारतका रोहित शर्माले पनि एसिया कपमा आठ—आठ क्याच लिएका छन् । महानामाले सन् १९८६ देखि १९९७ को बीचमा १६ खेल खेलेका थिए भने शर्माले सन् २००८ देखि हालसम्म २२ खेल खेलेका छन् । महानामाले एउटै खेलमा तीन र शर्माले एउटा खेलमा दुईवटा क्याच लिएका छन् ।

सर्वाधिक एकल रन बनाउने खेलाडी

एसिया कपको इतिहासमा एउटै खेलमा सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा भारतीय र पाकिस्तानी खेलाडी अगाडि छन् । सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा भारतका विराट कोहली पहिलो स्थानमा आसिन छन् । 

VKvsPakistan

कोहलीले सन् २०१२ मा बंगलादेशमा आयोजना भएको एसिया कपमा पाकिस्तानविरुद्ध एक सय ८३ रन बनाएका थिए । त्यसक्रममा उनले एक सय ४८ बलको सामना गरी एक छक्का र २२ वटा छक्का पनि हिर्काएका थिए ।

यसैगरी एउटै खेलमा सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा पाकिस्तानका युनिस खान दोस्रो स्थानमा आसिन छन् । सन् २००४ मा श्रीलङ्कामा आयोजना भएको एसिया कपमा उनले हङ्कङविरुद्ध एक सय ४४ रन बनाएका थिए । उनले एक सय २२ बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काएका थिए ।

सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा बंगलादेशका मुसफिकर रहिम तेस्रो स्थानमा रहेका छन् । उनले सन् २०१८ मा संयुक्त अरब इमिरेट्समा आयोजना भएको एसिया कपमा श्रीलंकाविरुद्ध एक सय ४४ रन बनाएका थिए । उनले एक सय ५० बलको सामना गरी चार छक्का र ११ चौका हिर्काएका थिए ।

यसैगरी सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा पाकिस्तानमा सोएब मलिक छन् । उनले सन् २००४ मा श्रीलङ्कामा आयोजना भएको एसिया कपमा भारतविरुद्ध एक सय ४३ रन बनाएका थिए । त्यसक्रममा उनले एक सय २७ बलको सामना गरी एक छक्का र १८ वटा चौका हिर्काएका थिए ।

सर्वाधिक एकल रन बनाउने खेलाडीको सूचिमा पाँचौँ स्थानमा भने भारतका विराट कोहली रहेका छन् । उनले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको एसिया कपमा आयोजक राष्ट्रविरुद्ध एक सय ३६ रन बनाएका थिए । उक्त खेलमा उनले एक सय २२ बलको सामना गरी दुई छक्का र १६ वटा चौका पनि हिर्काएका थिए । 

एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्र

एसिया कपको इतिहासमा एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्र पाकिस्तान हो । पाकिस्तानले सन् २०१० मा श्रीलङ्कामा आयोजना भएको एसिया कपमा बंगलादेशविरुद्ध सात विकेट गुमाएर तीन सय ८५ रन बनाएको थियो । 

118509

एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्रको सूचीमा भारत दोस्रो स्थानमा छ । भारतले सन् २००८ मा पाकिस्तानको कराँचीमा सम्पन्न एसिया कपमा हङ्कङविरुद्ध चार विकेट गुमाएर तीन सय ७४ रन बनाएको थियो । 

यसैगरी एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्रको सूचिमा तेस्रो स्थानमा श्रीलङ्का रहेको छ । श्रीलङ्काले सन् २००८ मा पाकिस्तानमा सम्पन्न एसिया कपमा बंगलादेशविरुद्ध नौ विकेट गुमाएर तीन सय ५७ रन बनाएको थियो । उक्त खेल लाहोरमा खेलिएको थियो ।

एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्रको सूचिमा पाकिस्तान चौथो स्थानमा छ । पाकिस्तानले सन् २००४ मा श्रीलङ्कामा आयोजित एसिया कपमा हङ्कङविरुद्ध पाँच विकेट गुमाएर तीन सय ४३ रन बनाएको थियो । उक्त खेल कोलम्बोमा खेलिएको थियो ।

यसैगरी एउटै खेलमा सर्वाधिक रन बनाउने राष्ट्रको सूचिमा पाँचौँ स्थानमा श्रीलङ्का रहेको छ । श्रीलङ्काले सन् २००८ मा पाकिस्तानमा सम्पन्न एसिया कपमा बंगलादेशविरुद्ध आठ विकेट गुमाएर तीन सय ३२ रन बनाएको थियो । उक्त खेल कराँचीमा खेलिएको थियो ।

सबैभन्दा कम रन बनाउने राष्ट्र

एसिया कपको इतिहासमा सबैभन्दा कम रन बनाउने राष्ट्रको खराब कीर्तिमान बंगलादेशको नाममा रहेको छ । बंगलादेशी टोली सन् २००० मा आफ्नै भूमिमा आयोजित एसिया कपमा पाकिस्तानविरुद्ध ८७ रनमा अलआउट भएको थियो । त्यो खेलमा बंगलादेश ३४.२ ओभरमै अलआउट भएको थियो ।

012301

सर्वाधिक कम रन बनाउने राष्ट्रको सूचिमा दोस्रो नम्बरमा पनि बंगलादेश नै छ । सन् १९८६ मा श्रीलङ्कामा आयोजित एसिया कपमा बंगलादेशी टोली पाकिस्तानविरुद्ध ९४ रनमै अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३५.३ ओभरमा समेटिएको थियो ।

यसैगरी सर्वाधिक कम रन बनाउने राष्ट्रको सूचिमा तेस्रो नम्बरमा श्रीलङ्का रहेको छ । सन् १९८४ मा संयुक्त अरब इमिरेट्समा आयोजित एसिया कपमा श्रीलङ्काली टोली भारतविरुद्ध ९६ रनमा अलआउट भएको थियो । उक्त खेलमा श्रीलङ्काली टोली ४१ ओभरमै अलआउट भएको थियो ।

सर्वाधिक कम रन बनाउने राष्ट्रको सूचिमा चौथो नम्बरमा पनि बंगलादेश नै रहेको छ । सन् १९८८ मा बंगलादेशमा सम्पन्न एसिया कपको भारतविरुद्धको खेलमा बंगलादेशी टोली ९९ रनमै अलआउट भएको थियो । भारतले बंगलादेशलाई ४५ ओभरमै अलआउट पारेको थियो ।

यसैगरी सर्वाधिक कम रन बनाउने राष्ट्रको सूचिमा पाँचौँ नम्बरमा हङ्कङ पाँचौँ नम्बरमा रहेको छ । सन् २००४ मा श्रीलङ्कामा आयोजित एसिया कपको बंगलादेशविरुद्धको खेलमा हङ्कङ एक सय पाँच रनमा अलआउट भएको थियो । उक्त खेलमा हङ्कङ ४५.२ ओभरमा समेटिएको थियो ।

Screenshot-2022-08-10-171153.pngसबैभन्दा फराकिलो अन्तरको जित

एसिया कपको इतिहासमा विकेटका आधारमा सबैभन्दा ठुलो जित हासिल गर्ने तीन राष्ट्र छन् । सन् १९८४ मा भएको एसिया कपमा भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको थियो । केवल ९७ रनको लक्ष्य पछ्याएको भारतले २१.४ ओभरमै विजय लक्ष्य पार गरेको थियो ।

यसैगरी सन् २००४ मा सम्पन्न एसिया कपमा श्रीलङ्काले बंगलादेशलाई १० विकेटले हराएको थियो । एक सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३३.३ ओभरमा जित हात पारेको थियो । सन् २००८ मा सम्पन्न एसिया कपमा पाकिस्तानले बंगलादेशलाई १० विकेटले हराएको थियो । एक सय १६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९.४ ओभरमै जित हासिल गरेको थियो ।

सबैभन्दा कम रनअन्तरको जित

एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा कम रनअन्तरको जितको कीर्तिमान पाकिस्तानको नाममा रहेको छ । सन् २०१२ मा बंगलादेशमा भएको एसिया कपमा पाकिस्तानले बंगलादेशलाई केवल दुई रनको अन्तरले हराएको थियो । दुई सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बलमा लक्ष्य पूरा गरेको थियो ।

यसैगरी सन् २०१८ मा संयुक्त अरब इमिरेट्समा सम्पन्न एसिया कपमा बंगलादेशले अफगानिस्तानलाई केवल तीन रनले हराएको थियो । दुई सय ५० रनको लक्ष्य पछ्याएको बंगलादेशले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको थियो । 

यसैगरी सन् २००४ मा श्रीलङ्कामा सम्पन्न एसिया कपमा भारतले श्रीलङ्कालाई चार रनले हराएको थियो । दुई सय ७२ रनको लक्ष्य पछ्याएको भारत अन्तिम ओभरको अन्तिम बलमा विजयी भएको थियो । सन् २००४ को एसिया कपमा श्रीलङ्काले भारतलाई १२ रनले हराएको थियो । सन् २०१४ को एसिया कपमा श्रीलङ्काले पाकिस्तानलाई १२ रनले हराएको थियो ।  

सर्वाधिक शतक र अर्धशतक हिर्काउने खेलाडी 

एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी श्रीलङ्काका सनथ जयसूर्या हुन् । सन् १९९० देखि सन् २००८ को बीचमा उनले २५ खेल खेल्दै ६ वटा शतक प्रहार गरेका छन् । दोस्रो स्थानमा रहेका श्रीलङ्काका कुमार सांगाकाराले सन् २००४ देखि सन् २०१४ सम्म एसिया कपमा २४ खेल खेल्दै चारवटा शतक हिर्काएका छन् । भारतका विराट कोहली र पाकिस्तानका सोएब मलिकले तीन—तीनवटा शतक हिर्काएका छन् । 

sangakara

यसैगरी एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडी श्रीलङ्काका कुमार सांगाकारा हुन् । उनले एसिया कपमा २४ खेल खेल्दै आठवटा अर्धसतक बनाएका छन् । दोस्रो स्थानमा रहेका भारतका सचिन तेन्दुल्करले एसिया कपमा २३ खेल खेल्दै सातवटा अर्धसतक प्रहार गरेका छन् । श्रीलङ्काका माहेला जयाबर्द्धनेले पनि सातवटा अर्धशतक हिर्काएका छन् । 

सर्वाधिक ‘डक आउट’ हुने खेलाडी

butt_650_021815010203

एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी ‘डक आउट’ हुने खेलाडीको सूचिमा चारजना खेलाडीको नाम रहेको छ । बंगलादेशका रुबेल होसैन एसिया कपमा तीन पटक ‘डक आउट’ भएका छन् । पाकिस्तानका सलमान बट पनि एसिया कपमा तीन पटक ‘डक आउट’ भएका छन् । बंगलादेशका अमिनुल इस्लाम र माहेला जयाबद्र्धने पनि एसिया कपमा तीन—तीन पटक ‘डक आउट’ भएका छन् । 

सर्वाधिक ‘बाउन्ड्री’ प्रहार गर्ने खेलाडी

एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी छक्का प्रहार प्रहार गर्ने खेलाडी पाकिस्तानका साहिद अफ्रिदी हुन् । उनले एसिया कपमा २६ वटा छक्का हिर्काएका छन् । दोस्रो स्थानमा रहेका श्रीलङ्काका सनथ जयसूर्याले २३ वटा छक्का प्रहार गरेका छन् । भारतका सुरेश रैनाले १८ वटा छक्का हिर्काएका छन् । भारतकै रोहित शर्माले १७ वटा छक्का हिर्काएका छन् । भारतका सौरभ गांगुलीले १३ वटा छक्का प्रहार गरेका छन् । 

6786b5fff995c14178fc929a5e542d94

यसैगरी सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडी श्रीलङ्काका सनथ जयसूर्या हुन् । उनले एसिया कपमा एक सय ३९ वटा चौका हिर्काएका छन् । भारतका सचिन तेन्दुल्करले पनि एक सय आठवटा चौका प्रहार गरेका छन् । श्रीलङ्काका कुमार सांगाकाराले एक सय सातवटा चौका हिर्काएका छन् । 

यसैगरी एसिया कप क्रिकेटको एकदिवसीय ढाँचामा एकै पालीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको कीर्तिमान चार खेलाडीको नाममा छ । भारतका सौरभ गांगुलीले सन् २००० को एसिया कपमा बंगलादेशविरुद्ध सातवटा छक्का हिर्काएका थिए ।

सन् २०१० को एसिया कपमा पाकिस्तानका साहिद अफ्रिदीले श्रीलंकाविरुद्ध सातवटा छक्का प्रहार गरेका थिए । सन् २०१४ को एसिया कपमा अफ्रिदीले नै बंगलादेशविरुद्ध सातवटा छक्का हिर्काएका थिए । सन् २०१८ को एसिया कपमा अफगानिस्तानका मोहम्मद साहजादले भारतविरुद्ध सातवटा छक्का हिर्काएका थिए । 

यसैगरी एसिया कपको इतिहासमा एकै पालीमा छक्का र चौकाबाट सर्वाधिक रन बटुल्ने खेलाडी श्रीलङ्काका सनथ जयसूर्या हुन् । उनले सन् २००८ को एसिया कपमा छक्का र चौकाबाट मात्र एक सय रन जोडेका थिए । उनले बंगलादेशविरुद्धको उक्त खेलमा ६ वटा छक्का र १६ वटा चौका हिर्काएका थिए । उक्त खेलमा उनले ८८ बलको सामना गरी एक सय ३० रन बनाएका थिए । 

भारतका विराट कोहलीले सन् २०१२ मा भएको एसिया कपमा पाकिस्तानविरुद्ध छक्का र चौकाबाट मात्र ९४ रन जोडेका थिए । उक्त खेलमा उनले एक छक्का र २२ वटा चौका प्रहार गरेका थिए । उक्त खेलमा कोहलीले एक सय ४८ बलको सामना गरी एक सय ८३ रन बनाएका थिए । 

सर्वाधिक खेल खेल्ने खेलाडी

एसिया कप क्रिकेटको इतिहासमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी श्रीलङ्काका माहेला जयाबर्द्धने हुन् । उनले सन् २००० देखि सन् २०१४ सम्म एसिया कपमा २८ वटा खेल खेलेका थिए । सर्वाधिक खेल खेल्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा श्रीलङ्काकै सनथ जयसूर्या छन् । उनले सन् १९९० देखि सन् २००८ को बीचमा एसिया कपमा २५ खेल खेलेका थिए । 

यसैगरी एसिया कपमा हालसम्म तीन खेलाडीले २४—२४ खेल खेलेका छन् । श्रीलङ्काका अरभिन्दा डा सिल्भाले सन् १९८४ देखि सन् २००० सम्म एसिया कपमा २४ खेल खेलेका थिए । श्रीलङ्काकै मुथैया मुरलीथरनले सन् १९९५ देखि सन् २०१० सम्म २४ खेल खेलेका थिए । श्रीलङ्काकै अर्का खेलाडी कुमार सांगाकाराले सन् २००४ देखि सन् २०१४ सम्म एसिया कपमा २४ खेल खेलेका थिए । पाकिस्तानका साहिद अफ्रिदी र भारतका सचिन तेन्दुल्करले एसिया कपमा २३—२३ खेल खेलेका छन् । भारतका रोहित शर्माले २२ खेल खेलेका छन् । 

यसैगरी कप्तानका रूपमा सबैभन्दा बढी एसिया कप खेल्ने खेलाडी भारत महेन्द्रसिंह धोनी हुन् । उनले कप्तानका रूपमा एसिया कपमा १४ खेल खेलेका छन् । दोस्रो स्थानमा रहेका श्रीलङ्काका अर्जुन रणतुंगाले एसिया कपमा कप्तानका रूपमा १३ खेल खेलेका छन् । श्रीलङ्काका माहेला जयाबर्द्धने र पाकिस्तानका मिसबाह उल हकले कप्तानका रूपमा १०—१० खेल खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप