आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा छैन : सभापति देउवा

शनिबार, ०९ भदौ २०८०, १७ : १२
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीको भावना र चाहना विपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा नहुने बताएका छन् । यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने सभापति देउवाले बताएका हुन् ।

शनिबार विज्ञप्ति जारी गर्दै देउवाले केही दिन यता धरानमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्‍याउन सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपिलसमेत गरेका छन् । उनले भनेका छन्, ‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दखल पुर्‍याउन पनि उचित हुँदैन ।’

यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको उनको जिकिर छ । ‘यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ उनले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप