आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कलाकार

अब फेरिन्छ त ‘बुलबुल’को ‘चोपेन्द्र’को परिचय ?

ग्याङ्गस्टर जनरामा बन्ने फिल्ममा अभिनय गर्न मन छ : मुकुन भुसाल, अभिनेता
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ। फिल्म रिलिजको समय त्यसका मुख्य कलाकार नायक–नायिकाको ब्यस्तता निकै बढ्छ । हलसम्म दर्शक तान्ने अस्त्र नै उनीहरू भएकोले निर्माण युनिटले प्रेसमिट, पब्लिक प्लेस प्रचारदेखि मिडिया हाउससम्म उनीहरूलाई दौडाउँछन् । सिधै भन्नुपर्दा यो समय कलाकारको खाने, बस्ने र सुत्ने ठेगानसमेत हँुदैन ।

एउटा फिल्म रिलिज समयको रुटिन त यस्तो हुन्छ भने कुनै मुख्य कलाकारको एकै समय दुई फिल्म रिलिज भए हालत के होला ? उसले सास फेर्ने फुर्सद पाउँदैन । तनावको कुरै छाडौ, कहाँ जाने, के गर्ने । कुन फिल्मको प्रचारलाई प्राथमिकता दिने ? त्यसै अलमल हुन्छ ।

अभिनेता मुकुन भुषालको अहिलेको अवस्था अहिले यस्तै छ । फरक यति हो, यो अवस्थाले उनी तनावमा भने छैनन् । बरु उनी यो समय इन्जोय गरिरहेका छन् । के गर्ने, कसो गर्ने कुनै अलमलमा छैनन् । न त दुबै फिल्म एउटै समय रिलिज हुन लागेकाले कुनै तनावै छ । 

मुकुनका ‘ऐंचो पैचो’ र ‘गणपति’ गरेर दुई फिल्म एकैसाथ १४ भदौबाट देशभर प्रदर्शनमा आउँदैछ । उनी अहिले एकसाथ दुबै फिल्मको प्रचार गरिरहेका छन् । एउटा कलाकारका लागि एउटै मितिमा दुई फिल्म जुध्नु पक्कै पनि सहज होइन ।

‘एकै समय दुई फिल्म रिलिज हुँदा हामी कलाकारलाई सारै सकस पर्छ । कुन फिल्मको के भन्ने कन्फ्युज हुन्छ’, उनले भने, ‘पालैपालो आउँदा हाम्रो काम पनि देखिन्थ्यो । प्रचारमा पनि सजिलो हुन्थ्यो ।’ एकैसाथ दुई फिल्म आउँदा दर्शकलाई कुन हेर्ने दोधार पर्नेसमेत उनको धारणा छ ।

‘हामी कलाकारका लागि आफ्नो फिल्म जुध्नु भन्दा फरक फरक समय आए राम्रो हुन्थ्यो । किनभने हामी दुई पटक मिडियामा छाउन र मिलाएर प्रचार गर्न पाउँथ्यौ’, उनले अगाडि थपे, ‘आमाबाबुका लागि सन्तान बराबर भनेझैँ हाम्रो लागि दुबै फिल्मको माया उस्तै हो ।’ 

mukun_bhusal_3_Wn9V9lMKe8

फिल्म रिलिज गर्ने निर्माताको हातमा हुने भएकोले आफ्नो फिल्म जुध्दा पनि केही गर्न नसक्ने उनले विवशता सुनाए ।

‘निर्माताले ठुलो लगानी गरेर फिल्म बनाएको हुन्छ । रिलिज कुन समय गर्दा राम्रो हुन्छ । त्यो सबै बिचार गरेर मिति जुराएको हुन्छ’, उनले अगाडि ‘त्यसमा हामीले केही भन्न मिल्दैन ।’

अहिले सिंगल रिलिज हुँदा त फिल्मलाई लगानी उठाउन धौ धौ छ । एकै समय दुई फिल्म हुँदा ब्यवसायिक असर पर्छ । यसबाट निर्मातालाई घाटा त हुन्छ नै, कलाकारको पनि करियरमा धक्का पर्ने उनी सुनाउँछन् ।

फेरिन्छ चोपेन्द्रको परिचय

मुकुनको अहिलेसम्म ‘बुलबुल’ र ‘झिँगे दाउ’ दुइ फिल्म रिलिज भएका छन् । ‘गणपति’ र ‘ऐँचो पैचो’ एकै मितिमा रिलिज हुन लागेकाले उनी दुबै फिल्मलाई तेस्रो भन्छन् । 

उनले अभिनय भने ६ फिल्ममा गरिसकेका छन् । उनको अभिनय रहेको ‘बिच्छेद’ र ‘म राजेश हमाल’ रिलिज हुन बाँकी छ । उनी अहिले ७ औं फिल्म ‘उपहार’मा अभिनयको तयारी गर्दैछन् ।

‘बुलबुल’ मा उनले चोपेन्द्र नामक् पात्रको भूमिका निर्वाह गरेका थिए भने ‘झिँगे दाउमा’ उनको भूमिका परिवारको जेठो छोराको थियो । दुईमध्ये ‘बुलबुल’मा उनले निर्वाह गरेको चोलेन्द्र पात्रको छाप भने दर्शकमा राम्रो पर्यो । त्यो छाप अहिले रिलिज हुन लागेको दुईमध्ये ‘गणपति’ले मेट्ने उनी सुनाउँछन् ।

‘ऐंचो पैचो’मा मैले राजनीतिले पिल्सिएको युवाको प्रतिनिधित्व पात्रको भूमिका निर्वाह गरेको छु । त्यसले दर्शकको मन जित्न सक्छ’, उनले अगाडि भने, ‘‘गणपति’मा भने भगवान्को रुपमा जन्मिने मानिसको भूमिका छ ।’ 

भगवान्को रुपमा जन्मिएको मानिस ठुलो भएपछि उसलाई समाजमा आइपर्ने कठिनाई, समाजले हेर्ने दृष्टिकोणमा आकाश जमिनको फरक पर्छ । कुनैबेला पूजा गर्ने मानिसलाई पछि देख्दा थुक्छन् । त्यही चरित्र ‘गणपति’मा निर्वाह गरेको उनले खुलाए । हामी सबैले महसुस गरेको र अहिलेसम्म फिल्ममा नआएको बिषयमा ‘गणपति’ बनेको मुकुनले बताए ।

358666469_3605159253091496_8833748177328029324_n

‘बुलबुल’ र ‘झिँगेदाउ’ले दर्शकमा बनाएको आफ्नो साख दुबै फिल्मले जोगाउने विश्वास मुकुनलाई छ । प्रचारप्रसार र कलाकारको हिसावले उनको ‘गणपति’ भन्दा ‘ऐंचो पैसो’ बलियो देखिन्छ । 

किनभने राम्रो प्रचारप्रसार भएको ‘ऐंचो पैचो’ मा स्वस्तिमा खड्का, बर्षा राउत, सुशील सिटौला जस्ता मल्टिस्टार कलाकारको उपस्थिति छ । 

‘गणपति’मा भने उनको अलावा मेनुका प्रधानको मुख्य अभिनय छ । ‘गणपति’ले ‘बुलबुल’बाट बनेको चोपेन्द्रको परिचय फर्नेमा उनी आशावादी छन् । 

एउटा कलाकारलाई फिल्म अभिनयका कारण ६–६ महिनामा आफ्नो परिचय फेरियोस् भन्ने चाहना हुन्छ । यसले, उसलाई काम गर्न अझै उर्जा पैदा गर्छ । 

मुकुनले पनि उही सोचका साथ ‘ऐंचो पैचो’मा अभिनय गरेका थिए । तर संयोग भनौ वा  के भनौ दुबै फिल्म एकसाथ आयो । एक वर्षपछि आफ्नो फिल्म आउन लागेकोले दुबै फिल्म राम्रो हुने आसमा छन् उनी ।

‘मैले ‘गणपति’मा पाएको भूमिका साँच्चिकै विशेष छ । यसबाट मेरो परिचय पनि बदलिनेछ’, मुकुन थप्छन्, ‘गणपति’मा स्टार कलाकार नभएको नाताले पनि मेरै चर्चा हुन्छ भन्ने छ ।’ 

यात्राको तय 

भनिन्छ, ‘एउटा कलाकारमा फरक चरित्रको भोक सधैँ रहन्छ । यदि   अभिनयको भोक मेटियो भने उसको काम गर्ने उर्जामा कमी आउँछ ।’ यही कुरामा विश्वास गर्छन् मुकुन । उनमा पनि जति फिल्म अभिनय गर्दै गयो, फरक फरक चरित्रको भोग जाग्दै आएको छ । कुन समय, कस्तो चरित्र रोज्ने भन्ने कुरो टिम र समयले निर्धारण गर्ने उनी बताउँछन् ।

347628104_3586440491630039_9100345522242726058_n

त्यसो त कलाकारले फिल्ममा अभिनय गरेर मात्र हुँदैन । फिल्मको ब्यवसाय राम्रो हुनुपर्छ । त्यसले कलाकारको सफलता र असफलताको मूल्याङकनमा अर्थ राख्छ । ब्यवसायले कलाकारको लागि नयाँ फिल्मको अफरको अलावा उसको संघर्षको बाटो सहज बनाउँछ । मुकुन पनि सफल फिल्मले यात्रामा रोचकता थप्ने सुनाउँछन् ।

मुकुन आफ्नो फिल्मबाट ब्यवसाय र रिभ्यु दुबै आस गर्छन् । ‘रिभ्युबाट आफ्नो कमी कमजोरी थाहा हुन्छ । त्यसलाई सुधार गर्दै अगाडि बढ्न सजिलो हुन्छ’, उनले भने, ‘ब्यवसायले नयाँ काम र बजारमा चर्चा दिलाउँछ ।’ 

पहिलो र दोस्रो लगालग हिट फिल्म दिएका मुकुनलाई अहिले रिलिज हुन लागेको दुबै फिल्म हिट भए हुन्थ्यो भन्ने आस छ । रिभ्यु पनि उनले पोजेटिभ नै आस गरेका छन् ।

अब ग्याङ्गस्टर

मुकुन थोरै फिल्म अभिनय गर्ने कलाकार पनि हुन् । कतिपय कलाकार पैसाको पछि लागेका छन् । राम्रो रकम पाइयो भने फिल्मको कथा र पात्रमा खासै विचार गर्दैनन् । मुकन भने पहिले कथा र पात्र चित्त बुझाउँछन् । त्यसपछि मात्र पैसा हेर्छन् । त्यसैले त उनको दुई फिल्म रिलिज हुँदा दुबै हिट भए । 

प्रश्न उठ्छ, ‘थोरै फिल्म गर्दा चल्न पुग्छ त ?’ चलचित्रबाटै चल्नुपर्छ भन्ने छैन । म अन्य कामबाट चलिरहेको छु । त्यसैले गाह्रो छैन,’ उनले जवाफ दिए ।

फिल्म अभिनयको अलावा उनी कलेज पढाउँछन् त कहिले अभिनय कक्षा पनि चलाउँछन् । त्यसले कलाकारिताको आम्दानीबाट आफ्नो खर्च कटाएर केही घरमा पनि पठाउन सकेका छन् ।

19250792_1999965693610868_5029338383705182021_o

‘आफ्नो जीवनशैली सिम्पल भएकोले खर्च धेरै नभएको सुनाउने उनी भन्छन्, ‘बुबाआमाले मेरो आम्दानीको आस त हुँदैन होला ।  तर, हामीले पठाएको सानो खर्चले पनि उहाँहरूलाई ठुलो खुसी दिन्छ भन्ने लाग्छ ।’

मुकुन बाबुआमाको ईच्छाविपरीत फिल्म क्षेत्रमा आएका हुन् । सानोमा फिल्म हेर्दा पनि ठुलै गल्ती गरेजस्तो कुटाइ खान्थे उनी । त्यसैले, सुरुको समय अभिभावकको साथ पाउने कुरै भएन उनले । अहिले भने कलाक्षेत्र पनि सम्मानित क्षेत्र हो भनेर अभिभावककले बुझेका कारण साथ पाउन थालेका छन् ।

अहिले उनले फिल्म खेलेको परिवार मात्र होइन, उनको जिल्लावासी अर्घाखाँचीका सबै खुसी छन् । किनभने त्यो जिल्लाबाट कलाकारितामा नाम कमाएको नन्दिता पछि उनी मात्रै हुन् । त्यसैले, उनको फिल्म आउँदा उनलाई नै थाहा नदिई जिल्लामा प्रचार क्याम्पियन चल्छ रे ।

मुकुनलाई अहिले ग्याङ्गस्टर जनरामा बन्ने फिल्म अभिनय गर्न मन लागेको छ । किनभने उनले पछिल्लो समय धेरै यस्तै जनराको विदेशी फिल्म हेरेका छन् । यो जनरामा फिल्म गर्न मन लागेको अर्काे कारण उनले यस्तो फिल्म अहिलेसम्म गरेकै छैनन् ।

कतिपयले मुकुनको एक्सन राम्रो होला, त्यही भएर यस्तो चाहना राख्यो पनि भन्न सक्छन् । तर उनको एक्सन भने राम्रो छैन । यस्तो जनरामा फिल्म आयो भने ६÷७ महिना समय लिएर एक्सन निखार्ने सोचमा छन् उनी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया