आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शान्त धरान, त्रस्त समाज

सामाजिक सञ्जालले बिथोलेको धरान

स्थानीय भन्छन्, ‘अतिवादीहरू जानीजानी द्वन्द्व निम्त्याउन खोज्दैछन्’
शनिबार, ०९ भदौ २०८०, २० : ३२
शनिबार, ०९ भदौ २०८०

विराटनगर । सामाजिक सञ्जालको गलत पोस्ट र स्ट्याटसको प्रभावले सुनसरीको धरान धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भयो । तर, स्थानीय प्रशासन, स्थानीय जनता र नागरिक समाजको सचेत पहलले शनिबारको सम्भावित दुर्घटना टरेको छ । 

धरान पूर्वको ऐतिहासिक सहर हो । २०१६ साल अगाडि नै विकसित सहरको रूप धारण गरेको धरानमा हिन्दुहरूको आस्थाका मन्दिरहरू पिण्डेश्वरी, दन्तकाली, बुढासुब्बा चर्चित छन् । त्यहाँ धार्मिक पर्यटनको पर्याप्त सम्भावना छ । त्यति मात्रै होइन धरान धेरै जातजाति, भाषा, भाषी र दर्जनौँ संस्कृतिको केन्द्र पनि हो । 

02-Dharan (2)

त्यही धरानलाई जातीय र धार्मिक द्वन्द्वको केन्द्र बनाउने प्रयास भयो । तर, यो अभियानमा धरानका स्थानीय थिएनन् । धरान बाहिरका अतिवादीहरू थिए । धरानमै बसोबास गरेका औँलामा गन्न सकिने २÷४ जना व्यक्तिहरूले गरेको उग्रअतिवादलाई बाहिरका धेरै अतिवादीले उचाल्ने कोसिस गरेका थिए । उक्त प्रयास प्रशासनको सचेततापूर्ण पहलले अन्त्य गरिदिएको धरानकै अगुवाहरू बताउँछन् । 

धरानस्थित दन्तकाली मन्दिरका पुजारी हुन् कमल भट्टराई । उनको नजरमा धरानमा त्यस्तो जातीय र धार्मिक द्वन्द्वको अवस्था छैन । ‘सामाजिक सञ्जालमा विभिन्न तरिकाले फेक आईडीबाट नानाथरी लेख्ने काम भइरहेको छ । तर, कसले कहाँबाट के गरेको हो भन्ने बुझिएको छैन,’ उनले भने, ‘यहाँ त्यस किसिमको द्वन्द्व र सामाजिक सद्भाव बिथोलिने अवस्था छैन ।’

04-Dharan (4)

धरान भनेको पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली रहेको धार्मिक क्षेत्र हो । यद्यपि त्यहाँ अन्य जातजातिको पनि बसोबास छ । गोरु काट्ने र मासु खाने चलन यसअघि पनि थियो नै । ‘यहाँभन्दा अगाडि हामीले थाहा पाउँदा पनि धरानमा गोरु नखाएका होइनन् । गोरु खान्थे गुपचुपमा खान्थे । उनीहरू कसैले केही बिगारेका थिएनन् । दुई ठाउँमा काट्थे । मानिसहरूले थाहा पाएका पनि थिए । तर, म खाएँ भनेर भन्दैन थिए । खाने मन भएकाले खाने, मन नभएकाले खाँदैन थिए । त्यसबेला सामाजिक सद्भाव कायमै थियो,’ भट्टराई भन्छन्, ‘सामाजिक सञ्जालमा गोरु खाँदैछौँ, गाई खाँदैछौँ भनेर हल्ला गरेर हालेपछि समस्या सिर्जना भएको हो । यद्यपि यही घटनाको कारण धरानको आन्तरिक समाज भड्किने वा द्वन्द्वमा जाँदैन ।’

केही दिन अगाडि धरानमा चर्चको विवाद भयो । त्यहाँ चर्चको विवाद लिएर नगरप्रमुख हर्क साम्पाङसँग डेलिगेसन जाँदा उनले ‘अदालत जानु’ भन्दै मिलाउने प्रयास गरेनन् । गोरु काट्नेहरूले पनि पाउनु पर्छ भनेर ज्ञापनपत्र लिएर उपमहानगरपालिका गए । त्यसलाई नगर प्रमुख साम्पाङले सहज ढङ्गले लिए । त्यसैले समस्या निम्त्याएको उनी बताउँछन् । ‘धरानका धार्मिक संघसंस्थाहरुले पनि नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् र उनीहरूको माग भनेको सबै धर्म जात र समुदाय मिलेरै बस्नुपर्छ भन्ने खालको रहेको छ,’ भट्टराईले भने । 

10-Dharan (10)

पूर्वमेयर तथा महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक कुमार कार्की पनि धरानमा बाहिरबाट आक्रमण भएको बताउँछन् । ‘धरानको सद्भावलाई कायम गराउन नगरपालिका कमजोर रह्यो । त्यही कारण हामीले पूर्वमेयर, नागरिक अगुवाहरूले सद्भाव र्‍याली निकालेका हौँ । हामीले दुवै पक्षसँग गएर छलफल गर्यौं । धेरैले बाहिरबाटै खेलिरहेका छन् । हामीले दुवै पक्षलाई भनेका छौँ, कानुनको परिधिभित्र रहेर आफ्नो कुराहरू राख्नुहोस् । समुदायगत र धार्मिक हिसाबले जुधेर होइन । आ–आफ्ना नमिलेका कुराहरू छलफल गरेर मिलाउन भनेका छौँ,’ उनले भने, ‘धरान विचलित हुनुहुँदैन । धरानमा आगो सल्काएर कसैलाई पनि फाइदा हुँदैन । सामाजिक सञ्जाल अराजक बनेपछि धरानमा समस्या सिर्जना हुने हो कि जस्तो देखिएको हो । अहिले त्यो समस्या टरेको छ ।’

07-Dharan (7)

कार्कीले धरानको ऐतिहासिकताबारे थप प्रस्ट्याउँदै भने, ‘धरान नै यस्तो ठाउँ हो त्यहाँ पहाड, हिमाल, मधेसका सबै जातजाति, जनजाति र संस्कृतिले विविधतायुक्त भएको सहर हो । सांस्कृतिक पक्षधरहरूले बाहिरबाट मान्छे बोलाउने काम खराब हो । पूर्वसचिव जस्तो मान्छेले राँगाको खुट्टा खाएको टिकटकमा हालेको कुरालाई गोरुको खुट्टा भनेर भाइरल गरेपछि पनि समस्या आएको हो ।’

उनले धरानमा खुलेआम गोरु खाएको भनेर भन्दा पनि प्रशासन बेलैमा सतर्क नभएको बताए । ‘खाए कि खाएनन् । तर, सामाजिक सञ्जालले धेरै कुरा बिथोलेको हो । सामाजिक सद्भाव खलबल्याउन कसैले पनि दुष्प्रयास गर्नुभएन । जहाँनेर गल्ती भएको छ । त्यहीँबाट सच्याउनु पर्छ,’ उनी भन्छन् । 

नगरपालिकाले पनि विधिवत् ढङ्गले सबै पक्षलाई बोलाएर पहल गरेको भए बेलैमा समस्या समाधान हुने आफूले पाएको उनी बताउँछन् । ‘सामाजिक सञ्जालमा अनेक कुरा आउँदा प्रशासन पनि किन चुप लाग्यो ? जे भए पनि धरानमा सामाजिक सद्भाव बिथोलिन हुँदैन । बिथोलिने प्रयास गरे पनि सरकार सतर्क हुनुपर्‍यो,’ उनले भने । 

धरानका बौद्धिक व्यक्तित्व तथा सामाजिक अगुवा प्रा.डा. टङ्क न्यौपानेले पनि धरानमा अतिवादीहरू देखिएको बताए । त्यसलाई बाहिरका अतिवादीले झनै आगोमा घ्यू थप्ने कोसिस गरेको उनको भनाइ छ । ‘धरानमा दुवैतिर केही अतिवादीहरू छन् । तिनीहरूले जानीजानी द्वन्द्व निम्त्याउन खोजेको देखियो । एकथरी साथीहरूले लु हामीले गोरुको मासु खायौँ भनेर फेसबुकमा फोटो हाले । त्यो आवश्यक नै थिएन । खाएर चुपचाप बसेको भए भइजान्थ्यो । त्यो अतिवाद हो । त्यसो उनीहरूले गरे भनेर अर्को थरीले प्रतिकार गर्ने कुरा पनि अतिवाद हो,’ न्यौपानेले भने, ‘धरानमा क्षेत्री बाहुनको चाडबाडमा राई, लिम्बू जाने, राई लिम्बूको चाडबाडमा क्षेत्री बाहुन पनि जाने गर्छन् । धरान सद्भाव कायम रहेको सहर हो । हाम्रो नेपाली समाज भनेको युगौँदेखि सद्भाव कायम राखेर बाँचेको समाज हो । धरानका दुईचार जना उफ्रेर केही हुँदैन । त्यहाँको सद्भाव यति सानो घटनाले खलबलिँदैन ।’

06-Dharan (6)

धरानका निवर्तमान नगरप्रमुख तिलक राईले पनि सामाजिक सञ्जालको प्रभावकै कारण धरानलाई अशान्त पार्न खोजिएको बताए । ‘पूर्वसचिवज्यूले के पोस्ट गरिदिनुभयो रे त्यसपछि बिग्रियो धरानको वातावरण,’ पूर्वसचिव भीम उपाध्यायप्रति लक्षित गर्दै राई भन्छन्, ‘बाहिरको कारणले धरानमा समस्या देखिएजस्तो प्रचार भएको मात्रै हो । धरानमा भएका ओमकार समूह, किराँती समुदाय कोही पनि संस्थागत ढङ्गले द्वन्द्वमा लागेका छैनन् । केही व्यक्ति विशेषको कारणले आज यस्तो भएको हो ।’

उनले घटनाको सिलसिला चर्च विवाददेखि सुरु भएको सुनाए । ‘नगरप्रमुखले यसको गाम्भीर्य बुझेर जिम्मेवारी बोध गरिदिएको भए अहिलेको अवस्था आउँदैन थियो,’ उनले भने । नगरमा अभिभावकीय भूमिका निर्वाह नभएको कारण पनि मानिसहरू भड्किएको उनको धारणा छ । यस्तै के खाने के नखाने देखाएर गर्नु नहुने र त्यसले पनि अतिरञ्जित बनाएको राई बताउँछन् । 

धरानका इस्लाम धर्मका अगुवा अफाग अहमदले पनि धरानमा मिडियामा आएजस्तो आन्तरिक समस्या नरहेको बताए । ‘केही पृष्ठभूमिमा समस्या देखिएको हो । धरानको स्थानीय नगरवासीमा कुनै द्वन्द्व छैन । पछिल्लो समयमा देखिएको विवाद मिडियामा छताछुल्ल छ । त्यो विवादको सही ढङ्गले व्यवस्थापन नहुँदा खेल्नेहरूले खेलेका हुन्,’ उनले भने, ‘एकपटक चर्च र मन्दिरको विषयमा भएको छलफलले मूर्त रुप पनि लिएको थिएन । त्यसैले अराजकताको मोड लिएको हो कि जस्तो पनि देखिन्छ । सामाजिक द्वेष फैलिजाने खालको पनि होइन । धरानमा चण्डी नाचमा राई लिम्बू भन्दा क्षेत्री बाहुन बढी नाच्छन्, लाखे नाच हुँदा राई लिम्बू बढी नाचिरहेका हुन्छन् । धरानमा त्यस खालको समस्या छैन ।’

12-Dharan (12)

धरानकै जङ्ग चेम्जोङ पनि मिडियामा आएको जस्तो धरान नभएको बताउँछन् । ‘यो जमानामा सबैले सबैको सम्मान गर्ने हो । कसैलाई निषेध गर्ने पनि होइन,’ उनी भन्छन् । धरान १० कि तिलकुमारी लिम्बू पनि धरानको समाजमा कोही पनि त्रसित नरहेको बताउँछिन् । ‘हामी त्रसित छैनौँ । यहाँका मानिस एक आपसमा लडाई गर्दैनन् । बाहिर बाहिर हल्ला भएको मात्रै हो,’ उनले भनिन् । 

धरानकै देवलाल श्रेष्ठ ३० वर्षदेखिका बासिन्दा हुन् । उनलाई अहिलेसम्म धरानमा सामाजिक सद्भाव खलबलिने गरी गतिविधि भएको थाहा छैन । ‘खाएको भए पनि सामाजिक सञ्जालमा नहालेको भए हुन्थ्यो । तर, धरानमा युद्ध हुन लाग्यो । द्वन्द्व हुन लाग्यो भन्ने हल्ला धेरै भयो । त्यही भएर होला प्रशासनले निषेधाज्ञा जारी गरेको,’ उनले भने । नगरप्रमुख हर्क साम्पाङले पनि सन्तुलित भूमिका खेल्न नसकेको भन्दै उनले चित्त दुखाए ।

उता, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भने आफूलाई असफल बनाउन यो सब भइरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा साँझ स्ट्याटस पोस्ट गर्दै उनले भनेका छन्, ‘मलाई असफल बनाउन यी सब गरेका रे !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप