आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चाडपर्वको व्यापारका लागि चालू पुँजी कर्जा सोझै रकमान्तर गर्न पाइने

सोमबार, ११ भदौ २०८०, ११ : ५५
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । केन्द्रीय बैङ्कले चालू पुँजी कर्जा सम्बन्धी व्यवस्थामा केही लचकता अपनाएको छ । सोमबार चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको बैङ्कले उत्पादनमुलक उद्योगले पाउने २ करोडको सीमाबाट एकैपटक शतप्रतिशत बढाएर ४ करोड पुर्‍याइदिएको छ । 

यस्तै, केन्द्रीय बैङ्कले चालू पुँजी कर्जाको अन्य प्रावधानहरू समेत संशोधन गर्दै कर्जाको नवीकरण, थपसँगै आपतकालीन अवस्थामा यस्तो कर्जा सोझै रकमान्तर (एक शीर्षकबाट अर्कोमा) गर्ने सुविधा समेत प्रदान गरेको छ ।

केन्द्रीय बैंककाअनुसार यस्तो कर्जा अब रासायनिक मल खरिदसँगै चाडपर्वसँग सम्बन्धित व्यापार आदिका लागि समेत चालू पुँजी कर्जा सोझै रकमान्तर गर्न पाइनेछ ।

‘ऋणीको सोही संस्थामा वा अन्य संस्थामा रहेको कुनै पनि कर्जा चुक्ता गर्ने प्रयोजनका लागि कुनै पनि किसिमको कर्जा प्रदान गर्न वा सीमा थप गर्न पाइने छैन । तर, ऋणीको व्यवसायसँग सम्बन्धित कुनै प्रयोजनका लागि अप्रत्याशित रूपमा वित्तीय स्रोतको आवश्यकता भएमा सम्बन्धित प्रयोजनमा सोझै रकमान्तर हुने गरी आकस्मिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न बाधा पर्ने छैन । यस्तो प्रकृतिको कर्जा व्यवसायलाई समेत (जस्तै रासायनिक मल खरिद, चाडपर्वसँग सम्बन्धित व्यापार आदि) औचित्यको आधारमा प्रवाह गर्न सकिनेछ’ मार्गदर्शनमा भनिएको छ । 

यस्तो कर्जा नवीकरण भएको वा उद्देश्यबमोजिम प्रयोग भएको नपाइएमा सो कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शत प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटकभन्दा बढी आकस्मिक प्रकृतिको अडोसी कर्जा आवश्यक परेमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्ने बैङ्कले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप