आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी विशेष अभियानको तयारी अन्तिम चरणमा, सातै प्रदेशमा टुङ्गियो कार्यविभाजन

सोमबार, ११ भदौ २०८०, १३ : ४०
सोमबार, ११ भदौ २०८०

काठमाडौं । भदौ १६ गतेदेखि सुरू हुने नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।

२५ लाख जनताबिच पुग्ने लक्ष्यसहित तीन चरणको अभियान सुरू गर्न लागेको माओवादी केन्द्रले सातै प्रदेशमा पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटी र प्रदेश कमिटी सदस्यहरूको जिम्मेवारी टुङ्ग्याएको हो । अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् ।

साउन १७–२१ गतेसम्म बसेको माओवादी केन्द्रीय समिति बैठकले १० वटै प्रदेशको इन्चार्ज फेरबदल गरेको थियो । त्यसपछि सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बसेर नेताहरूको अन्तरजिल्ला जिम्मेवारी टुङ्ग्याइसको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

अभियानको उद्घाटन राष्ट्रिय सभा भवनबाट गर्ने तयारी

भदौ १६ गते अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभागृहबाट गर्ने तयारी भएको उपाध्यायले बताए । उनका अनुसार उद्घाटन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गर्ने तयारी भए पनि प्रविधिले साथ नदिएकाले राष्ट्रिय सभागृहबाट गर्न लागिएको हो । अभियानको उद्घाटन बिहान ११ बजे जुममार्फत गर्ने तयारी छ । तर ७५३ पालिकामा एकसाथ लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने वा सीमित क्षेत्रमा लाइभ गर्ने भन्ने निश्चित नभइसकेको उपाध्यायले बताए ।

‘पूरै कार्यक्रम लाइभ गर्ने वा उद्घाटन समारोह लाइभ गरेर सम्बन्धित वडाहरूको सिर्जनशिलतामा सञ्चालन गर्ने भन्ने विषय टुङ्गिएको छैन । अभियान कसरी सञ्चालन गर्ने भन्ने तयारी बैठक वडा वडामा भइरहेको छ’, उनले भने, ‘उद्घाटनको दिन अध्यक्षले सम्बोधन गर्नुहुन्छ । त्यसमा जुममार्फत सबै जोडिन्छन् । जुममा जोडिन सम्भव नभए सामाजिक सञ्जाल फेसबुक, ट्वीटर मार्फत् लाइभ हुन्छ । त्यसपछि सम्बन्धित वडाले बनाएको कार्यतालिका अनुसार तीन चरणको अभियान सञ्चालन हुन्छ ।’

वडा–वडाले तोकेको कमाण्डरको नेतृत्वमा अभियान सञ्चालन हुने उनको भनाइ छ । अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको उनले जानकारी दिए । स्थानीय तहमा पुग्दा जनताको काम जनतासँगै गर्ने र बस्दा, हिँड्दा, बोल्दा पार्टीको कुरा गर्ने गरी निर्देशिका बनेको उनको भनाइ छ ।

उपाध्यायले प्रचण्ड र नारायणकाजी श्रेष्ठ जाने भनिएको सात प्रदेशको सात वडा तय नभइसकेको जानकारी दिए । अभियानको अवधिभर खानपानको व्यवस्था आफैँले गर्नुपर्नेछ ।

‘सात प्रदेशको सात वडामा जाने निश्चित भयो तर कुन वडामा कहिले जाने भन्ने निश्चित भइसकेको छैन । कुन प्रदेशको कुन वडामा को कसरी जाने भन्नेमा तय भइसकेको छैन । कार्यक्रम नजुध्ने गरी सम्बन्धित प्रदेशले आइदिनु भनेपछि उहाँहरू जानुहुन्छ’, उनले भने ।

सातै प्रदेशमा टुङ्गियो कार्यविभाजन

सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको  परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटी लगायत विषय टुङ्गिएको सचिव डिलाराम आचार्यले बताए ।

माओवादीमा सात प्रदेशबाहेक उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास गरी तीन वटा गैर भौगोलिक प्रदेश छन् । प्रवासमा ६ वटा क्षेत्रमध्ये दक्षिण एशियाका नेता तथा कार्यकर्ता आ–आफ्नै वडामा पुगेर अभियानमा सहभागी हुने र बाँकी क्षेत्रका व्यक्तिहरूले आर्थिक संकलन गरी अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरू उपत्यकाका अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ ।

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरू गर्ने तयारी छ । उद्घाटनको दिन सबै केन्द्रीय सदस्यहरु वडा तहमा पुग्ने र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको सचिव आचार्यको भनाइ छ ।

कसले के गर्ने ?

परिपत्रअनुसार प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्थायी समिति सदस्य नरहेका प्रदेशहरुमा वा स्थायी समिति सदस्यहरू भए पनि केही वरिष्ठ केन्द्रीय सदस्यहरु समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरू नपरेमा, दल नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ ।

अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरुलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।

एउटा अभियान टोलीको जिम्मामा १०÷११ वडा पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ ।

पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरू, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।

यस्तो छ अभियानको लक्ष्य

१. नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने गरी पार्टी र जवस÷मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने ।

२. कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने ।

३. आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा सञ्चालित स्थानीय सरकारहरुले कम्तीमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने । संघीय सरकारले कृषि तथा वनमा आधारित साना उद्योग, उत्पादन र बजारीकरणको क्षेत्रमा पार्टी प्रदेश समितिको सिफारिसबमोजिम ७ वटै प्रदेशमा एक÷एक वटा आयोजना सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने ।

४. अभियानको संयोजन र सञ्चालन सम्बन्धित प्रदेशका इञ्चार्जहरुले गर्ने ।

५. अभियान अवधिभर सामान्यतया केन्द्रीय पदाधिकारीहरुलाई अन्तर प्रदेश, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुलाई अन्तर जिल्ला तथा प्रदेश सदस्यहरुलाई अन्तर पालिका खटाउने गरी कार्यक्षेत्र विभाजन गरिनेछ । जहाँ जनता त्यहाँ संगठनको मान्यता अनुसार अस्थायी बसोबास स्थलमा समेत कार्यक्षेत्र तोकी पठाइनेछ ।

६. सामान्य कार्यक्षेत्र प्रदेश, जिल्ला पालिका तोकिए पनि मुख्य कार्यक्षेत्र (योजना कार्यान्वयनको क्षेत्र) वडालाई बनाउनुपर्नेछ ।

७. पार्टी केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार सदस्यहरुको नेतृत्वमा पार्टी प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका पदाधिकारी, केन्द्रीय र प्रदेश विभागका सदस्य, जवस÷मोर्चाका केन्द्रीय सदस्य र प्रदेश समिति पदाधिकारीहरु सम्मिलित वडा केन्द्रित अभियान टीम बनाइनेछ ।

८. अभियान टीमले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रमहरु सञ्चालन गर्नेछ । अभियान टीममा कलाकार, संस्कृतिकर्मीहरुलाई पनि सहभागी गराउनुपर्नेछ ।

९. अभियान सञ्चालनका लागि प्रदेशमा एक सचिवालय गठन गरिनेछ ।

यस्ता छन् विस्तृत कार्ययोजना समावेश भएका विषय

केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनलाई आधारमा प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना तयार गरिएको उपाध्यायले जानकारी दिए । जसमा निम्न विषय समावेश गरिएको छ ।

 १. सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ सञ्चालन गर्ने ।

२. पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

३. वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।

४. सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामहरुलाई आम जनताकाबिच पु¥याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपिल गर्ने ।

५. नेपालको राजनैतिक परिवर्तनका शृङ्खला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यान्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।

६. आठौं महाधिवेशनद्वारा पारित ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिहरुलाई पार्टी पंक्ति र जनसमुदायबिच पु¥याउने ।

७. आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरु जल जंगल जमिनको व्यवस्थापन सम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्य सम्बन्धी नीतिहरु सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।

८. विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढङ्गको कम्युनिस्ट पार्टीबारे पार्टी पंक्तिमा व्यापक छलफल गर्ने ।

९. शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेसाका आधारमा संगठित गर्ने ।

१०. सहकारीहरुलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल बिउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।

११. पर्यटन, साना उद्योग सम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।

१२. वडाको समग्र डाटा संकलन गर्ने ।

१३. आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरुले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा स्थापित गर्ने ।

 १४. पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरुले नमूना योजना बनाई कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरुले विशेष सहयोग गर्ने ।

१५. शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरुको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।

१६. सहरी क्षेत्रमा टोल सुधारका कामहरु, पानी–बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान, आदिवासीहरुबिच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।

१७. प्राध्यापक, बुद्धिजिवी, सेवा निवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरुको अलग अलग डाटा संकलन गर्ने, उनीहरुसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरुबारे सुझाव लिने र उनीहरुलाई संगठित गर्ने नयाँ उपायहरु खोज्ने ।

१८. विदेशमा रहेका श्रमिकहरुको स–साना इकाइहरु बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरुसँग प्रत्येक्ष सम्पर्क गरी समस्याहरु संकलन गर्ने र समाधानको पहल गर्ने ।

१९. प्रचार प्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनका लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र उपलब्धिहरुको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरुले ३ महिने अभियानको डकुमेन्ट्री बनाउने ।

२०. पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरुबिच अन्तरक्रिया गर्ने ।

२१. सबै तहका सरकारसँग पार्टी, जवस÷मोर्चा वा अन्य सरोकार समितिहरुको तर्फबाट जनजीविका लगायत विषयमा ज्ञापनपत्र÷मागपत्र पेस गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप