अमेरिकासामु नेताहरू थरथर काँपे : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको जिकिर गरेका छन् । विप्लव नेतृत्वको नेकपाले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै खनालले उक्त धारणा राखेका हुन् ।
नेपालमा झण्डै इन्डो–प्यासेफिक स्टाट्रेजी (आइपिएस) लागू भएको भन्दै खनालले जनदबाबका कारण रोकिएको जिकिर गरे । उनले अमेरिकाकासामु नेपाली नेताहरू थरथर काँपेर एमसीसी अनुमोदन गरेको समेत आरोप लगाए ।
‘एमसीसी अनुमोदनका लागि बाइडेन साबले डोनाल्ड डू साबलाई यहाँ पठाए । तपाईंले यो पास गर्नुहुन्छ भने गर्नोस् होइन भने तपाईँहरूलाई चीनियाँ एजेण्ट भन्छौं भनेपछि हाम्रा नेताहरू थरथर काँपेर एमसीसी अनुमोदन गरे’, उनले भने ।
अमेरिकाको समयसीमा अनुसार एमसीसी लागू गर्न दबाब दिएको भन्दै यो कसरी लागू हुन्छ त्यो भने हेर्न बाँकी रहेको उनले बताए । उनले संसदबाट अनुमोदन भएको व्याख्यात्मक टिप्पणीसहितको एमसीसीलाई नाटकको संज्ञा दिए ।
‘व्याख्यात्मक घोषणा भनेको लाज ढाक्ने धोतीबाहेक केही होइन । यसले केही गर्नेवाला छैन । अमेरिकाले सुन्नेवाला पनि छैन । सुनिहाले पनि यसको केही अर्थ छैन’, खनालले भने ।
एमसीसी लागू गर्न आउन लागेका अमेरिकी टोलीलाई विमानस्थलमा जाँचसमेत गर्न नपाउने सम्झौतामा उल्लेख भएको उनको भनाइ छ ।