आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदूत पार्कबीच सहकार्य तथा सम्बन्धका आयामबारे छलफल

मङ्गलबार, १२ भदौ २०८०, १६ : २२
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच सहकार्य र सम्बन्धका आयामबारे बृहत् छलफल भएको हो । 

शिष्टाचार भेटका लागि गृह मन्त्रालय आएका राजदूत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे ।

समयका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठप्रति कृतज्ञता जनाउँदै राजदूत पार्कने नेपालमा आफूले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । 

दुई देशबीच सांस्कृतिक लगायत धेरै समानता रहेको आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उनले स्मरण गरे ।

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र 'कोइका'मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पुर्‍याएकोमा धन्यवाद दिए । दशकौंको आन्दोलनपछि प्राप्त राजनीतिक परिवर्तनसँगै अहिले नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण हुने पनि श्रेष्ठले बताए । 

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताए । 'इपिएस' कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिँदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ र दक्षिण कोरियाको राजधानी सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्नुपर्ने समेत बताए । त्यसबाट नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्यमा उल्लेखनीय वृद्धि हुने, नागरिक नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनले बताए ।  

राजदूत पार्कले नेपाल-दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबीचको सम्बन्ध र समृद्धि भएको बताए । 'इपिएस' कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताए । 'इपिएस' र 'कोइका'मार्फत उद्यमशिलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप