आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पोखरीमा साइकल सरर...
फोटोफिचर

पोखरीमा साइकल सरर...

बुधबार, १३ भदौ २०८०

भक्तपुर । नुवाकोटका रोजिन लामाले अहिलेसम्म कि त पानीमा पौडी खेलेका थिए कि डुंगामा सयर गरेका थिए । तर यो पटक भने उनले पानीमाथि साइकल चलाएर नयाँ अनुभव गर्न पाए ।  

‘पोखरा जाँदा फेवातालमा डुंगा चलाएको थिएँ तर यसरी साइक्लिङ भने पहिलो पटक नै गरेको हो । यो मेरा लागि निकै भिन्न अनुभव भयो । सुरुमा त डर लागेको थियो तर सजिलै रहेछ चलाउन । नयाँ कुरा अनुभव गर्न पाइयो,’ करिब १२ मिनेट नःपुखुको वाटर बाइकमा २ फन्को लगाएका लामाले रातोपाटीलाई भने ।

करिब एक हप्ता अघिदेखि भक्तपुरको इतांक्षेमा रहेको नःपुखु (गुह्य पोखरी) मा भक्तपुर नगरपालिकासंगको सहकार्यमा टीएन इडभेन्चर्सले वाटर बाइक सुरु गरेको हो । हरेक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म र बिदाको दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म वाटर बाइक चलाउन पाइन्छ ।

प्रति व्यक्ति २०० नेपाली रुपैँया तिरेर एकपटकमा २ जना एउटा बाइकमा १५ मिनेटसम्म सयर गर्न सक्छन् । कम्पनीले अहिले ५ वटा वाटर बाइक सञ्चालन गरिरहेको छ । साइकलजस्तै पेडल चलाएर र हेण्डल मोडेर सजिलै चलाउन सकिने भएकाले पनि यसको क्रेज अहिले बढ्दै गएको सञ्चालक बताउँछन् ।

‘हामीले सुरुमा त दैनिक ५० जोडी (१०० जना) लाई सेवा दिने उद्देश्य थियो तर अहिले दैनिक जसो करिब १०० जोडी (२०० जना) आउनुहुन्छ । दिउँसोको समयमा चाप अलिक धेरै हुने र धेरै समय कुर्नुपर्ने भएकाले पनि हामीले कतिलाई त फिर्ता नै पठाउनु परेको पनि छ,’ सञ्चालक कम्पनीका सदस्यमध्येका एक सुदर्शन न्यौपानेले रातोपाटीलाई बताए ।

भक्तपुर महानगरपालिकाले नः पुखुमा सयर गर्ने जो कसैले पनि अनिवार्य लाइफ ज्याकेट लगाउनुपर्ने र सवार व्यक्तिको अनिवार्य बीमा गर्नुपर्ने नियम बनाएको छ । साथै कुनै दुर्घटना भएको खण्डमा उद्दारका लागि रेसक्युअर र रेस्क्यु बाइक पनि तयार अवस्थामा राख्नुपर्ने सर्तसहित अनुमति दिएको न्यौपानेले बताए । 

‘विदेशमा त यस किसिमका क्रियाकलाप हुने गर्छन् तर नेपालमा भने यो नेपालमै पहिलो पटक सुरु भएको मनोरञ्जनको साधान हो । भक्तपुर घुम्न आउने मानिसहरुलाई केही नयाँपन दिउँ भनेर पनि हामीले यहाँ वाटर बाइक सुरु गरेका हौँ,’ न्यौपानेले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया