आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी अभियान

माओवादीले किन गर्दैछ घट्टेडाँडाबाट जनतासँग विशेष रूपान्तरण अभियान ?

बिहीबार, १४ भदौ २०८०, १७ : ४०
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान चन्द्रागिरि–२ घट्टेडाँडा पार्कबाट गर्ने भएपछि व्यवस्थापनको तयारीमा नेताहरू जुटेका छन् ।  शनिवार प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष प्रशारणकाबीच अभियान सुरु भएको घोषणा गर्नेछन् ।

दिउँसो १ बजे उद्घाटन गर्नुअघि प्रचण्डले पार्कमा वृक्षारोपण गर्ने, त्यसपछि जुममार्फत ७५३ वटै पालिकामा प्रत्यक्ष प्रसारण गर्ने कार्यतालिका रहेको इन्चार्ज माधव सापकोटाले जानकारी दिए ।  उनकाअनुसार उद्घाटन समारोहपछि प्रधानमन्त्रीले जनताको गुनासा, समस्या बुझ्ने र जवाफ दिने गरी अन्तरक्रिया राखिएको छ । 

समारोहमा पदाधिकारीबाट बागमती प्रदेशका इन्चार्जसमेत रहेका उपमहासचिव जनार्दन शर्मा, कोषाध्यक्ष श्रीराम ढकाल सहभागी हुनेछन् । प्रचण्डले यसअघि नै सात प्रदेशको सात वडामा गएर जनतासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने घोषणा गरिसकेका छन् ।

साउनको तेस्रो साता सकिएको केन्द्रीय समिति बैठकले रूपान्तरणका लागि विशेष अभियान चलाउने निर्णय गरेको थियो । अभियानका लागि पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । कम्तीमा पनि एक वडामा एक सदस्य अभियानमा खट्नुपर्नेछ । 

किन छानियो घट्टेडाँडा ?

माओवादीले केन्द्रीय समिति बैठक सकिएलगत्तै अभियानको उद्घाटन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गर्ने तयारी गरेको थियो । प्राविधिक समस्या देखिएपछि राष्ट्रिय सभागृहबाट प्रत्यक्ष प्रसारण गरेर प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको थियो ।

तर राष्ट्रिय सभागृहबाट गर्दा परम्परागत हुने र त्यसले राम्रो सन्देश नजाने भन्दै प्रचण्डले प्रत्यक्ष रूपमा वडामै जाने इच्छा देखाएपछि काठमाडौँ उपत्यकाभित्र प्रधानमन्त्रीलाई पायक पर्ने गरी वडाको खोजी गर्दा घट्टेडाँडा सबै प्रकारले उपयुक्त भएको सापकोटाले बताए । 

‘अध्यक्षले राष्ट्रिय सभागृहबाट गर्दा परम्परागत कार्यक्रमको निरन्तरता हुने कुरा राख्नुभयो । प्रत्यक्ष रूपमा जनतामै जाने इच्छा राखेपछि उहाँलाई सजिलो हुने गरी काठमाडौँकै वडा खोजी गरियो’, उनले भने, ‘उक्त वडा लगातार २ पटक माओवादीले प्यानलै जितेको, जनजाति र दलित समुदायको बाहुल्यता भएको, अध्यक्ष प्रचण्डले निर्वाचन जितेको क्षेत्र पनि भएकाले उक्त स्थान रोजिएको हो ।’ 

गत स्थानीय तहको निर्वाचनमा सो वडामा माओवादी केन्द्रले वडाध्यक्षसहित प्यानलै विजयी हासिल गरेको थियो । माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए । 

सापकोटाले १५ वडामध्ये १४ वडामा बिहान ९ बजे एकसाथ उद्घाटन गर्ने जानकारी दिए । तीन महिनासम्म के के काम गर्नेबारे क्यालेन्डर बनाएर जाने योजना भएको उनले बताए ।  

माओवादीले केन्द्रीय सल्लाहकार, केन्द्रीय परिषद्, विभाग, केन्द्रीय आयोग सबैलाई जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाएको छ । सल्लाहकार र आयोगका नेताहरूले अभियानको अनुगमन गर्नेछन् । जुन वडामा जो सिनियर नेता उपस्थित छन् उसैले अभियानको उद्घाटन गर्न निर्देशन दिइएको छ । अभियानभर जनतासँगै रहेर जुन स्थानमा जे समस्या छ, त्यसलाई हल गर्न निर्देशन दिइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप