आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै वडाबाट माओवादी विशेष अभियानको सुरु हुनेभएपछि चन्द्रागिरि–२ का वडाध्यक्ष दंग

बिहीबार, १४ भदौ २०८०, १८ : ५८
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान आफ्नो वडाबाट सुरु गर्न लागिएकोमा चन्द्रागिरि–२ का वडाध्यक्ष भाइकृष्ण तामाङ दंग परेका छन् । 

आफ्नै वडाबाट सिंगो माओवादी रूपान्तरण अभियानको सुरूवात हुने भएपछि उनी दंग परेका हुन् । उनी अहिले अभियान तयारी बैठकमा बस्ने, केन्द्रीय नेताहरू वडाको अवस्थाबारे जानकारी गराउने, नेताहरूको व्यवस्थापन लगायत काम व्यस्त छन् । बिहीबार अभियान तयारी वडास्तरमा कसरी गर्ने भन्ने सम्बन्धमा विस्तारित बैठक राखेका थिए । समारोहस्थल व्यवस्थापन तयारीमा उनलाई भ्याइनभ्याइ थियो । 

रूपान्तरण अभियानको उद्घाटन आफ्नै वडाबाट हुनेमा  कल्पना नगरेपनि अध्यक्ष प्रचण्डलाई ल्याउन उनले पहल गरेका थिए । 

‘अध्यक्षज्यूले काठमाडौँकै कुनै एक वडामा जाने इच्छा देखाउनुभएकाले उहाँलाई हाम्रो वडामा ल्याउन प्रस्ताव गरेका थियौं । काठमाडौँमा माओवादी केन्द्रले प्यानलै जितेको वडा हाम्रो मात्र हो । अहिलेमात्र होइन अघिल्लो निर्वाचनमा पनि माओवादीले जितेको थियो । यो क्षेत्र उहाँको निर्वाचन जितेको क्षेत्र पनि हो । यी सबै हिसाबले अध्यक्षज्यूलाई ल्याउन हामीले बारम्बार पहल गरेका थियौं । तर अभियान नै यहीँबाट हुने भएपछि हामी निकै खुसी छौं’, रातोपाटीसँग उनले भने । 

विशेष अभियानपछि माओवादी फेरि जाग्ने उनको विश्वास छ । व्यवस्था परिवर्तनको नेतृत्व माओवादीले गरेकाले अब अवस्था परिवर्तनको नेतृत्व माओवादीले नै गर्ने उनको जिकिर छ । उनले पार्टी मात्र रूपान्तरण नभई देशकै रूपान्तरणका लागि माओवादी फेरि जाग्ने जिकिर गरे ।   

साउन (१७–२१) काठमाडौँमा बसेको  माओवादी केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यलाई वडामा खटाउने निर्णय गरेको थियो । प्रचण्डले सात प्रदेशको सात वडामा जाने घोषणा गर्दै केन्द्रीय सदस्यहरूलाई समेत वडामा गएर काम गर्न निर्देशन दिएका थिए । 

गतवर्ष भएको स्थानीय तह निर्वाचनमा उनीसहित माओवादी केन्द्रले प्यानलै जितेको थियो । तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामालाई २२४ मतान्तरले पराजित गरी विजयी भएका थिए । उनले ९४९ मत पाउँदा अर्जुनले ७२५ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप