आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अधिवक्ता केसीलाई थुनामा राख्न सर्वोच्चको अनुमति

शुक्रबार, १५ भदौ २०८०, १६ : ३०
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । बलात्कारको कसुरमा प्रहरी निगरानीमा रहेका अधिवक्ता भोज बहादुर केसीलाई थुनामै राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ । शुक्रबार केसीको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएपछि केसीलाई थुनामा राख्ने बाटो खुला भएको हो ।

बलात्कारको कसुरमा केसीमाथि प्रहरी वृत्त थानकोटले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि केसीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेपछि केसी बहोस् भई ढलेका थिए । प्रहरीले पक्राउ गर्न नपाउँदै केसी बेहोस भएपछि उनलाई उपचारका लागि मनमोहन मुटुरोग अस्पताल लगिएको थियो । 

तर अस्पतालमै रहेको समयमा केसीले आफ्ना सहयोगी शरन मिजारमार्फत् सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । आफूलाई पक्राउ पुर्जी पनि नदिई नियन्त्रणमा राखिएको भन्दै केसीले रिट दायर गरेपछि तत्कालीन कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भदौ ३ गते कारण देखाऊ र बन्दीसहित उपस्थित हुने आदेश दिएका थिए ।

सर्वोच्चको आदेशपछि जिल्ला अदालत काठमाडौँ, जिल्ला प्रहरी परिसर, काठमाडौँ, प्रहरी वृत्त थानकोट र पीडित जाहेरवालीले पनि प्रतिउत्तर दिएका थिए । प्रहरी वृत्त थानकोटको प्रतिउत्तरमा केसीलाई पक्राउ गर्न गएको तर पक्राउ पुर्जी नदिँदै उनी बिरामी भएको भन्दै ढलेपछि उपचारका लागि पठाएको जवाफ दिएको थियो । प्रहरी परिसर काठमाडौँले पनि सोही ब्यहोराको जवाफ सर्वोच्चलाई पठाएको थियो ।  

त्यसपछि भदौ १२ गतेको पेसीमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले मिसिल कागज झिकाउने आदेश दिएकाे थियाे । शुक्रबार प्रहरी वृत्त थानकोटबाट मिसिल कागजसमेत आएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । रिट खारेज भएसँगै केसीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप