आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादीले विराटनगरमा मार्च पाससहित अभियान सुरु गर्ने, प्रदेशका सबै वडामा अभियान उद्घाटन हुँदै

शुक्रबार, १५ भदौ २०८०, २१ : २०
शुक्रबार, १५ भदौ २०८०

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले भोलि (शनिबार) बिहान ७ बजे मार्च पाससहित तीन महिने अभियान सुरु गर्ने भएको छ । 

माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव)का अनुसार शनिबार बिहान ७ बजे विराटनगरको बजारमा मार्चपाससहित अभियान उद्घाटन गर्न लागिएको हो । माओवादीले भोलि देशरभका सबै वडामा एकैपटक तीन महिने अभियानको उद्घाटन गर्दैछ । त्यसैको प्रचारस्वरुप बिहान विराटनगरमा मार्च पास गर्न लागिएको हो । मार्चपासमा सयौं युवाहरु सहभागी हुने बताइएको छ । 

उक्त मार्चपासपछि विराटनगरका सबै वडामा कार्यक्रमहरु हुने जनाइको छ । घाट सरसफाइ, मन्दिर सरसफाइ, स्वास्थ्य शिविर, आँखा शिविर लगायतका कार्यक्रम तय गरिएको माओवादीले जनाएको छ । यस्तै केन्द्रीय कार्यक्रम अनुसार १ बजेको कार्यक्रम सम्पन्न भएपछि माओवादीले विराटनगरको वडा नम्बर १८ मा वृहत् सभा गर्ने जनाएको छ । जसलाई माओवादी नेता तथा कोशी प्रदेश इन्चार्ज खनालले सम्बोधन गर्ने कार्यक्रम छ ।

उता, माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान प्रदेशभरिका वडामा उद्घाटन हुने जनाएको छ । अभियान उद्घाटनका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सदस्यहरु वडा वडामा पुगेका छन् । अभियान उद्घाटनसँगै देशैभर सरसफाइ, वृक्षारोपण, लागूऔषध सम्बन्धी जनचेतना मूलक प्रशिक्षण, मजदुर, किसान, उत्पीडित समुदाय, सहिदवेपत्ता परिवार, घाइतेहरुसँंग भेटघाट लगायतका कार्यक्रम रहेका छन् ।

पथरीशनिश्चरे र कानेपोखरीमा पनि अभियान

माओवादी अभियानको लागि मोरङको पथरीशनिश्चरेमा केन्द्रीय सदस्य सरस्वती पोखरेल खटिएकी छिन् । पोख्रेलले नगरपालिकामा आएर नगर पार्टीको अगुवा, नगर र वडाका नेतृत्वहरुसँग भेटघाट तथा कार्यविभाजन भएर कार्यक्रम तयार भएको बताइन् । 

प्रदेश १ का पूर्व उपसभामुख समेत रहेकी केन्द्रीय सदस्य पोख्रेल अभियानमा पथरीशनिश्चरे १० नं. वडामा खटिने भएकी छिन् । मोरङकै कानेपोखरीमा केन्द्रीय सदस्यसमेत रहेका समिता कार्कीको उपस्थितिमा बैठक राखिएको छ । कानेपोखरीमा पनि सबै वडामा अभियानको उद्घाटन हुने पालिकाका अध्यक्ष दुर्गा कार्कीले बताए ।

यस्तै मोरङको ग्रामथानमा सबै वडाहरूमा तीन महिने अभियानको तयारी बैठकहरू भएको छ । बेलबारीमा पनि ११ वटै वडाहरूमा ३ महिने अभियानको लागि तयारी वडा बैठकहरू सम्पन्न भइसकेको जनाइएको छ । बेलबारीमा अभियान उद्घाटनका लागि पर्यटन तथा संस्कृतीमन्त्री सुदन किराँतीले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप