आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

एमाले प्रदेश अधिवेशनमा गुटको ‘ट्रेलर’ : लुम्बिनीमा विष्णु भर्सेस शंकर !

शनिबार, १६ भदौ २०८०, ०९ : १५
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । २०७८ मङ्सिरमा चितवनमा सम्पन्न दसौँ महाधिवेशनपछि पार्टीमा गुटबन्दी अन्त्य भएको घोषणा गरेको नेकपा एमालेमा २ वर्ष नबित्दै शीर्ष नेताहरूकै संरक्षणमा गुटबन्दीले प्रश्रय पाएको छ । प्रदेश अधिवेशनको सम्मुखमा सतहमै देखिएको एमालेभित्रको यो गुटबन्दीले आगामी दिनमा समेत निरन्तरता पाए पार्टीभित्र गम्भीर समस्या पैदा गर्ने नेताहरूको भनाइ छ ।

एमालेमा अंकुराएको गुटबन्दीको उदाहरण अन्त कतै नभएर लुम्बिनी प्रदेश अधिवेशनका क्रममा देखिएको हो । यो प्रदेशमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका दुई नेता चुनावी मैदानमा औपचारिक रूपमै उत्रने तयारी गरेपछि एमालेमा केही समय निष्क्रिय गुटगत गतिविधिले पुन प्रश्रय पाउन थालेको नेताहरूको भनाइ छ ।

प्रदेश कमिटीको नेतृत्व छनोट अन्तर्गत आज शनिबार लुम्बिनीबाट एमाले प्रदेश अधिवेशन सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो प्रदेश अधिवेशनका लागि प्रदेशका सबै जिल्लाका स्थानीय तहबाट एक हजार चार जना प्रतिनिधिहरू बुटवल पुगिसकेका छन् ।

एमालेका ‘हेभिवेट’ नेताहरू समेत रहेको लुम्बिनी प्रदेशको नेतृत्वका लागि मुख्य गरी २ जना नेताहरू गुटको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रने कसरतमा छन् । जसलाई एमाले नेता कार्यकर्ताहरूले महासचिव शंकर पोखरेल भर्सेस उपाध्यक्ष विष्णु पौडेलको शक्ति परीक्षण सुरु भएको भनेर टिप्पणी गर्न थालिसकेका छन् ।

प्रदेश कमिटीको अध्यक्षका लागि हालका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल आकाङ्क्षीका रूपमा देखिएका छन्  । मैदानमा कँडेल र रिजाल देखिए पनि एमालेजनमा यो लडाई पौडेल र पोखरेलबीचको भएको धेरैको भनाइ छ ।

कँडेल र रिजाल दुवैले केही दिनदेखि अध्यक्ष पद हात पार्न भगीरथ कसरत गरिरहेको लुम्बिनीका एक केन्द्रीय सदस्यले बताउँछन् । रिजाल एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुन् । जो केन्द्रीय सदस्य पदबाट घटुवा भएर प्रदेश कमिटीको अध्यक्ष बन्न तयार छन् । उनलाई महासचिव शंकर पोखरेलले प्रदेश अध्यक्षमा अघि सारेको नेताहरूको भनाइ छ । प्युठानको नौबहिनी गाउँपालिकाका रिजाल र कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट प्रतिनिधि छनोट भएर अधिवेशनमा सहभागी हुँदैछन् । रिजाललाई एमालेका महासचिव पोखरेल र कँडेललाई उपाध्यक्ष पौडेल निकट भनेर अधिकांश प्रतिनिधिहरुले पहिचान गरिसकेका छन् ।

यद्यपी लुम्बिनीका धेरैजसो शीर्ष नेताहरू कँडेलको पक्षमा उभिने भए पनि उनीहरू बाहिर बोल्न भने सकिरहेका छैनन् । कतिपयले एमालेभित्र टुसाएको गुटगत क्रियाकलाप रोक्न अध्यक्ष ओलीले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको बताएका छन् । उपाध्यक्ष विष्णु पौडेलसहित उपमहासचिव प्रदीप ज्ञवाली, लुम्बिनी इन्चार्ज समेत रहेकी सचिव पद्यमा अर्याल, नेताहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्टलगायतका नेताहरू कँडेलको पक्षमा भए पनि पोखरेलले रिजाललाई अघि सारेपछि नेताहरू तै चुप मै चुपको अवस्थामा छन् । जसले गर्दा लुम्बिनीमा सर्वसम्मत नेतृत्व चयन गर्ने धेरैजसो नेताहरूको चाहना समेत पुरा नहुने सम्भावना बढेको लुम्बिनी प्रदेशस्तरीय एक नेताको भनाइ छ ।  

‘हरिजीलाई अहिले भइरहेको केन्द्रीय सदस्यबाट तल झारेर चुनाव लडाउनु भनेको हाम्रो महासचिवले आफ्नो शक्ति परीक्षण गर्न खोजेको प्रस्टै देखिन्छ’, एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्य रहेको मानिसलाई अध्यक्ष बनाउछु भनेर प्रतिनिधि नै बनाएर ल्याएर गुटकै भेला राखेपछि गुटलाई महासचिवबाटै संरक्षण गरेको देखियो ।’

महासचिव पोखरेल लुम्बिनीका पूर्व मुख्यमन्त्री समेत हुन् । त्यसबेला पोखरेलले अर्थ मन्त्रालय समेत आफैसँग राखेका थिए । अर्थ मन्त्रालय समेत आफैले राखेपछि पोखरेले आफ्नो शक्तिको अभ्यास गरेको भन्दै त्यसबेला पोखरेलको एमालेभित्रै आलोचना भएको थियो । त्यसो त एमालेमा पोखरेल र पौडेलबीचको द्वन्द्व लामो समयदेखि नै चल्दै आएको छ । एमालेमा महासचिव पोखरेल अध्यक्ष ओलीका उत्तराधिकारीका रूपमा चिनिन्छन् । ‘पार्टीको कार्यकारी पदमा बसेको मानिसले नै गुटबन्दी गर्‍यो भने पार्टीमा समस्या हुन्छ’, लुम्बिनीमा भइरहेको गुटगत गतिविधि नियालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘एमालेका धेरै शीर्ष नेता भएको प्रदेश लुम्बिनी हो । प्रदेश अधिवेशन पनि यहीबाट सुरु हुने हुँदा यसको सन्देश अरू प्रदेशमा पनि जान्छ र जिल्ला अधिवेशनमा समेत यसको बाछिटा पर्ने देखिन्छ ।’

लुम्बिनीमा देखिएको गुटगत राजनीति नियालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उक्त प्रदेशलाई चासो र महत्वका साथ लिएका छन् । ओलीले लुम्बिनीमा अध्यक्षको आकाङ्क्षा राख्ने दुवै नेतासँग छलफल गर्ने मनस्थिति बनाएकाले उनी दुई दिन बुटवलमै बस्ने गरी शनिबार लुम्बिनी पुग्दैछन् ।

शीर्ष नेताकै आडमा मौलाएको गुटबन्दीबारे एक नेता आफ्नो नाम नलेख्ने शर्तमा भन्छन्, ‘लुम्बिनीको अधिवेशनमा गुटको ट्रेलर देखिइसकेको छ । यो भनेको विष्णु भर्सेस् शंकरको प्रतिस्पर्धा नै हो ।’

यता प्रदेश इन्चार्ज समेत रहेकी सचिव पद्मा अर्यालले एमालेमा कसैलाई पनि गुटगत गतिविधि गर्ने छुट नभएको दाबी गरिन् ।

शुक्रबार नै प्रदेशका झण्डै ३ दर्जन केन्द्रीय सदस्यसँग नेतृत्व चयनका लागि सर्वसम्मत कि प्रतिस्पर्धा गर्दा उपयुक्त हुन्छ भनेर अर्यालले राय मागेकी थिइन् । त्यसमा धेरैजसो केन्द्रीय सदस्यले सर्वसम्मत हुँदा राम्रो हुने सुझाव दिएको सांसद समेत रहेका नेता ठाकुर गैरेले बताए ।

‘धेरै केन्द्रीय सदस्यहरूले सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्दा नै उपयुक्त हुन्छ भन्ने राय दिनुभएको छ,’ गैरेले भने, ‘नभए प्रक्रिया अनुसार अघि बढ्ने विकल्प पनि खुला छ ।’

भदौ १६ मा लुम्बिनीबाट सुरु हुने एमाले प्रदेश अधिवेशन बाँकी ६ वटा प्रदेशमा असोज महिनामा हुँदैछन् ।

जसअनुसार मधेसमा असोज ५ र ६ गते, वाग्मतीमा असोज ८ र ९ गते, कर्णालीमा असोज १० र ११, कोशीमा असोज १२ र १३, गण्डकीमा असोज १५ र १६ र सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन गर्ने एमालेले घोषणा गरेको छ । यसैगरी उपत्यका विशेष प्रदेशको अधिवेशन असोज १९ र २० गते गर्ने एमालेको तयारी छ । यसअघि प्रदेश कमिटी मनोनीत गर्दा ठुलो सङ्ख्याको भएकाले अधिवेशनमार्फत कमिटीको आकार समेत घटाउने एमालेले जनाएको छ । लुम्बिनीमा यस अघि ५७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ मा सीमित गर्ने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप