आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गदर–२ को नजर ५ सय करोड क्लबतर्फ

शनिबार, १६ भदौ २०८०, ११ : २७
शनिबार, १६ भदौ २०८०

मुम्बई । गदर–२ ले अब ५०० करोड क्लबमा आफ्नो नजर राखेको छ । फिल्मको कुल कलेक्सन ४८२.४५ करोड भारतीय रुपैयाँ पुगेको छ । फिल्मले बिहीबार ८.१० करोड कमाएको छ । चलचित्र रिलिज भएको तीन साता बितिसक्दा पनि कमाईमा कमी आएको छैन ।

 अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ड्रीम गर्ल–२ को कमाई पनि राम्रो छ । बिहीबार फिल्मले ७.५० करोड कमाएको थियो । यस हिसाबले फिल्मले पहिलो साता ६७ करोड कमाएको छ ।

 ५०० करोड क्लबतर्फ गदर–२

 तेस्रो हप्तामा पनि गदर–२ ले राम्रो काम गरेको छ । तेस्रो हप्तामा फिल्मले ६३.३५ करोड कमाएको छ । आजबाट सप्ताहन्त पनि सुरु भएको छ । आइतबारसम्म फिल्मले ५ सय करोडको आँकडा पार गर्न सक्छ ।

 गदर–२ को कमाइ देखेर सबै छक्क परेका छन् । फिल्मले करिब ५ सय करोडको आँकडा पुग्ने अनुमान कसैलाई पनि थिएन । चलचित्रको कमाई पहिलो हप्ता २८४.६३ करोड, दोस्रो हप्ता १३४.४७ करोड र तेस्रो हप्ता ६३.३५ करोड रहेको छ ।

 गदर–२ सँग अब अझै एक साता बाँकी छ किनभने शाहरुख खानको फिल्म जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । यो एक साताको कमाईले फिल्मको लाइफटाइम व्यापार निर्धारण गर्नेछ ।

 बाहुबलीको कीर्तिमान भेटाउन अझै ३० करोड कमाउनुपर्ने

 गदर–२ ले समग्रमा ५१० करोड रुपैयाँभन्दा बढी संकलन गर्न सक्ने केही व्यापार विज्ञको अनुमान छ । यस्तो भयो भने फिल्मले बाहुबली–२ (५१०.९९ करोड) को रेकर्ड तोड्ने छ । यद्यपि फिल्मले त्यहाँसम्म पुग्न ३० करोड बढी कमाउनुपर्ने हुन्छ । योसँगै पठानको कीर्तिमानमा पुग्न करिब ६० करोड कमाउनुपर्नेछ ।

 विशेष कुरा के छ भने गदर–२ पठान र बाहुबलीभन्दा कम स्क्रिनमा रिलिज भएको थियो । एकै समयमा ओएमजी–२ सँग भिडन्त भएको थियो। यदि फिल्म एकल रिलिज हुन्थ्यो भने पठानको रेकर्ड अहिलेसम्म तोडिसकेको हुन्थ्यो ।

 विश्वव्यापी रूपमा ६३१ करोडभन्दा बढी सङ्कलन

 गदर–२ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । इन्डस्ट्री ट्र्याकर स्याकनिल्कका अनुसार फिल्मले विश्वभर ६३१.८० करोड भारुभन्दा बढी कमाई गरेको छ। फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो कमाइ गरिरहेको छ ।

 ड्रीम गर्ल २ को कमाई

 जवान रिलिज भएपछि ड्रीम गर्ल २ ले पनि घाटा बेहोर्नु पर्नेछ । फिल्मले हालसम्म ६७ करोड कमाइसकेको छ । यसको लाइफटाइम कलेक्सन ९० देखि ९५ करोड सम्म हुन सक्ने बताइएको छ ।

 फिल्मको बजेट ३५ करोड रहेको छ । त्यस अनुसार फिल्मले हिटको संज्ञा पाउन सक्छ। आयुष्मान खुरानाका पछिल्ला केही फिल्मको रेकर्ड हेर्दा ड्रीम गर्ल–२ ले राम्रो प्रदर्शन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप