आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादीको अभियान

माओवादी रूपान्तरण अभियान: बागमतीमा सडक मर्मतदेखि सरसफाइसम्म

शनिबार, १६ भदौ २०८०, १३ : ४७
शनिबार, १६ भदौ २०८०

मकवानपुर । नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि ३ महिने विशेष रूपान्तरण अभियान थालेको छ । शनिबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्द्रागिरी–२ बाट औपचारिक रूपमा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’को सुरुवात गरेका हुन् ।

rupantaran abhiyan (4)

उक्त अभियानको ७ प्रदेशका ७५३ वटै पालिकाका ६ हजार ७४३ वटा वडाहरूमा एकै पटक अभियानको सुरुवात गरिएको हो । माओवादी केन्द्रको कमजोर बन्दै गएको धरातललाई सुधार गर्न अभियान सञ्चालन गरिएको हो । उक्त अभियान अन्तर्गत माओवादी केन्द्रले आफ्ना सबै नेताहरूलाई गाउँ–गाउँमा खटाएको छ ।

rupantaran abhiyan (1)

‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नाराका साथ माओवादी केन्द्रले सुरुवात गरेको उक्त ३ महिने अभियानमा केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाएर पार्टी संगठनमा युवापुस्ताहरूको आकर्षण बढाउने लक्ष्य लिइएको छ ।

माओवादी केन्द्रले खटाएको नेताहरूले उक्त अभियान अन्तर्गत रहेर २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने र पार्टी सदस्य ८ लाख पुर्‍याउने लक्ष्य लिएको छ ।

rupantaran abhiyan (6)

सोही अनुसार बागमती प्रदेशका १३ जिल्लामा पनि माओवादी केन्द्रको विशेष रूपान्तरण अभियानको थालनी गरिएको छ । औपचारिक रूपमा माओवादी केन्द्रले प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरूमा शनिबारबाट आफ्नो अभियान अन्तर्गतको गतिविधिहरू अघि बढाएको माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

rupantaran abhiyan (7)

उनका अनुसार पार्टी केन्द्रले निर्देशित गरेको लक्ष्य र उद्देश्य अनुसार जनतासँगको साक्षात्कार माओवादी केन्द्रका शीर्षदेखि जिल्ला तहका नेताहरू गाउँ प्रवेश गरेका हुन् ।

३ चरणमा सञ्चालन हुने उक्त अभियानमा संगठन सुधार तथा विस्तारदेखि समस्या समाधान तथा विभिन्न विषयहरूमा बहस र अन्तरक्रिया हुने उनले बताए । अभियान अन्तर्गत पहिलो चरणमा तहगत बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण, संगठन विस्तार, कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, तथा कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण गरिने छ भने दोस्रो चरणमा पार्टीमा पाँच घण्टे अन्तरपार्टी स्कुलिङ, विषयगत अन्तर्क्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला जस्ता कार्यक्रम गरिने उनले बताए । तेस्रो चरणमा भने जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालन कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र ऐक्यबद्धताका कार्यक्रम रहेको उनको भनाई छ ।

rupantaran abhiyan (10)

बागमतीमा सडक मर्मतदेखि सरसफाइसम्म

अभियानको उद्घाटनका क्रममा शनिबार प्रदेशका विभिन्न स्थानीय तहका वडाहरूमा सरसफाइ देखि सडक मर्मतसम्मका कार्यक्रम आयोजना गरिएको छ । प्रदेशको ललितपुर, मकवानपुर, चितवन लगायतका जिल्लाका स्थानीय तहमा सरसफाइका भएका छन् भने काठमाडौँमा सडक मर्मत तथा अन्तरक्रियाका कार्यक्रम भएका छन्

अभियान अन्तर्गत प्रदेश अध्यक्ष सहयात्री उपस्थित भएको ललितपुरमा सडक तथा सार्वजनिक स्थान सरसफाइ गरिएको छ । ललितपुर महानगरपालिका–१८ मगरगाउँ क्षेत्र, २५ छ्यासिकोट पार्क र २२ को पदम पार्क तथा बसपार्कमा सरसफाइ गरिएको हो भने संस्कृति संरक्षण तथा सम्वर्द्धनार्थ १२ वर्षे खोकना जात्रा अवलोकन गरिएको छ ।

rupantaran abhiyan (2)

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल उपस्थित भएको धादिङमा अभियानको उद्घाटन कार्यक्रममा राजनीतिक विषयहरूमा अन्तरक्रिया गरिएको छ । मुख्यमन्त्री जम्कट्टेलले गजुरी–१ र थाक्रे–२ मा स्थानीय नागरिकहरूसँग वर्तमान राजनीति र सरकारका कामका विषयहरूमा अन्तरक्रिया गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल उपस्थित भएको भरतपुर–१८ र २५ नम्बर वडामा सरसफाइसहित वृक्षारोपणका कार्यक्रम भएका छन् ।

rupantaran abhiyan (9)

त्यस्तै प्रतिनिधिसभा सदस्य माधव सापकोटाको उपस्थिति रहेको काठमाडौँको चन्द्रागिरि–५ र ७ नम्बर वडाको कार्यक्रममा नागरिकहरूसँग अन्तर्क्रिया गरिएको छ भने बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ उपस्थित रहेको काठमाडौँको शंखरापुर नगरपालिका–१ मा सडक मर्मत गरिएको छ । उनको उपस्थितिमा अभियान अन्तर्गत सो वडाको ग्रामीण सडक मर्मत गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप