आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले लुम्बिनी

एमाले लुम्बिनी प्रदेश अधिवेशन : गुटबन्दी नगरेको शङ्कर र विष्णुको प्रस्टीकरण, नेतृत्व सहमतिमा टुङ्ग्याउन निर्देशन

सरकारमाथि शीर्ष नेताको हमला
शनिबार, १६ भदौ २०८०, २० : ४५
शनिबार, १६ भदौ २०८०

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको आज उद्घाटन सत्रमा बोल्ने क्रममा अध्यक्ष केपी ओलीदेखि सबै शीर्ष नेताहरूले सरकारको चर्को आलोचना गरेका छन् । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो झन्डै ३ घण्टा चलेको उद्घाटन कार्यक्रमका बोल्ने एमालेले नेताहरू अधिकांश समय सरकारको आलोचनामा खर्चिएका हुन्। 

सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको बताएका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डमाथि भारत गएर मुर्रा राँगो ल्याएको विषयमाथि व्यङ्ग्य गरेका थिए । उनले ईपीजीको प्रतिवेदनको बारेमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग कुरा नउठाएकोमा पनि आश्चर्य व्यक्त गरे ।

उनले नेपालको नक्सा सच्याउनेदेखि विप्लव र सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम एमालेले गरेको जिकिर गर्दै अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने मात्र भएको जिकिर गरे । अहिलेको सरकार तस्करीमा केन्द्रित रहेको भन्दै राजश्व झन् घट्दै जाने दाबी गरे । अहिले भ्रष्टाचारविरुद्ध अभियान नभएर भ्रष्टाचार गर्ने अभियान चालेको उनको आरोप थियो ।

कार्यक्रमका एमालेले उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्र बिग्रिएको अवस्थामा पनि सरकारले ठोक कदम चाल्न नसकेको बताए । उनले देशमा एमालेको पालामा भएका राम्रा कामको व्याख्या गर्दै अहिले सरकारको गति शून्य भएको टिप्पणी गरे । 

महासचिव शङ्कर पोखरेलले पनि माओवादी जनयुद्धका नाममा जातजातिका नाममा राज्य बाँड्ने काम माओवादीले काम गरेको भन्दै त्यो काम एमाले अध्यक्ष ओलीको पहलका कारण रोकिएको जिकिर गरे ।

उनले अहिले फेरि मुलुकमा नयाँ ढङ्गले जातीय द्वन्द्व भड्काउने प्रयासमा प्रधानमन्त्री आफैँ लागेको आरोप लगाए। उनले संविधानसभाका बेलाको जस्तै जातीय द्वन्द्व भड्काउने कुतसित प्रयास भइरहेको पनि बताए। 

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सुर्खेतमा एमालेभित्र ठुलो पहिरो जाने बताएको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अब एमालेमा होइन माओवादी केन्द्रमा ठुलो पहिरो जाने समय आएको जिकिर गरे । यस्तै नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरूलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा भनेर स्वाङ र पाखण्ड प्रस्तुत गरेको टिप्पणी गरे ।

उनले ललिता निवासमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रचण्डले सुनपानी छर्किएको बताए। उनले प्रधानमन्त्री प्रचण्डले जनअदालत ब्युँताउन खोजेको आरोप लगाए । 

सो उद्घाटन सत्रमा बोल्दै एमाले सचिव गोकर्ण विष्ट, पद्मा अर्यालले, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल लगायतका नेताहरू अहिले युवाहरू विदेश जाने लाम लागेको, अर्थतन्त्र कमजोर रहेको, बेरोजगारी जस्ता थुर्पै समस्या रहे पनि सरकारले  उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाएका थिए । 

शङ्कर र विष्णुको गुटबन्दी नगरेको स्पष्टीकरण 
लुम्बिनी प्रदेशका अधिवेशनमा अध्यक्षका आकाङ्क्षी राधाकृष्ण कँडेललाई उपाध्यक्ष विष्णु पौडेल र हरि रिजाललाई  महासचिव शङ्कर पोखरेलनिकट भनेर गरिएको प्रचारबारे आज उद्घाटन सत्रमा दुवै नेताहरू स्पष्टीकरण दिएका छन् ।

उपाध्यक्ष विष्णु पौडेलले आफूले गुट नचलाएको विषयमा स्पष्टीकरण दिन झन्डै आधा समय खर्चिएका थिए । यस्तै महासचिव पोखरेले पनि मन्तव्यको अन्तिममा आफू र उपाध्यक्ष पौडेलबीच कुनै वैचारिक तथा गुटगत लडाइँ नभएको बताए । पोखरेलले केही दिनयता केही मिडियामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको बताए ।  

एमाले एक बनाउन विष्णु पौडेल र शङ्कर पोखरेलको एकता कहिले टुट्न दिने नदिने उनको भनाई थियो । उनले लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका बताउँदै यसमा कुनै सत्यता  भएको जिकिर गरे । 

उनले भने, ‘एमाले बलियो बनाउन हामी दुईको एकतामा केही समस्या छैन । उनीहरूको अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ । आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो,’ उनले भने, ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन् ।’

त्यस्तै उपाध्यक्ष पौडेलले पनि आफूले गुटमा विश्वास नगर्ने तर  केही साथीहरूले गुटबन्दी गरेको आरोप लगाउने गरेकोमा दुखेसो गरे । उनले २०२८ देखिको अहिले पछिल्लो संसदीय निर्वाचनसम्म एमालेको इतिहास स्मरण गर्दै एमालेले जित्नु पर्ने ठाउँमा हार्ने, भारी मतान्तर आँकलन गरिएको ठाउँ निकै कम मत आउने गरेकाले अन्य पार्टी दोष दिनुभन्दा आफ्नो पार्टीभित्र गम्भीर रूपमा छलफल गर्नुपर्ने बताए । उनले त्यसबारे अधिवेशनमा मूल्याङ्कन गरिने बताए । 

उनले एमालेमा सैद्धान्तिक लडाइँ नभएको बेला निर्वाचन भएका अन्तर्घातले पार्टीलाई कहिल्यै बलियो नबनाउने जिकिर गरे । उनले भने, ‘म कहिल्यै गुटमा विश्वास गर्दिनँ । गुटमा विश्वास गर्ने भनेको कमजोर नेताले हो । म भुईँमा बस्न तयार छु । तर गुट चलाउने छैन ।’ 

सहमतिमा टुङ्ग्याउन निर्देशन
आजको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्गाउन निर्देशन दिएका छन् । ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताए । उनले लुम्बिनी प्रदेशको  धेरै पदाधिकारी भएको यहाँको प्रदेशको नेतृत्व पनि  मिलाउन सक्नुपर्ने बताए । 

नेताहरूलाई निर्देशन दिँदै उनले भने, ‘तपाईंहरू बस्नुस् कुरा टुङ्ग्याउनुस्, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् ।’ 

भोलिदेखि सुरु हुने बन्द सत्रमा सहभागी हुन १०४ जना प्रतिनिधिहरू आएका छन् । एमालेलेको सबैभन्दा पहिला लुम्बिनी प्रदेशमा अधिवेशन गरेकाले अन्य प्रदेशमा पनि चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप