आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी रुपान्तरण अभियान

घट्टेडाँडामा जनताको प्रश्नको घेरामा प्रधानमन्त्री : आश्वासन पाएपछि दङ्ग

शनिबार, १६ भदौ २०८०, २१ : १४
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शनिबारबाट ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान सुरु गरेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार केन्द्रीय पदाधिकारी, स्थायी समिति, केन्द्रीय सदस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, विभाग, जबस मोर्चादेखि प्रदेश समिति सदस्यसमेत तोकिएको वडा वडामा गए । 

अभियानको उद्घाटन बिहान ९ बजे जुममार्फत प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरे । त्यसपछि वडाको उद्घाटन गर्न चन्द्रागिरि– २ पुगेका प्रचण्डलाई महिला समूहको पञ्चेबाजाको टोलीसहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरे । 

घट्टेडाँडा पार्कमा पुगेर वृक्षारोपण गरेका गरेपछि स्थानीयसँग प्रत्यक्ष संवादमा जोडिए, उनीहरूको गुनासा ध्यानपूर्वक सुने । आफ्नै घरआगनमा देशका कार्यकारी प्रमुखको अगाडि आफ्ना समस्या राख्न पाउँदा दङ्ग थिए । पञ्चेबाजासहित स्वगत गरेका प्रधानमन्त्री प्रचण्डलाई नागढुंगा सुरूङ मार्गले पारेको असर, मुआब्जा समस्या, सुशासन, स्वास्थ्य, शिक्षाको समस्या लगायत प्रश्न तेर्स्याए ।  

स्थानीयले सुशासन सम्बन्धमा राखेको पहिलो प्रश्नको जवाफ दिँदै उनले प्रदेश र स्थानीय तहमा पनि सुशासन र विकासको थालनी चाँडै हुने आश्वासन दिए ।  प्रश्नसँगै स्थानीयले सुशासनको अभियानमा खुट्टा नकमाउन सरकारलाई ढाडस दिएका थिए ।

यस लडाइँमा आफूहरूको पूर्ण सहयोग रहने र भ्रष्टाचार अन्त्य भएको हेर्न चाहेको बताएका थिए । स्थानीयको ऐक्यबद्धताबाट हौसिएका प्रचण्डले जनताको समर्थनले नै आफूलाई निकै तागत आएको भनाइ राखे । भ्रष्टाचार, तस्करी, माफियामा जोसुकै भएपनि सरकारले नछाड्ने प्रतिबद्धता जनाए ।

‘भ्रष्टाचार, तस्करी, बेथितिमा जोसुकै जस्तोसुकै नेता, त्यो कांग्रेस होस् वा एमाले वा प्रचण्ड नै भए पनि नछोड भनेर मैले निर्देशन दिएको छु’, उनले भने ।  त्यसपछि उपस्वास्थ्य चौकी स्तरोन्नतिबारे स्थानीयले राखेको प्रश्नको जवाफ फर्काए–‘यहाँ सबैले सुन्नुभएको छ । मैले यहाँ बोलेको कुरा पुरा गर्नु नै पर्छ । मलाई लाग्छ मुख्यसचिव, सचिव, मन्त्रीहरू सबैले सुन्नुभएको छ । यो पुरा गर्नुपर्छ । त्यो विश्वास म दिलाउन चाहन्छु ।’

उनले शिक्षा, स्वास्थ्यमा सुधारका निम्ति सिंहदरबारमा लगातार बैठक बसेको र नयाँ शिक्षा ऐन अगाडि बढेको, निःशुल्क स्वास्थ्य शय्या सुरु गरेको र केही क्रान्तिकारी कदम चाल्ने प्रतिबद्धता जनाए । 

त्यसपछि सबैको चासो रहेको नागढुंगा सुरूङमार्गले स्थानीयलाई परेको मर्काबारे प्रचण्डले आश्वासन मात्रै दिएनन् । आयोजना प्रमुखलाई अन् द स्पट बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई फोन गर्न लगाई ७ दिनभित्र सुझावसहित स्थानीयको समस्याबारे प्रतिवेदन पेस गर्न निर्देशन दिए । 

आयोजना प्रभावित क्षेत्रका स्थानीयले घर चर्किएको, पानीको मुहान सुकेको तर राहत नपाएको गुनासो गरेका थिए । त्यसमा आफ्नो गम्भीर चासो रहेको भन्दै उनले शर्मालाई फोन गर्न लगाए । शर्माले फोन लगाएर प्रधानमन्त्रीलाई दिए ।

प्रचण्डले मञ्चबाट नै जनताको समस्या समाधान गर्न आयोजना प्रमुख शाक्यलाई निर्देशन दिँदै भने– ‘हेलो नवीनजी, नमस्कार । म अहिले चन्द्रागिरि–२ को जनताको साथमा छु । आयोजना निर्माणको क्रममा विस्फोट गर्दा घर चर्किएको, पानीको मुहान सुकेको, ठुलो हिस्सा आयोजनाबाट प्रभावित भए पनि राहत नभएको गम्भीर ढङ्गले उठाउनुभएको । त्यसमा के गर्न सकिन्छ एक हप्ताभित्र सुझावसहित प्रतिवेदन पेस गर्नु र समस्याको हल निकाल्नु ।’

आफ्नै अगाडि प्रधानमन्त्रीले आयोजना प्रमुखलाई फोन गरेर निर्देशन दिएपछि खुसी भएका स्थानीयले उनको पक्षमा नारा लगाए । यस्तै साँघुरा सडक स्तरोन्नतिको सम्बन्धमा राखेको प्रश्नको जवाफ दिँदै उनले बिस्तारै त्यस सम्बन्धमा सरकारले काम गर्ने प्रतिबद्धता जनाए । 

त्रिभुवन पार्क स्थानीय तहलाई दिने सम्बन्धमा प्रधानमन्त्रीसमक्ष प्रश्न राखेका थिए । त्यो समस्या पहिलो, दोस्रो र अहिले प्रधानमन्त्री हुँदा पनि आफूमा ठोक्किइराखेको भन्दै उनले त्यसबारे अहिले पुरै बचन नदिए पनि पालिकालाई हस्तान्तरण प्रक्रिया सुरु गर्ने आश्वासन दिए ।

यी लगायत नेपालमै नर्सिङ कलेजको पुनर्स्थापना गर्ने र चन्द्रागिरिलाई पर्यटकीय, सांस्कृतिक सहरमा विकास गर्न पहल गर्ने प्रतिबद्धता उनले जनाए । चन्द्रागिरि–२ लाई विद्युत् प्राधिकरणको वितरण केन्द्र बनाउन आइतबार प्राधिकरणका प्रमुखलाई बोलाएर निर्देशन दिने आश्वासन दिए । देश विकास र जनताको पक्षमा काम गर्नुबाहेक आफ्नो कुनै चाहना नभएको भन्दै मरेर गए पनि पछिसम्म सम्झिन लायक काम गरेर देखाउने उनले भनाइ राखे ।

 ती सबै गुनासाका पोका लिएर सम्बोधनका लागि मञ्चमा उक्लिएका प्रचण्डले सुरुमा काठमाडौँमा माओवादीको बिउ जोगाएकोमा वडावासीलाई धन्यवाद दिए । त्यो बिउ काठमाडौँभर फल्ने, फुल्ने र झाँगिने प्रतिज्ञा गरे ।

‘काठमाडौँमा तपाईँले रेकर्ड राख्नुभयो । जे भएपनि माओवादीको बिउ जोगाउनुभएको छ । बिउ फल्छ, फुल्छ, झाँगिन्छ र काठमाडौँ व्यापी हुन्छ ।  त्यसका लागि तपाईंहरूलाई विशेष बधाई र धन्यवाद भन्न चाहन्छु’, उनले भने । 
इति भनिसकेपछि उनले माओवादीको अभियानको उद्देश्य, सरकारले गरेको काम, समाजवादी आन्दोलन र गन्तव्यबारे आफ्नो धारणा राखे ।  

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप