आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
निर्देशक कृषालाई १० प्रश्न

‘महिला भएकै कारण निर्देशक भन्दा नपत्याउने रहेछन्’

आइतबार, १७ भदौ २०८०, १० : ०६
आइतबार, १७ भदौ २०८०

फिल्म ‘ऐँचो पैँचो’ की निर्देशन हुन् कृषा चौलागाई । उनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेकी हुन् । ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ जस्ता फिल्म निर्माण गरेर यो क्षेत्रमा डेढ दशक बिताएकी उनी त्यही अनुभवसहित निर्देशनमा होमिएकी हुन् । 

फिल्म ‘ऐँचो पैँचो’ जनैपूर्णिमा तथा गाईजात्राको अवसर पारेर बिहीबारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । बुधवार साँझ भएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको कारण फिल्म हलमा राम्रो प्रदर्शन हुने उनको आस छ । परिवार र समाजको अन्तरद्वन्द्वमा राजनीतिक विषयवस्तु मिसाएर ‘ऐँचो पैँचो’ बनाएकी कृषालाई प्रस्तुत छ, रातोपाटीका १० प्रश्न:  

फिल्म ‘ऐँचो पैँचो’ आजबाट प्रदर्शनमा आयो । व्यावसायिक अपेक्षा कस्तो छ ?

दर्शकका लागि पूर्ण मनोरञ्जनात्मक फिल्म दिने उद्देश्यले ‘ऐँचो पैँचो’ निर्माण भएको हो । त्यो कुरोमा सफल छ । मेरो फिल्म निर्माणको १५ वर्षको अनुभव पनि हो यो फिल्म । कलाकारदेखि हरेक पक्षमा मिहिनेत गरेकोले राम्रो हुने अपेक्षा छ ।

प्रिमियरमा फिल्मले कस्तो प्रतिक्रिया पायो ?

–प्रिमियरमा नेता, फिल्मकर्मीदेखि पत्रकारसम्मले राम्रो भनेका छन् । सबैले फिल्मको कथा र कलाकारको अभिनय राम्रो भनेका छन् । तर, पहिलो फिल्म हो केही कमीकमजोरी त होला । 

krisha chaulagain (2)

‘ऐँचो पैँचो’को कथावस्तुबारे केही बताइदिनुस् न ?

‘ऐँचो पैँचो’ विशुद्ध पारिवारिक र सामाजिक कथामा बनेको फिल्म हो । फिल्मले पारिवारिक सम्बन्धको अलावा साथीहरू बीचको सम्बन्ध पनि देखाएको छ । फिल्ममा केही राजनीतिक विषयवस्तु अटाएका छन् । फिल्मको नामले नै एक अर्कोसँग लिने दिने भनेर बुझाउँछ । फिल्मभित्र मायाको लेनदेनको विषयवस्तु छ ।

‘ऐँचो पैँचो’बाट निर्देशनमा डेब्य गर्नुभयो, अनुभव कस्तो रह्यो ?

फिल्म निर्देशन मेरो सानै देखिको सपना थियो । त्यो सपना अहिले पुरा भयो । म एकदमै खुसी र एक्साइटेट छु । फिल्म निर्देशनको रहर झन् बढेको छ । हरेक दिन फिल्म हेर्दा यो फिल्ममा यस्तो पनि गर्न सकिन्थ्यो भन्ने लाग्दो रहेछ ।

निर्देशनमै आउन किन चाहनु हुन्थ्यो ?

आफ्नो मनमा लागेको कथा आफैले भन्न र त्यसमा निर्वाह गर्ने पात्रहरूलाई आफैले तयार गर्न सके फिल्म राम्रो बन्न सक्छ भन्ने म पहिले देखिनै सोच्थे । केही नौलो फिल्म पस्कुन् पर्छ भन्ने लाग्थ्यो, त्यसैले ।

पछिल्लो समय फिल्मको व्यवसाय राम्रो छैन । तपाई यही समय निर्देशनमा डेब्यु गर्नुको कारण ?

धेरै अगाडि फिल्म क्षेत्रको गोल्डेन समय थियो । त्यो समय म फिल्म क्षेत्रमा थिइन । बीचमा फिल्मको व्यवसाय खस्किएको थियो । म निर्माणमा थिए । अहिले राम्रा फिल्मले व्यवसाय गर्छ र नराम्रोले गर्दैन । 

अर्को कुरा, पछिल्लो समय फिल्म हेरेर कमेन्ट गर्ने संस्कार समेत बढेको छ । निर्देशकमा कहिले राम्रो होला र गरौला भन्ने भन्दा पनि अहिले म रेडी छु भन्ने हो । यो समय ‘ऐँचो पैँचो’को कथा मनपर्‍यो  । त्यसैले, निर्देशनमा होमिएँ ।

फिल्मको विषय राजनीति भनिएको छ, कस्तो राजनीति ?

–राजनीति भनेको देशको मूल नीति हो । यसमा हामी सबै बाँधिएका छौ । राजनीतिको कारणले देशमा के प्रभाव पारिरहेको छ भन्ने फिल्ममा देखाएका छौ । सामान्य जीवन बिताइरहेका मानिसलाई राजनीतिले पारेको प्रभावसमेत फिल्ममा देख्न सकिन्छ ।

krisha chaulagain (1)

निर्देशकको रूपमा आउँदै गर्दा यस क्षेत्रका व्यक्तिहरूको व्यवहार कस्तो पाउनु भयो ?

महिला भएर यति धेरै दुःख गरेर फिल्म बनाइ, बिचरीको फिल्म हेरिदिनुपर्छ भनेर सहानुभूति दिने पनि भेटे । महिला हो, कस्तो काम गरिहोला र भनेर हेला गर्ने, उडाउने पनि पाएँ । 

मेरो विचारमा निर्देशक भन्ने विधा महिला र पुरुष भन्दा कसले कस्तो कथा कसरी उत्कृष्ट तरिकाले पस्किन्छ भनेर हेर्नुपर्छ जस्तो लाग्छ । महिला भएको कारण कतिपय ठाउँमा नपत्याएको र कतिपय अवस्थामा दया देखाएको पनि महसुस गरेँ ।

फिल्म क्षेत्रकै महिलाहरूको साथ कस्तो रह्यो ?

निर्देशनमा होमिँदै गर्दा अन्यको साथ नपाए पनि फिल्म क्षेत्रका महिलाहरूबाट भने होस्टेमा हैँसे मिल्छ भन्ने थियो । फिल्मको बारेमा केही बोल्दिएर, कन्टेन्ट सेयर गरेर साथ मिल्छ भन्ने थियो । मैले त्यो पाउन सकिनँ । यहाँ त सफल भयो भने अरू महिला पनि आउँछन्, प्रतिस्पर्धा बढ्छ भनेर महिलाले नै सोच्दा रहेछन् ।

दर्शकका लागि कस्तो कथा भन्नु जरुरी छ ?

–दर्शकको रुचिअनुसार कथाको प्रकार पनि फरक फरक हुन्छ । हाम्रो समाज कता दौडिरहेको छ, दर्शकले के रुचाउँछन् । त्यो हेरेर कथामा ध्यान दिनुपर्छ । 

मैले ‘ऐँचो पैँचो’ बनाउँदा राजनीतिक परिवेश भिन्न थियो । नयाँ पुस्ताको छटपटीको सन्दर्भमा हामीले कथा लेखेका थियौँ । संयोगवश राजनीतिक सेटअप पनि कथा जस्तै भयो । यसरी ‘ऐँचो पैँचो’ को कथा पनि हरेकको जीवनसँग जोडिन्छ । हरेकको जीवनमा आर्थिक मात्रै होइन, मायामा पनि लेनदेन हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप