आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला टी- २० क्रिकेट : चामरी चम्किएपछि श्रीलंकाले सजिलै हरायो इङ्ल्यान्डलाई

आइतबार, १७ भदौ २०८०, १० : ५२
आइतबार, १७ भदौ २०८०

काठमाडौँ । कप्तान चामरी आथापाथ्थुको उत्कृष्ट प्रदर्शनसँगै भ्रमणकारी श्रीलंकाले दोस्रो महिला टी—२० क्रिकेट प्रतियोगितामा घरेलु टोली इङ्ल्यान्डमाथि आठ विकेटको महत्वपूणर् जित हासिल गरेको छ । जितसँगै श्रीलंकाले तीन खेलको शृंखलालाई १—१ को बराबरीमा पुर्‍याएको छ । 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले १८ ओभरमै अलआउट हुनुअघि एक सय चार रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले १३।२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १० रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।  श्रीलंकाको जितमा कप्तान चामरीको प्रदर्शन उत्कृष्ट रह्यो । अलराउन्डर चामरीले बलिङतर्फ एक विकेट लिइन् भने ब्याटिङतर्फ अर्धसतक पनि बनाइन् । आक्रामक रुपमा प्रस्तुत भएकी ३३ वर्षीया चामरीले ५५ रन बनाएकी थिइन् । 

केवल १० रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको श्रीलंकालाई सजिलो जित दिलाउन उनले केवल ३१ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काइन् । चामरीले हर्षिथा सावराविक्रमासँग ६९ रनको साझेदारी गरेकी थिइन् ।  हर्षिथाले पनि टोलीका लागि अविजित ३० रनको योगदान गरिन् । उनले केवल ३५ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरिन् । टोलीले विजयलक्ष्य पार गर्दा भिस्मी गुनारत्ने अविजित १८ रन बनाउँदै क्रिजमा थिइन् । उनले १५ बलको सामना गरी चार चौका हिर्काएकी थिइन् । 

त्यसअघि घरेलु टोली इङ्ल्यान्डलाई सस्तोमा समेट्न कविसा दिल्हारी, इनोका रनाविरा, इनोसी प्रियादर्शनी र युदेसिका प्राबोधनीले दुई—दुई विकेट लिएका थिए । कप्तान चामरीले पनि एक विकेट लिएकी थिइन् । उत्कृष्ट प्रदर्शनका कारण चामरी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।  इङ्ल्यान्डका लागि आठौं नम्बरकी ब्याट्र चार्ली डिनले सर्वाधिक ३४ रन बनाएकी थिइन् । उनले २६ बलको सामना गरी चार चौका पनि हिर्काएकी थिइन् । कप्तान हेथर नाइटले १४ रन जोडिन् । इङ्ल्यान्डका अन्य खेलाडीले भने उल्लेख्य संख्यामा रन बटुल्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप