आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

माओवादी अभियानकर्ता भन्छन्, ‘यो नेता, कार्यकर्तामा लागेको मैलो सफा गर्ने अभियान हो’

आइतबार, १७ भदौ २०८०, १६ : ०१
आइतबार, १७ भदौ २०८०

धनगढी । यतिबेला नेकपा (माओवादी केन्द्र) टोल–टोलमा पुगेको छ । यही क्रममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको वडा–वडा तहमा नेकपा माओवादी केन्द्र अभियानसहित पुगेको छ । ३ महिने अवधिको ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा बढाइएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार अभियान उद्घाटन गरेयता यहाँका ७९ अभियान टोलीले अभियान बढाएको जनाइएको छ ।

माओवादीका केन्द्रीय सचिव डिलाराम आचार्यले धनगढी उपमहानगरपालिका सबै वडामा अभियानलाई अगाडि बढाएको बताएका छन् । सचिव आचार्यले अभियान जनतालाई रूपान्तरण गर्न नभएर माओवादी आफू रूपान्तरण हुन सञ्चालन गरिएको बताए ।

माओवादी नेता कार्यकर्ताहरूको चिन्तन र व्यवहारमा लागेको मैलो पखाल्न पनि अभियान सञ्चालन गरिएको बताउँदै आचार्यले भने, ‘अभियान जनतालाई रूपान्तरण गर्न होइन, माओवादी नेता कार्यकर्ताहरूको चिन्तन र व्यवहारमा लागेको मैलो सफा गर्न तीन महिने अभियान सुरु गरिएको हो ।’ आचार्यले जनयुद्ध र जनआन्दोलनका केही कार्यभार पूरा गर्न बाँकी रहेकाले माओवादी र जनताबीच सुमधुर सम्बन्ध हुन आवश्यक भएको बताए ।

माओवादी केन्द्रका नेता खगराज भट्टले समाजवादी क्रान्तिको लागि जनयुद्धको आधार क्षेत्रमा माओवादी फर्किएको बताउँदै अभियानमा जनताको सहभागिता हुनेमा विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले आफूहरू गाउँ फर्केको बताउँदै माओवादी र जनता बीचमा सम्बन्ध जोड्दै समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले समाजवादी क्रान्ति बिना जनताको अवस्था परिवर्तन गर्न नसकिने बताए ।

९ वटै जिल्लामा को–को छन् कमान्डर ?

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा अभियान टोली खटिएका छन् । जनसंख्याको हिसाबले घर–घरमा पुग्ने गरी कैलालीमा १३ अभियान टीम खटिएका छन् । पार्टीका केन्द्रका सचिव डिलाराम आचार्य पनि कैलालीमै खटिएका छन् । को कहाँ खटिएका छन् त ?

कैलालीः केन्द्रीय सचिव डिलाराम आचार्य, केन्द्रीय सदस्यहरू त्रिलोचन भट्ट, शान्ति नेपाली, रेणु चन्द, विमला सिंह, देवीलाल चौधरी, मोतिकला चलाउने, देवराज रेग्मी, टेकेन्द्र भट्ट, तारामान स्वार, लोकेन्द्र लम्साल रहेका छन् । प्रदेश अध्यक्ष हरिराम चौधरीलगायत अभियान टोलीको नेतृत्व गरेका छन् ।

डडेल्धुराः डडेल्धुरा भौगोलिक हिसाबले सानो जिल्ला भएकोले ५ वटा अभियान टोली मात्रै छ । यहाँ केन्द्रीय सदस्यहरू भगत बडुवाल, शिवसिंह ओली, रमेश धामी, दलबहादुर धामीलगायत छन् ।

दार्चुलाः दार्चुलामा १० वटा टोली खटिएका छन् । जिल्ला संयोजक र प्रदेश सदस्यहरुले पनि अभियान टोलीको नेतृत्व गरेका छन् ।

यस क्रममा केन्द्रीय सदस्यहरू नरेन्द्र कुँवर, डम्बर घर्ती, गणेश खत्री, जमानसिंह धामी, भुवन चन्द्र बिक रहेका छन् भने विनोद कुँवर, रामदत्त जोशी, पानसिंह धामी, लाल बहादुर बिक प्रदेश सदस्य छन् । त्यस्तै, जिल्ला संयोजक पदमराज पन्तले पनि अभियान टीमको नेतृत्व गरेका छन् ।

बैतडीः बैतडीमा ८ वटा अभियान टोली खटिएका छन् । एक जना प्रदेश उपाध्यक्ष र ७ जना केन्द्रीय सदस्यले नेतृत्व गरेका छन् । जसमा केन्द्रीय सदस्यहरू रामप्रसाद तिमिल्सिना, भक्त विश्वकर्मा, भरत धानुक, माया नेगी, मान सिंह धामी, गणेश खत्री रहेका छन् भने प्रदेश उपाध्यक्ष मान सिंह माल रहेका छन् ।

अछामः अछाम जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । भौगोलिक रुपमा ठुलो मानिएको अछाममा केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला संयोजकले समेत अभियान टोलीको नेतृत्व गरेका छन् ।

केन्द्रीय सदस्य ओमप्रकाश पुन, कुन्ती जोशी र नरेन्द्र कुँवर रहेका छन् भने केन्द्रीय सल्लाहकार जंग विक, सिद्धराज भाट र जिल्ला संयोजक रविन्द्र साउद, प्रदेश सदस्यहरू जोरासिंह विष्ट, प्रदेश सहसचिव प्रकाश परियार, प्रदेश सदस्य पहल साउद, ईश्वरी थापाले अभियान टोलीको नेतृत्व गरेका छन् । डोटीः जिल्लामा ६ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरू, शरद सिंह भण्डारी, लक्षिराम आचार्य, गोविन्द बिक रहेका छन् । त्यस्तै, प्रदेश उपाध्यक्ष कृष्ण बडुवाल र प्रदेश सदस्य छवि ओलीले अभियान टोलीको नेतृत्व गरेका छन् ।

कञ्चनपुरः जिल्लामा ९ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्यहरू नेपबहादुर थारु, वीरमान चौधरी, शंकर खड्का, दिपा चौधरी, सरु थारु, विनिता चौधरी, गोविन्द तिमिल्सिना रहेका छन् । त्यस्तै निर्वाचन आयोग सदस्य हरिराम श्रीपाइलीले दोधारा चाँदनीको अभियान टोलीको नेतृत्व गरेका छन् ।

बाजुराः बाजुरामा ५ वटा अभियान टोली खटिएका छन् । केन्द्रीय सदस्य देवकी मल्ल, लक्ष्मण खड्का, तिलक परियार तथा जिल्ला सचिव रमेशराज विकले टोलीको नेतृत्व गरेका छन् ।

बझाङः  जिल्लामा १० वटा अभियान टोली खटिएका छन् । जसमा केन्द्रीय सदस्य लालबहादुर सोडारी, ललित सिंह ठगुन्ना, केन्द्रीय अनुशासन आयोगका सदस्य धर्मराम विक, प्रदेश उपाध्यक्ष रणबहादुर कुँवर, सहसचिव केशवनाथ योगी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप