आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अधिवेशन

एमाले लुम्बिनी प्रदेश अधिवेशन एक दिन लम्बियो

मतदान अझै अनिश्चित
आइतबार, १७ भदौ २०८०, २० : ०४
आइतबार, १७ भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आज सम्पन्न हुने भनिए पनि एक दिन लम्बिएको छ । नेतृत्व चयनका विलम्ब भएका कारण अधिवेशन लम्बिएको हो ।

बुटवलमा जारी अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमति सँगसँगै निर्वाचन प्रक्रिया पनि अगाडि लैजाने रणनीति अनुसार उम्मेदवार मनोनयन फारम बुझ्ने काम राति ९ बजेसम्म गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

यसअघि साँझ ६ बजेसम्म उम्मेदवार मनोनयन फारम बुझ्ने समय राखिएको थियो । दिउँसो ४ बजेबाट फारम वितरण गरिएको थियो ।

एमाले पोलिटब्युरो सदस्य तथा अध्यक्ष मण्डलका सदस्य सूर्य थापाले नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको भन्दै भोलि बिहान मतदान हुने या नहुने निश्चित भइनसकेको बताए ।

उनले भने, ‘भोलि मतदान हुने या नहुने फिप्टी फिप्टी सम्भावना छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन सत्र र आइतबार बिहान बन्द सत्रमा पनि सहमतिबाट नेतृत्व चयन गर्न सुझाव दिएका थिए । त्यसका लागि एमाले सचिव पद्मा अर्याल संयोजक रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो ।

निर्वाचन मण्डलले उम्मेदवार मनोनयन फारम वितरण गरे पनि बुझ्ने म्याद ९ बजेसम्म बढाउनुलाई सहमति खोज्ने संकेतका रुपमा लिइएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।

यहाँ उपाध्यक्ष विष्णु पौडेलको समूहबाट पाल्पाका राधाकृष्ण कँडेल र महासचिव शंकर पोखरेलको समूहबाट प्युठानका हरि रिजाल समूहसहित उम्मेदवारी दर्ता गर्ने तयारीमा जुटेका छन् ।

दुवै समूहमा रहेका नेताहरूले सहमतिको सम्भावना क्षीण भएको दाबी गर्दै चुनावी तयारीमा लागेको प्रतिक्रिया दिएका छन् ।

कँडेल एक वर्षअघि गठन भएको प्रदेश कमिटीका अध्यक्ष हुन् भने रिजाल पूर्व प्रदेश मन्त्री एवं पार्टी केन्द्रीय सदस्य हुन् । रिजाललाई पार्टी महासचिव शंकर पोखरेलनिकटका नेताहरू प्रदेश सांसदहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल, शिवराज सुवेदी लगायतले अध्यक्षमा अघि सारेका छन् । कँडेलले एक वर्षमात्र तदर्थ समितिमा काम गरेकाले एक कार्यकाल काम गर्न पाउनुपर्ने अडान राखेका छन् ।

दुवैले अडान नछाडेपछि निर्वाचनमा जाने करिब निश्चित भए पनि नेताहरू सहमतिका लागि प्रयासमा लागिरहेको अध्यक्ष मण्डलका सदस्य तथा केन्द्रीय कमिटी सदस्य सावित्रा अर्यालले बताइन् । उनले आफूहरू छलफलमै रहेको जानकारी दिइन् ।

एमालेले केन्द्रीय सदस्य भूमिश्वर ढकालले भने छलफल  जारी रहेको जानकारी दिँदै नेतृत्व चयनका लागि मतदान गर्ने कि सर्वसम्मत हुन्छ भन्नेमा अझै अन्यौल रहेको बताए ।

उनले सदस्यहरू जिल्ला जिल्लाबाट मिले पनि पदाधिकारीमा सहमति जुटाउन समस्या रहेको जानकारी दिए ।

एमालेले प्रचार विभाग प्रमुख डीआर घिमिरे मौजुदा समितिको आकार ठुलो रहेका कारण पनि पदाधिकारी तथा सदस्यमा आकांक्षीहरु धेरै रहेको बताए ।

खासगरी रुपन्देही र बाँकेमा धेरै नेता भएका कारण सदस्यहरूलाई मिलाउन समस्या रहेको उनको भनाइ छ । यदि सदस्यमा जिल्ला जिल्लाबाट मिल्दै आएको खण्डमा पदाधिकारीमा पनि सहमतिमै मिलाउन दबाब पर्ने उनले रातोपाटीलाई बताए ।

२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपाङ्गबाट एक, मजदुरबाट ३, खुलाबाट पदाधिकारीसहित १५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् ।

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप