आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रुपान्तरण अभियान

माओवादीको तीन महिने अभियान : ढलेका गेट उठाउँदै, सहिदका चिहान सफा गर्दै

के चिहान सफा गरेर वा सहिद गेट बनाएर माओवादीमा जागरण पैदा होला ?
मङ्गलबार, १९ भदौ २०८०, ०६ : २३
मङ्गलबार, १९ भदौ २०८०

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले तीन महिने अभियान अन्तर्गत इलामको माइजोगमाईमा सहिदको चिहान सरसफाइ गरेको तस्बिर र फोटो सामाजिक सञ्जालमा शेयर गरेका छन् । माओवादीका स्थानीय कार्यकर्ताले माईजोगमाईको १ नम्बर वडास्थित जनयुद्धका सहिद चन्द्रकला सुवेदी र हिमालको समाधिस्थललाई सरसफाइ अनि झण्डा गाडेर तीन महिने अभियान शनिबार उद्घाटन गरेका थिए ।

सहिदको चिहान सफाइको फोटो नै माओवादी केन्द्रका प्रदेश अध्यक्ष नेम्वाङले किन प्राथमिकताका साथ शेयर गरे ? जवाफमा नेम्वाङले भने, ‘सहिदहरुको सपना पूरा गर्न हामीले पहिले सहिदहरुको चिहान सफा गर्न लागेका हौँ । उहाँहरुको योगदान सम्झेका छौँ । अब सबै माओवादीहरुले सहिदको चिहानमा गएर एक पटक सोच्ने, प्रतिबद्धता गर्ने र अगाडि बढ्ने बेला आएको छ ।’

माओवादी केन्द्र सत्ताको छिनाझपटी र सुखसुविधामा अल्मलिएपछि आफ्नो गर्विलो इतिहास बनाउने जनयुद्धका ती सहिद, घाइते र बेपत्ताहरुको खोजी केबल कुरामा मात्रै सीमित छ । तर, संकटमा परेपछि माओवादीले सहिदका चिहान खोजी गर्न थाल्यो, सफाइ हुन थाले, जनयुद्धको बेलामा बनाइएका पार्टी, पौवा, चौतारा र सहिद गेटहरुको संरक्षणको पहल हुन थाल्यो । किनकि सहिदका सपना भुल्दा, जनयुद्धमा गरिएका प्रतिबद्धता भुल्दा माओवादी आफैँ संकटमा प¥यो । यो अभियानले तिनै सहिदहरुको चिहानमा जाने, सोच्ने र अगाडि बढ्न प्रतिबद्धता जनाउन प्रेरणा दिने माओवादी नेताहरु बताउँछन् ।

देशैभर शनिबारदेखि सुरु भएको तीन महिने अभियानका क्रममा कोशी प्रदेशका सबै वडामा कार्यक्रम भएका छन् । कतिपय ठाउँमा रक्तदान भए । कतिपय स्थानमा जनताको घरमा श्रम गरियो । कतिपय किसान तथा गरिब बस्तीहरुमा स्वास्थ्य शिविर चलाइए । कतिपय स्थानमा सहिदहरुको चिहानहरु सरसफाइ गरेर कम्युनिष्ट पार्टीको झण्डा गाडियो । सबैतिर सिर्जनात्मक र भावनात्मक ढंगले अभियान उद्घाटन गरियो ।

Maobadi Aviyan (10)

माओवादी केन्द्र कोशी प्रदेशले अभियानको निर्देशिकामै जनयुद्धका सहिदहरुको चिहान संरक्षण गर्ने, जनयुद्धको बेलामा निर्माण गरिएका सहिदस्तम्भ र गेटहरु, सहिद चौताराहरु, सहिद पुलपुलेसाहरु, सहिदहरुको नाममा स्थापना भएका सबै संरचनाको संरक्षण र सम्बर्द्धन गर्ने कार्यक्रम राखेको छ ।

‘यो विषयमा पार्टी बैठकमै उठाउँदै आएका थियौँ । अब सुरुवात भएको छ । सबै जिल्लामा यो काम हुन्छ । धेरै चिहानहरुको नामो निसाना छैनन् । यद्यपि खोजी गरिन्छ,’ अध्यक्ष नेम्वाङ भन्छन् ।

तर, धेरैले प्रश्न गर्छन् र भन्छन्– के चिहान सफा गरेर वा सहिद गेट बनाएर माओवादीमा जागरण पैदा होला ?

Maobadi Aviyan (11)

माओवादी नेता तथा पर्यटनमन्त्री सुदन किराँती भन्छन्, ‘हामी जनतासँग पुरानै सम्बन्ध सुधार गर्न जनताकै घर आँगनमा पुगेका छौँ । अब जनताको सुख र दुःखमा सँगै हुने छौँ । अब हामीलाई बिग्रने छुट छैन, जनतासँग टाढा हुने छुट छैन त्यसैले अब माओवादीले पालुवा फेर्छ । र, जनताका अधिकारहरू सुरक्षित हुन्छन् ।’

अध्यक्ष नेम्वाङको अनुभवमा माओवादी केन्द्रले चलाएको अभियान र सरकारको काम कारबाहीप्रति जनताले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । ‘जनताको रेस्पोन्स विगतभन्दा फरक पाएका छौँ । समर्थकहरु आउने कुरा भइगयो । जनतामा पनि थोरै भए पनि माओवादीप्रतिको भावना सकारात्मक भएको पाइयो । यो विशेषगरी सरकारको कामले गर्दा हो,’ उनले भने, ‘पहिलेपहिले माओवादीको बैठकमा चिठी काटेर बोलाउँदा पनि आउँदैन थिए । यो पटक स्वस्फूर्त ढङ्गले कार्यकर्ता जम्मा भएको देखिन्छ । त्यो भनेको सकारात्मक कुरा हो ।’

Maobadi Aviyan (7)

माओवादीले शनिबार देशभरका सबै वडामा एकैपटक ‘घर–घरमा माओवादी जन–जनमा माओवादी’ नाराका साथ तीन महिने अभियान सुरु गरेको हो । जनतासँग एकाकार भएर अगाडि बढ्ने उद्घोष गर्दै जनसम्बन्ध सुदृढ गर्ने र जनसेवाको काममा क्रियाशील हुने उद्देश्यले माओवादीले अभियान चलाएको बताएको छ । २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा बडेमानका नेताहरुलाई पछारेर पहिलो नम्बर बनेको माओवादी कोशी प्रदेशमा २०७९ सालको निर्वाचनको समानुपातिक मत परिणाममा राप्रपाभन्दा पछाडि अर्थात् चौथो स्थानमा छ ।

माओवादीको यो निरन्तरको ओरालो यात्राको अन्तिम विन्दु कुन हो भन्न सकिँदैन । तर, यस्तै अवस्था रहे दुईचार वटा निर्वाचनपछि माओवादी केन्द्र ‘अस्तित्वमा रहेको तर, नदेखिएको’ अवस्थामा हुनसक्छ । यही कुरालाई मध्यनजर गर्दै माओवादीले आफ्नो क्षयीकरण रोक्न तीन महिने अभियान सुरु गरेको हो । 

Maobadi Aviyan (8)Maobadi Aviyan (6)Maobadi Aviyan (4)Maobadi Aviyan (3)Maobadi Aviyan (2)Maobadi Aviyan (2)Maobadi Aviyan (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप